अत्यावश्यक सेवा अन्तर्गत होम डेलिभरी पर्दैन, निषेधाज्ञा उल्लंघन गरे कारबाही हुने
Friday, August 28th, 2020, 11:37 am
amit
काठमाण्डौ, १२ भदौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ ।
निषेधाज्ञाको बेला खाद्यान्न तथा पकाइएको खाद्यवस्तु घर घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइने भएतापनि अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका पसल सञ्चालन तथा बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।
यसैगरी होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने र बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले स्पष्ट पार्दै घरभित्रकै खाना खान आग्रह गरेको छ ।
त्यस्तै उपत्यकामा निषेधाज्ञाका बेला हिजो होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ ।
बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै प्रशासनको आदेशअनुसार उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्याम ज्ञवालीले बताएका छन् ।
उनका अनुसार कोरोनाको सङ्क्रमण समुदायस्तरमा नै फैलिसकेकाले सामान्य कुरामा ध्यान दिए सङ्क्रमणबाट जोगिन सकिने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड र नियमको पालना गर्न आग्रह गरेको छ ।
तर, निषेधाज्ञाको उल्लंघन गर्दै अनलाइनमार्फत पनि खाजा खाना पुर्याएमा कानुनी कारबाही हुने उनले बताएका छन् ।