वातावरण दिवसः नेपालगन्जमा सामुदायिक सरसफाई
Thursday, June 5th, 2025, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारादाता
नेपालगन्ज, २२ जेठ
विश्व वातावरण दिवस, जुन ५ को अवरमा नेपालगन्जमा वृहत सामुदायिक सरसफाई गरिएको छ । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगन्जः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को मनिहारन टोलमा सरसफाई अभियान सम्पन्न भएको हो ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहरलाई पुन प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताउनुभयो ।
सरसफाई अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई कर्मीहरु, स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का जनप्रतिनिधिहरु, स्थानीय नागरिकहरुको सामुहिक सहभागिता रहेको थियो ।
अभियानमा जुटेका सम्पूर्ण महानुभावहरुलाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गर्नुभएको थियो भने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले सरसफाई अभियानको शुभारम्भ गर्नुभएको थियो ।
४५ जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु २/३ किलोग्राम, प्लाष्टिकका झोला तथा पोलेथिनहरु ६३.४४ किलोग्राम, सिसा तथा काँचका टुक्रा र बोतलहरु २८.३ किलोग्राम, कागज जन्य पदार्थ १३.८५ किलोग्राम, मिसावट भएको फोहोर १४९.७३ किलोग्राम गरी जम्मा २५७.३५ किलोग्राम फोहोर संकलन गरिएको छ ।
संकलन गरी वर्गिकरण गरिएको फोहोरमध्ये प्रसोधन गरी पुनः प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताउनुभयो ।