खगेन्द्र नवजीवनका चौकीदारको गतिविधि शंकास्पद, स्थानीयले गरे बिरोध
Wednesday, July 16th, 2025, 6:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असार
नेपालगन्ज कारकाँदोमा रहेको नेपाल अपाङ्ग संघ (खगेन्द्र नवजीवन केन्द्र) रहेको भवनमा चौकीदार परिवारले शंकास्पद गतिबिधि गरेपछि स्थानीयले आपत्ति जनाएका छन् । नेपाल अपाङ्ग संघको भवनसहितको जग्गा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको छ । त्यहाँ चौकीदारको रुपमा रहँदै आएका गंगाराम गुप्ता नाम गरेका व्यक्तिको गतिबिधि शंकास्पद रहेको स्थानीयले आरोप लगाएका हुन् ।
स्थानीयका अनुसार गुप्ता परिवारको सहयोगमा त्यहाँ बस्ने किशोरीहरुले लागुऔषध सेवन गर्ने गरेको र उनीहरुको गतिविधि शंकास्पद रहेको छ । समाजमा उनीहरुले नकारात्मक असर गर्ने गतिविधि गरेपछि स्थानीयहरु विरोधमासमेत उत्रिएका छन् ।
स्थानीयले गुप्ता परिवारको बिरोध गर्दै संस्थाका पदाधिकारीलाई गतिविधि सच्याउन समेत ध्यानाकर्षण गराएका छन् । त्यहाँबाट उनीहरुलाई हटाउनुपर्ने वा शंकास्पद गतिबिधि नियन्त्रण गर्नुपर्ने भन्दै स्थानीयले बिरोध जनाउन सुरु गरेका छन् ।
स्थानीयले बिरोध गर्नुको मुख्य कारण एक साता अघि घटेको घटना पनि हो । गुप्ता परिवारसँग रहेको एक किशोरी एक्कासी बिरामी भई बेहोस भईन् । ती किशोरी बेहोस भएको स्थानीयले देखेपछि मानिसहरु त्यहाँ पुगेका थिए । शंकास्पद वस्तु सेवन गरेर बेहोस भएको भन्दै उनलाई अस्पताल लग्न गुप्ता परिवारले मानेको थिएन् ।
नेपालगन्ज वडा नम्बर १८ मा रहेको सिद्धार्थ प्रहरी विटका इन्चार्ज हेमराज चन्दले उक्त घट्नाबारे जानकारी भएको बताउनुभयो । तर ति किशोरीहरुको हुलिया हेर्दा शंका लागेको भएपनि हालसम्म प्रमाण केही नदेखिएको चन्दले बताउनुभयो ।
संघको कार्यालय रहेको सो भवनको दुई वटा कोठामध्ये एउटामा कार्यालय र अर्को कोठामा चौकीदार गुप्ता परिवार बस्दै आएको छ ।
संस्थाको त्यहाँ १५÷१६ कठ्ठा जति भवनसहितको जग्गा छ । २०४० सालमा संस्था स्थापना भएको समयपछि जग्गा र भवनको संरक्षण गर्ने हेतुले न्यून पारिश्रमिक दिएर गुप्तालाई भवनमा बस्न लगाइएको थियो । गुप्तालाई संस्थाका संस्थापक अध्यक्षले बस्न लगाएको संघका वर्तमान अध्यक्ष भोलासिंह हमालले जानकारी दिनुभयो ।
‘संघको भवन र जग्गाको संरक्षण गर्ने र खनजोत गरेर खानेगरी गुप्तालाई बसालिएको हो ।,’ वरिष्ठ अधिवक्तासमेत रहनुभएका अध्यक्ष हमालले भन्नुभयो, ‘अस्ति भएको घट्नाका बारेमा जानकारी प्राप्त भएको छ । गएर बुझ्न बाँकी भने बाँकी छ ।’ स्थानीयका अनुसार गुप्ताले तेस्रो श्रीमाती भनेर एक जना महिलालाई ल्याएर आफुसँगै राखेका छन् ।
ति महिलाले भने अन्य ३-४ जना बालबालिका पनि राखेकी छिन् । तर उनले ति बच्चालाई आफनो संरक्षणमा राखेको संस्थाका व्यक्तिलाई भन्ने गरेकी छिन् । उता स्थानीयले रोजगारीमा गएका अभिभावकका छोराछोरीको पालनपोषण गरिदिने भनेर राखेको र त्यो बापत पैसा लिँदै आएको आरोप लगाए ।
गुप्ताकी श्रीमती यसअघि मानव बेचबिखन कार्यमा संलग्न भएको भनेर सजाय पाएकी ति महिलाले त्यहाँ गलत गतिबिधि गराउने गरेको भनेर स्थानीयले शंका गरेका छन् ।
संस्थाका सदस्य सतिष अधिकारीले केहीदिन अघि भएको घट्नाका बारेमा बुझने काम भैरहेको बताउनु भयो । उहाँले घट्नाबारेमा बताउँदै भन्नुभयो, ‘त्यहाँ बसेकी महिलाको छोरी र उसको साथीबीच सामान्य विवाद भएको रहेछ, पछि आफै मिलेका छन्, घट्ना सामान्य हो ।’
कुनै गलत क्रियाकलापमा संलग्न भएको जानकारी पाउनेबित्तिकै कारवाही गर्नेसमेत अधिकारीले बताउनुभयो । ‘हामीले संस्थाको चौकीदारी गर्नको लागि त्यहाँ बस्न दिएको हो । कुनै गलत गतिबिधि भएको भेटिए तुरुन्त कारवाही गर्छौं ।,’ अधिकारीले भन्नुभयो, ‘गलत कार्य भयो भने संस्थाकोसमेत बदनामी हुन्छ, त्यसकारण हामीले त्यस्तो पाउनेबित्तिकै निकाल्छौं ।’ स्थानीयका अनुसार गुप्ता पनि हात हतियार खरखजाना मुद्दामा सजाय भोगेका व्यक्ति हुन् ।