लुम्बिनी लायन्सको सिईओमा भावना नियुक्त
Wednesday, July 16th, 2025, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ३२ असार
नेपाल प्रिमियर लिग (एनपिएल)को टीम लुम्बिनी लायन्सको भावना घिमिरे प्रमुख कार्यकारी अधिकृत(सिईओे)मा नियुक्त हुनु भएको छ । फ्रेन्चाइज क्रिकेट टोली लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव बटुल्नु भएकी घिमिरेलाई सिईओमा नियुक्त गरेको जनाएको छ । बुधबार लुम्बिनीले विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) पूर्व सिइओ घिमिरेलाई नयाँ सिइओमा नियुक्त गरेको जानकारी गराएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा दूरदृष्टि भएकी व्यावसायिक व्यक्तित्व हुन । उनको निुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरुलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।’
घिमिरेको नियुक्तीले लुम्बिनी लायन्सले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले अपेक्षा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत क्रिकेटका कार्यहरुमा महत्वपूर्ण भूमिका निभाएकी छन् । क्रिकेटको सर्वोच्च निकाय– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतियोगिताहरुमा ‘कन्सल्टेन्ट’का रुपमा पनि काम गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई थप सृद्दढ बनाउने विश्वास लुम्बिनी लायन्सले लिएको छ । साथै उनको नियुक्तिले खेलाडीको विकास र टिमको प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेको अनुभव र नेतृत्व क्षमताले टोलीलाई नयाँ उचाइमा पु¥याउने बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी उहाँलाई लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उहाँको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समपंणले लायन्सलाई नयाँ उचाइमा पु¥याउनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’
एनपिएलको पहिलो सिजन लुम्बिनीले बिर्सनलायक प्रदर्शन गरेको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी सात खेलमा मात्र एक खेल जितेको थियो । तालिकाको पुछारमा रहँदै पहिलो चरणबाटै बाहिरिएको लुम्बिनीले यसपालि पनि मार्कीमा रोहितलाई नै निरन्तरता दिएको छ ।