नागरिकता बिहीन छोरीहरुः कानूनले रोक्दैन, अभ्यासले बनाउन दिँदैन
Monday, March 2nd, 2026, 12:41 pm
Kalpristha
साबित्री बिश्वकर्मा
नेपालगन्ज । नेपालको संबिधानले १६ वर्ष पुगेका नेपालीले वंशजका आधारमा नागरिकता पाउने ग्यारेन्टी गरेको छ । तर नागरिकता नबन्दै बालविवाह गरेका किशोरीहरु २० वर्ष नपुग्दासम्म नागरिकता बिहीन बन्न बिबश छन । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार प्रचलित कानुनले बिबाहित छोरीलाई माइतीबाट नागरिकता बनाउन रोक्दैन । तर केहि स्थानिय तहका वडा अध्यक्ष , कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कानुन बिपरित बिबाहित छोरीले माइतीबाट नागरिकता बनाउन मिल्दैनन भनेर नागरिकता पाउने अधिकारबाट बिबाहित छोरीहरुलाई बन्चित गराइ रहेको देखिन्छ । बिहेबारीको कारण देखाएर १६ बर्ष उमेर पुगेका कुनै पनि नेपालीलाई उसको नागरिकता पाउने हकबाट बन्चित गर्न मिल्दैन ।
सुशीला चौधरी
बाँकेको राप्तिसोनारी गाँऊपालिका वडा नंं.६ मा सुशीला चौधरीले १५ वर्षको उमेरमा भागी बिवाह गरिन् । बिवाह गरेको ७ वर्ष बितेको छ, उनी २२ वर्षकी भईन् । उनको ३ वर्षको छोरा छ । तर सुशीलाको नागरिकता अझै बनेको छैन । श्रीमान चार बर्ष देखि वैदेशिक रोजगारीमा छन । श्रीमान बिदेश भएका कारण सुशीलाले
माइतीबाट जागरिकता बनाउन प्रयास गरिन । तर वडा अध्यक्षले बिबाहित छोरीले माइतीबाट नागरिकता बनाउन मिल्दैन भनेर नागरिकता सिफारिस गरि दिएनन ।
वडा कार्यालयले सिफारिस नगरिदिएका कारण उनी नागरिकता पाउने सम्बैधानिक हकबाट बन्चित भएकी छिन ।
नागरिकता नभएकै कारणले गर्दा उनले अहिलेसम्म भोट हाल्ने अधिकार प्रयोग गर्न सकेकी छैनन् । उनलाई त्यति सानै उमेरमा विवाह नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । सरकारले बिवाहको लागि तोकिदिएको २० वर्ष उमेर नै उपयुक्त रहेको रहेको उनले बताइन् ।
बैष्णवी थप्नौवा
राजापुर नगरपालिका वडा नं.१० की बैष्णवी थप्नौवा १७ वर्षको उमेरमा भागेर १९ बर्षिय प्रशान्त सुनार संग बिहे गरिन । बैष्णवीले बालविवाह गरेको २ बर्ष भयो । अहिले उनी १९ वर्षकी भइन् । तर उनको नागरिकता अहिलेसम्म बनेको छैन ।
माइती र वडा अध्यक्षले बिहे भएकी महिलाले श्रीमान कै नाम राखेर नागरिकता बनाउदा राम्रो हुन्छ भनेर भनि रहेका छन । २० बर्ष नपुग्दै बिबाह दर्ता नै हुदैन । बिबाह दर्ता नभई श्रीमानको नामबाट नागरिकता बनाउन मिल्दैन । जसका कारण बैष्णवीलाई श्रीमानको नाम राखेर नागरिकता बनाउनका लागि अझै एक बर्ष पर्खनु पर्ने देखिएको छ । बिबाहित महिलाले श्रीमानको नाम राखेर नागरिकता बनाउनका लागि विवाह दर्ता अनिवार्य चाहिन्छ । तर उनका श्रीमान प्रशान्त सुनारले भने बिहे गरे लगत्तै १९ वर्षको उमेरमा सहजै नागरिकता बनाए । नागरिकता बनाउने क्रममा प्रशान्त संग बिबाह दर्ताको कागज खोजिएन । तर बैष्णवीलाई श्रीमानको नाम राखेर नागरिकता बनाउन खोज्दा बिवाह दर्ताको कागज पत्र खोजियो । यसले नेपालमा महिला र पुरुषका बिच अझै पनि बिभेद छ भन्ने प्रष्ट हुन्छ ।
संगिता बिश्वकर्मा
