नेपालगन्ज उपमहानगरद्वारा आठ बुँदे प्रतिबद्धता घोषणा
Wednesday, July 16th, 2025, 7:02 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ असार
नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा आठ बुँदे साझा प्रतिबद्धताको घोषणा गरिएको छ । नेपालगन्ज उमहानगरपालिकाको आयोजनामा मंगलबार बास नेपालको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धताहरुको घोषणा गरिएको हो ।
आठ बुँदे प्रतिबद्धताहरुमा उपमहागनरपालिकाले आगामी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रभावकारीताको लागि बहिरा आपाङ्गगता भएका व्यक्तिहरुको लागि दोभाषेको व्यवस्था गर्ने, कृष्ण्सार एफ.एम.जाने बाटो आउने आर्थिक वर्ष २०८२-०८३ मा निर्माण सम्पन्न गर्ने, नेपालगन्ज वडा नम्बर १० भृकृटीनगर लगाएत नगरभरीका सबै नालाको समयमै सरसफाई गरी डुवान मुक्त गर्ने, गणेशमान चोकदेखि औधोगिक क्षेत्र अगाडीको सडक पेटीको सरसफाई र सौन्दर्यीकरण गर्ने प्रतिबद्धता जारी गरिएको छ ।
यस्तै असारे विकासका विषयमा प्राप्त गुनसोलाई न्यूनीकरण गर्नका लागि आगामी आर्थिक वर्षमा श्रावण महिनादेखि नै कार्यान्वयन कार्ययोजना तयार गरी सार्वजनिकरण गर्ने र समयम नै काम सम्पन्न गर्ने, कृषि प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत नगरभित्रका कृषकहरुले ३ वर्षे कृषि योजना सहितको विवरण पेश गरेमा मुनसिवताको आधारमा २५ प्रतिशत कर छुट गर्ने, बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप २०८३ सम्म नेपालगन्ज उपमहनगरपालिकालाई बालमैत्री घोषणा गर्नेगरी अभियान संचालन गर्ने, नगरका महत्वपूर्ण स्थानहरुमा सि.सि. टिभि क्यामरा जडानगरी नागरिक सुरक्षा, सतर्कता र निगरानी बढाउने तथा सडकबत्ती नभएका स्थानमा जडान गर्ने तथा बिग्रिएका सडकबत्ती यथासक्य सुधार गर्ने र प्राविधिक कारणले संचालन हुन नसकेको नेपालगन्ज उपमहनगरपालिकाको लिफ्ट आगामी आ.व.को पहिलो चौमासिकभित्र संचालन गर्ने रहेका छन् ।
२३० जना नगरबासीको उपस्थिती रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने सहभागिहरुले नगरभित्रको बाटो तथा नालीहरु मर्मत गर्नुपर्ने, बालमैत्री स्थानीय शासनका कार्यक्रमहरुलाई तिव्रताको साथ अगाडी बढाउनुपर्ने, सहरभित्रका विभिन्न बजार क्षेत्रमा सडकबत्ति जडान गरिनुपर्ने, मुस्लिम समुदायका महिलाहरुलाई लक्षित गरी कार्यक्रम तर्जुमा गनुपर्ने, असारे विकासलाई अन्त्य गर्दै समयमा नै विकास निर्माणका कार्यक्रमहरु गर्नुपर्ने, बागेश्वरी मन्दिरलाई पर्यटकीय रुपमा विकास गरिनुपर्ने, जडीबुटी खेतीलाई प्रवद्र्धन गर्नुपर्ने, बालश्रम र लागु औषध नियन्त्रण गर्नुपर्ने, वडाको सीमानाका सम्बन्धमा देखिएका समस्या समाधान गर्नुपर्ने, नगरभित्रमा सौन्दर्यीकरण गर्ने कार्य थालनी गर्नुपर्ने जस्ता सवालहरु उठान गरेका थिए ।
सहभागिहरुले उठान गरको सवालहरुको जवाफ उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरु, महाशाखा तथा शाखा प्रमुखहरुले दिनुभएको थियो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले यसअघि भएका सार्वजनिक सुनुवाईको कार्यक्रममा भएका प्रतिबद्धता कार्यान्वनको अवस्थाको जानकारी गराउनुभएको थियो ।