नागरिक बचत तथा ऋण सहकारी संस्थाको १७औं साधारण सभा सम्पन्न
Saturday, November 22nd, 2025, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ मंसिर
नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जंग बहादुर विष्टको अध्यक्षतामा भएको साधारण सभामा सहकारीका वरिष्ठ सल्लाहाकार पुष्कर खड्का प्रमुख अतिथी रहनु भएको थियो ।

………
१७औं साधारण सभाको अवसरमा सहकारीको आर्थिक प्रतिवेदन, भावी योजना तथा रणनितीहरु प्रस्तुत गरिएको थियो । २०६६ सालमा स्थापना भएको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न चरण र अनेकौं चुनौतीहरुको सामना गर्दै १७औं साधारण सभाको आयोजना गर्दा सम्म सहयोग गर्नुहुने सम्पुर्ण सेयर सदस्य, बचतकर्ता, ऋणी, कर्मचारी र शुभचिन्तकलाई अध्यक्ष विष्टले धन्यवाद दिनु भएको थियो ।
हालसम्म प्राप्त गरेका उपलब्धीहरुलाई स्थापित गर्दै भाबी दिनहरुमा थप सफलता हासिल गर्न सबैको अहम भुमिका हुने अध्यक्ष विष्टले बताउनु भएको थियो ।
१७औं साधारण सभामा कोषाध्यक्ष धालेन्द्र कुमार चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ मा १ करोड २९ लाख १२ हजार ९९ रुपैयाँ ७५ पैसाको कारोबार गरेको थियो । त्यसमा ७१ लाख ७९ हजार ३ सय ९९ रुपैयाँ २० पैसा कुल आम्दानी रहेको थियो भने ६७ लाख ६६ हजार ८ सय ७४ रुपैयाँ ६८ पैसा कुल खर्च भएको थियो ।
सहकारीको ऋण सुरक्षण खर्च तर्फ ४ लाख ३ हजार २ सय ७० रुपैयाँ, नाफा बचततर्फ ९ हजार २ सय ५४ रुपैयाँ ५२ पैसा रहेको छ । सहकारीको कुल सम्पक्ति ५ करोड ४४ लाख ९० हजार ९ सय ८६ रुपैयाँ ९० पैसा रहेको कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी १७औं साधारण सभामा आर्थिक वर्ष २०८२–०८३ को लागि आर्थिक बजेट प्रस्ताव गरिएको थियो । जसमा ३८ करोड ६४ लाख ४३ हजार ४ सय ६६ रुपैयाँ ८९ पैसाको कारोबार गर्ने लक्ष्य राखिएको छ । साधारण सभामा संस्थाको सांगठनिक प्रतिवेदन सचिव रमेश कुमार मिश्रले, आर्थिक प्रतिवेदन धालेन्द्र कुमार चौधरीले, लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक टेकराज जैशी र ऋण उप–समितिको प्रतिवेदन संयोजक हिरेन्द्र बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने महानुभावहरुलाई सम्मान गरिएको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक गोपाल बहादुर थापाले बताउनु भयो ।
साधारण सभाको अवसरमा मासिक बचत तर्फ अमृत ऐडी, उत्कृष्ट ऋणीको रुपमा दिल बहादुर थापा, त्राइमासिक रणनिती योजना कार्यन्वयन तर्फ पुष्कर बहादुर खड्का र शान्ति सिंह ठकुरी, पुर्व कर्मचारी छत्र कुमारी भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी समुह तर्फ स्वतन्त्र नागरिक बचत समुह कोहलपुर– ७ जोगीठाठा र पुर्व अध्यक्ष जयलाल पराजुलीलाई संस्थाको विकासमा योगदान गरेको भन्दैं सम्मान गरिएको थियो ।