बर्दियाको गुलरिया नगरपालिका वडा नं.१२ मा संगिता बिश्वकर्माले १४ वर्षको उमेरमा २० वर्षको केटासंग भागी बिवाह गरिन् । अहिले उनी १९ वर्षकी भइन् । उनीसंग ४ वर्षको छोरी छ । छोरीको जन्मदर्ता भने बुवाको नागरिकता अनुसार बनाइएको छ जसमा आमाको नाम मात्र राखिएको छ । सानै उमेरमा बच्चा जन्माएको र आर्थिक अवस्था समेत त्यति राम्रो नभएकोले छोरीलाई कुपोषण समेत भएको र भेरी अस्पताल नेपालगन्जमा राखेर उपचार गरिएको उनी बताउँछिन् । श्रीमानसंग विचार नमिल्ने र झैँझगडा भैरहने भएकोले अहिले माइतीको सहायतामा पुनःअध्ययन सुरु गरेकी छिन् । उनले विवाह गर्दा कक्षा १०मा पढ्दै थिइन् । विवाह पश्चात पढाई छाडेको उनी बताउँछिन् । फेरी उनले कक्षा १० बाटै पढाइ सुरु गरेर अहिले १२ कक्षा अध्ययन गर्दैछिन् ।
संगितालाई नेपाल प्रहरीमा जागीर खाने ठूलो इच्छा छ तर अहिले उनको नागरिकता बन्न सकिरहेको छैन् । उनका अनुसार २० वर्ष उमेर नपुगेकोले उनको विवाह दर्ता बन्न सकेको छैन् । विवाह दर्ता नगरी श्रीमानको घरबाट नागरिकता बनाउन मिल्ने अवस्था छैन् । संगिताको माइतबाट नागरिकता बनाउनको लागि उनी अविवाहित हुनुपर्ने मधुवन नगरपालिका वडा नं.७ का वडाअध्यक्ष राजेन्द्र हमाल बताउछन् । पटक पटक नागरिकताको सिफारिसकालागि वडा कार्यालय गएपनि वडाबाट फिर्ता गरिदिइरहेको संगिताले बताइन ।संगिता भन्छिन् “श्रीमानको घरबाट नागरिकता बनाउनको लागि विवाहदर्ता अनिवार्य छ, म २० वर्ष पुगे कै छैन् । केही काम गरौँ भने कामको लागि पनि नागरिकता नै खोजिन्छ । नागरिकता नभएकोले धेरै समस्या भैरहेको छ । बैंक खाता खोल्न तथा सरकारको तर्फबाट प्रदान गरिने सिपमूलक तालिमहरुबाट बन्चित छु, बालविवाह गरेकै कारणले आज मैले यो सब कुराबाट भएर गुज्रिरहनु परेको छ । सरकारले २० वर्षको उमेर राखेको ठिक रहेछ ।” उनका अनुसार बालविवाहले हास्ने खेल्ने उमेरमा घरव्यवहारको जिम्मेवारीले बढ्दै जादा स्वास्थ्यमा समेत समसया भइरहेको बताइन ।
शारदा परियार
बर्दियाको मधुवन नगरपालिका वडा नं.७ कि १५ बर्षिया शारदा परियारको २०७५ सालमा परिवार कै सहमतीमा बालविवाह भयो । अहिले उनको २ बच्चा छन् । उनी २२ वर्षकी भईन् । उनी परिवार सहित अहिले भारतमा छिन् । उनको पनि अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । उनी नेपालमा रँहदासम्म उनको विवाह दर्ताको लागि उमेर पुगेको थिएन । उनी कमाउन भारत गएको हुनाले नागरिकता बनाउनको लागि नेपाल अझै नफर्किएको बुवा हरि परियारले बताए । उनी भन्छन् “अहिले नागरिकता बनाउन सकिन्छ तर ४ वर्षसम्म नागरिकता विहीन भएर मेरो छोरी बस्नुप¥यो । नागरिकता नँहुदा आर्थिक कारोबार गर्नमा समेत समस्या हुने गरेको छ ।” अहिले भारतमा भएकोले नागरिकता बन्न नसकेको उनको बाबु हरि परियारले बताए ।
पुष्पा परियार
बैजनाथ गाँउपालिका वडा नं. बस्ने पुष्पा परियारले १७ वर्षको उमेरमा बालविवाह गरिन् । उनी अहिले १८ वर्षकी भईन् । उनको नागरिकता अविवाहित हुँदा बनेको थिएन् । उनको आमा बुवाले पनि बालविवाह गरेका थिए । उनी जन्मिएको ४ वर्षपछि मात्र उनको आमा बुवाको विवाहदर्ता भयो र उनको जन्मदर्ता पनि ४ वर्ष पछि बनाइयो । उनको वास्तविक उमेरभन्दा ४ वर्ष उमेर घटाएर उनको जन्मदर्ता बनेको छ । जन्मदर्ता अनुसार उनको उमेर अहिले जम्मा १६ वर्षको भयो तर उनका अनुसार उनको जन्म २०६४ सालमा भएको हो जस अनुसार उनी अहिले १८ वर्षकी भइन् ।
