नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश
Tuesday, August 19th, 2025, 6:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ साउन
नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।
एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० बर्षमाथि उमेर समुह), ५ किलोमिटर भेट्रान्स महिला (४५ बर्ष माथि उमेरसमुह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समुह दौड) गरी अलग स्पर्धा राखिएको छ ।

…..
मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनु भयो । उहाँले भन्नु भयो, ‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ ।’
रेस डाइरेक्टर गुरुङले भन्नु भयो, ‘यो दौडले रोमान्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’ पहिलोपटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनु भयो ।
नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत रहेको संस्थापक ठकुरीले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालगन्जलाई दौडको सहर बनाउने अभियानअन्तर्गत हामीले कर्म गरिरहेका छौं । दौडिरहने सहरको परिचयले पनि सहरको ब्रान्डिङमा सघाउनेछ ।’
नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो ।
यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पुरा हुन्छ ।
नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सन्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ । एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सरप्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताउनु भयो ।