नेपालन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीप कात्तिकमा हुने
Thursday, October 16th, 2025, 2:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० असोज
नेपालन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करण हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता कात्तिक १४ र १५ गते हुने भएको हो । आयोजकले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा हुने प्रतियोगितामा देशभरबाट करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताउनु भयो ।
प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको संख्या बढाउँनुका साथै पौडीको स्तरलाई समेत बढाउन सहयोग गरिरहेको न्यौपानेले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी खुसी छौं प्रतियोगिताले छोटो समयमै नेपालगन्जमा पौडी खेलको सम्भावनालाई बढाउँदै लगेको छ । प्रतियोगिताले राष्ट्रिय स्तरमा पहिचान बनाउँदै गएको छ । दोस्रो संस्करण प्रतियोगिताको स्तरलाई बढाउन थप सहयोग गर्नेछ ।’

………….
प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १०० मिटर तथा खुला समुहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ५६ वटा इभेन्ट्स समावेश गरिएको पौडी आयोजक नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ट उपाध्यक्ष सुर्यमणी अधिकारीले बताउनु भयो ।
प्रतियोगितामा सहभागि हुने बाँके जिल्ला भन्दा बाहिरका खेलाडीहरुलाई निःशुल्क रुपमा खाजा, खाना र बसोबासको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका पदाधिकारी लगायतका अतिथीहरुको सहभागिता रहनेछ । प्रतियोगिता आयोजना गर्न लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, लगायतका विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पताल, उद्यमी, व्यवसायीहरुको सहयोग रहनेछ आयोजक नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ट उपाध्यक्ष अधिकारीले बताउनु भयो ।