विज्ञापन टेण्डरः कर्मचारीकै मिलेमतोमा हुन्छ चलखेल
Friday, August 29th, 2025, 9:03 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ भदौ
बाँकेका आठ स्थानीय तहमध्ये केही पालिकामा पत्रिकामा प्रकाशन गरिने टेण्डरका सूचना तथा विज्ञापन प्रक्रियामा अस्वस्थ आर्थिक हिनामिना गरिएको पाईएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो पालिकाको पारदर्शिता र खर्च प्रणालीमा चासो नदिँदा पत्रिकामा अनिवार्य रुपमा प्रकाशन गरिने सूचना र विज्ञापनमा आर्थिक अनियमितता भएको पाइएको हो ।
बुझ्दा साधारण देखिने तर पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने अवस्थामा विज्ञापन प्रकाशन जस्तो सामान्य तर महत्वपूर्ण क्षेत्रमा समेत आर्थिक अनियमितता भएको पाइएको छ । जसले गर्दा स्थानीय तहमा खर्चसमेत बढाएको छ ।
जिल्लाका अधिकांश स्थानीय तहले पत्रिकामा सूचना तथा विज्ञापन प्रकाशनको लागि ठेक्का आह्वान गरेका छन्, भने केहीले खोलिएको ठेक्का पनि रद्द गरी पुनः पुरानै शैली दोहो¥याएका छन् । बिज्ञापन एजेन्सी र पत्रिकासगँको मिलेमतोमा स्थानीय तहका कर्मचारीले कमिशनको चक्करमा पालिकाको बर्षिक लाखौ रकम खती गराउँदै आएका छन् ।
बैजनाथ गाउँपालिकाले गत आर्थिक बर्ष २०८१÷०८२ मा पत्रिकामा सुचना तथा प्रकाशन गरेबापत विज्ञापन बोर्डको सार्वजानिक नियमअनुसार मिनिमम बिल भुक्तानी गरेको देखिएको छ । गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत पुर्णप्रसाद जैसीका अनुसार चालु आर्थिक बर्षदेखि गाउँपालिकाले पत्रिकामा सूचना तथा बिज्ञापन प्रकाशन पुनःटेण्डर प्रकृयाबाट गर्न थालिएको छ । उहाँ भन्नुहुन्छ, ‘टेण्डर प्रकृयाबाट सूचना तथा बिज्ञापन प्रकाशन गर्दा गत आर्थिक बर्षको भन्दा तुलनात्मकरुपमा कम रकम खर्च भएको छ ।’, ‘पालिकाको सूचनामा होडबाजी, अनावश्यक खर्च, बिज्ञापन बितरणमा सिण्डिगेट, कमिशनको आरोप इत्यादी कारणले टेण्डर प्रणालीमा गएका हौँ ।’ उहाँले थप्नुभयो ।
बाँकेकै खजुरा गाउँपालिमा भने आर्थिक बर्ष २०८०÷०८१ मा छापा मिडियामा सुचना प्रकाशन गर्न टेण्डर प्रकृया अपनाउदा पनि गरिएको ठेक्का रद्द गर्दै जनताले तिरेको रकम हिनामिनामा लागि परेको देखिएको छ । गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत अर्जुन सुवेदीको बेला प्रिन्ट मिडियामा सूचना प्रकाशन गर्न खोलिएको टेण्डरसमेत रद्द गरी पुरानै शैलीमा कर्मचारीले आफन्त, चिनजानको एजेन्सीसँग मिलेर रकम हिनामिना गर्दै आएका छन् ।
पालिकाका कर्मचारी खर्च मितव्ययिता अपनाउनुको साटो पालिकालाई भार पर्नेगरी अनावश्यक खर्च बढाउदै आएका छन् । यो सबै प्रकृयामा गाउँपालिकाका लेखा अधिकृत र गाउँपालिकाका अध्यक्षको आसेपासेको अस्वस्थ भुमिका रहेको पालिकाका अन्य कर्मचारी बताउँछन् । उसोत स्थानीय पालिकालाई छापा मिडियामा सूचना तथा बिज्ञापन प्रकाशन गर्न टेण्डर प्रणाली नै सस्तो र सुलभ मानिन्छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गत आर्थिक देखिनै कार्यालयका टेण्डर सूचना तथा बिज्ञापन ठेक्का प्रणालीबाट जान चाहेपनि शाखाको कमजोरीले गर्दा ढिला भएको बताउभयो । उहाँले चालु आर्थिक बर्षदेखि भने सूचना तथा बिज्ञापन प्रकाशन प्रणालीलाई इ–बिडिङ्ग तरिकाले लैजान शाखालाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिको मेडिसिन खरिद सूचना भएकाले यतिकै प्रकाशन गर्न बाध्य भएपनि अब भने कार्यालयका सम्पुर्ण शाखाका सूचना र बिज्ञापन ई–बिडिङ्ग गरेपछि मात्रै प्रकाशन गर्न निर्देशन दिएको छु ।’, ‘पालिकामा आफु पदिय हिसावमा प्रशासकिय अधिकृतको रुपमा भएपनि स्थानीय तहमा सर्वमान्य नहुने रहेछ ।’ उहाँले भन्नुभयो । अधिकृत रानाले पालिकाको आगामी ठेक्काको सूचना र बिज्ञापन पारदर्शी तथा प्रतिस्प्रधात्मक हुने गरि टेण्डर आह्वान गरेर लैजाने बताउनुभयो ।
त्यस्तै जिल्लामा केही स्थानीय तहका प्रेस सल्लाहकारका दादागिरीले पालिकाको टेण्डरका सूचना आफ्नो नजिकको मान्छे, आफन्तलाई दिँदै आएको खुल्न आएको छ । यति नभएर प्रदेश सरकारका स्थानिय नेताको पहुँच लगाएर बिज्ञापनमा होडबाजी हुँदै आएको एक अधिकारी बताउँछन् । उनीहरु आफ्ना मान्छेलाई बिज्ञापन दिने नत्र सरुवा गरिदिने भन्दै कर्मचारीलाई थर्काउनसमेत भ्याउने अधिकारी बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समययता सरकारी बिज्ञापनमा ज्यादै बढि हिनामिना भएपछि यसको चाँसोसमेत दिन थालेको छ । अख्तियार दरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका अनुसार बाँकेका स्थानीय तहका आर्थिक बर्ष २०८१÷०८२ मा मात्रै एक सय ६४ उजुरी दर्ता भएको छ । जसमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी रहेको कार्यालयका सुचना अधिकारी कुशल न्यौपानेले जानकारी दिनुभयो । यस्तै खजुरा गाउँपालिकाका सात वटा उजुरी परेका छन् । स्थानीय जनप्रतिनिधीको निगरानीमा रहने पालिकाभित्र गरिएका यस्ता हिनामिनाप्रति जनप्रतिनिधीको चासो नभएको हो या उनैको मिलेमतोमा हो, बिज्ञापनमा गरिने अस्वस्थ हिनामिना रोकिन सकेको छैन ।