आज नयाँ नेतृत्व छान्दै विन बाँके
Wednesday, August 13th, 2025, 6:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ साउन
महिला उद्यमीलाई उत्प्रेरित गरिरहेको संस्था महिला उद्यमी संघ नेपाल बाँके(विन)ले आज बुधबार नयाँ नेतृत्व चयन गर्दैछ । संघको २२औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । २०६० साल चैत १२ गते भवानी राणाको नेतृत्वमा स्थापना भएको महिला उद्यमी संघ नेपाल बाँके महिला उद्यमीका माझ लोकप्रिय संस्थाका रुपमा परिचित छ ।
हरेक वर्ष नवउद्यमी उत्पादन गर्दै महिला उद्यमीलाई व्यापार व्यवसायमा सफलता हासिल गर्न संघले अभिभावकीय भुमिका निर्वाह गर्दै आएको छ ।
सर्वसम्मतबाटै नेतृत्व चयन गर्दै महिला दिदीबहिनीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने अभियानलाई थप बलियो बनाउने टिम आउने बताउनु हुन्छ महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेल । उहाँले भन्नु भयो,‘ सााधरण सभा र अधिवेशनको तयारी पुरा भैसकेको छ । आज हामीले सर्वसम्मत रुपमा नयाँ शसक्त टिम छान्ने प्रयास गर्नेछौं । जसले महिलाहरुलाई उद्यमी बनाउँदै आर्थिक रुपमा सशक्त बन्ने अभियानलाई थप प्रभावकारी रुपमा अगाडी बढाउनेछ ।’
संघको २२औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अतिथीका रुपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, महिला उद्यमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, महासंघको कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक तथा महासंघको कार्यकारिणी सदस्य शिला विश्वकर्मा नेपाली, महिला उद्यमी संघ नेपाल रोल्पा अध्यक्ष हिरा कुमारी घले, संघकै रुपन्देही अध्यक्ष अनिता केसी, कपिलवस्तु अध्यक्ष कल्पना कुँवर, दाङ अध्यक्ष यसोदा पाण्डे, बर्दिया अध्यक्ष उमा पन्त क्षेत्री साधारण सभाको उद्घाटन समारोहमा सहभागि हुदैहुन्छ ।
यसैगरी बुधबार नेपालगन्जमै महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश कार्यसमिति समेत गठन गर्ने तयारी भैरहेको अध्यक्ष बस्नेतले कालपृष्ठ दैनिकलाई बताउनु भयो ।
उद्घाटन समारोहमा संघलाई सहयोग गर्ने महानुभावहरु तथा पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आयोजना गर्दै आएको छ । जहाँ महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण र प्रवद्र्धनमा सहयोग गर्ने गरिएको छ । यसैगरी संघले महिला उद्यमीहरुलाई विभिन्न तालिम, युवा उद्यमी उत्पादन, अभिप्रेरणा कार्यक्रम, अन्तरक्रिया, सम्मान लगायतका कार्यक्रमहरु गर्ने गरेको छ ।