जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
Sunday, September 14th, 2025, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २९ भदौं
भदौं २३ गते सुरु भएको जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिनु भएको हो ।
आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताउनु भयो । उहाँका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरुको मृत्यु भएको छ ।
मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरु सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आइतबार बिहान मात्रै चाबहिल चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।
यसैगरी सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र सहिद घोषणा गर्ने बताएको छ । घाइतेहरुको उपचार पनि सरकारले निःशुल्क गर्ने बताएको छ ।