अहिले उनको नागरिकता बिवाह गरिसकेको हुनाले माइतीघर तिरबाट बनाउन मिल्दैन् । तर श्रीमानको नामबाट बनाउनको लागि विवाह दर्ताको प्रमाण पत्र आवश्यक पर्दछ । उनीसंग अहिले विवाह दर्ता छैन् । विवाह दर्ताको लागि २० वर्ष उमेर पुगेको हुनु पर्दछ ।
नागरिकता नभएकै कारणले पुष्पालाई अहिले बैँक खाता खोल्न, विभिन्न सिपमूलक तालिम सिक्न तथा जागिर गर्नको लागि वाधा भैरहेको उनी बताउँछिन् । उनी भन्छिन् “मैले बाँकेकै एक अस्पतालमा कार्यालय सहयोगीको जागिर पाएको थिँए । त्यसमा १८ हजारसम्मको तलब दिने कुरा थियो तर नागरिकता नभएको कारणले कामलाई निरन्तरता दिन पाएन् । जे गर्न पनि नागरिकता चाहिन्छ ।” उनी भन्छिनर “आँफै काम गर्न पाएको भए आर्थिक रुपमा स्वावलम्बी हुन सक्ने थिएँ ।”
समाजशास्त्री जेबी बिश्वकर्माका अनुसार नागरिकता नबन्नु सजाय जस्तो त भैरहेको छ तर कानूनतः १६ वर्ष उमेर पुरा गरेपछि नागरिकता पाउने व्यवस्थालाई विवाह दर्ता चाहिने भन्ने कुराले अड्काएको छ विशेषगरी किशोरीको हकमा । कानूनी रुपमा हेर्दा कुनैपनि समस्या नदेखिएको भएतापनि वडाबाट सिफारिस पाउनै मुस्किल रहेको वास्तविकता छ ।
प्रियंका कुर्मी
महाराजगंज नगरपालिका वडा नंं.४ कपिलवस्तु बस्ने प्रियंका कुर्मी नागरिकताको सिफारिसको लागि वडा कार्यालय धाउन लागेको ७ वर्ष भयो । उनको १५ वर्षको उमेरमा बालविवाह भएको थियो । अहिले उनी ३१ वर्षकी भइन् । उनको ९ वर्षको छोरा छ । उनको श्रीमानको ७ वर्ष अघि मृत्यु भएको थियो । कुर्मीको घरपरिवारले विवाहदर्ता त बनाईदिए तर नागरिकताको लागि भने केहि प्रक्रिया अगाडी बढाएनन् । उनको सासू र ससूरा दूवै छैनन् जस्ले गर्दा उनलाई अहिले घरतर्फबाट नागरिकता बनाउनको लागि समस्या भैरहेको छ । उनको बाबुको नामबाट नागरिकता बनाउनको लागि प्रक्रिया चालेको उनी बताउँछिन् । तर वडाले सिफारिस दिएन । उनी भन्छिन् “श्रीमानको घरबाट नागरिकता बनाइदिनको लागि कोही हुनुहुन्न र बावुको नामबाट बनाउनको लागि वडाले सिफारिस दिदैँन । म एकल महिला कहाँ कहाँ जाउँ ? । मसंग नागरिकता नभएकै कारणले मेरो सम्पत्ति आफ्नो नाममा राख्न पाएको छैन, अहिलेसम्म बैंक खाता खोल्न सकेको छैन् । जे काममा पनि नागरिकता चाहिन्छ । म नेपाल कै नागरिक भएर पनि अनागरिक हुन परेको छ ।” उनको श्रीमानको खेतबारी छ तर त्यो पनि उनको नाममा गर्न सकेकी छैनन् । उनी सुनाउछिन् “म केही व्यवसाय गर्न चाहन्छु तर मेरो नागरिकता नै नभएकोले दर्ता गर्न पनि सक्दिन ।” उन्ले मलिन हुँदै भनिन् “यो जमानामा पैसा कमाउन सके इज्जत हुन्छ मसंग त न परिचय भयो न पैसा ।”
के भन्छन वडा अध्यक्षहरु
बाँकेको कोहलपूर नगरपालिका वडा नं.११ का वडा अध्यक्ष कल्पना शर्माका अनुसार बालविवाह गरेका किशोरीहरुको बच्चा भैसकेको अवस्थामा सिफारिस दिन नमिल्ने बताइन् । वडा कार्यालयमा बालविवाह भएको जानकारी नभएमा आमाबुवाको नामबाट नागरिकता बताउनको लागि सिफारिस दिने अभ्यास रहेको बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मीका भन्छन् “नागरिकता नबनाएर बालविवाह गरेकालाई आमा बुवाको नामबाट नागरिकताको लागि सिफारिस त दिन मिल्दैन । बालविवाह गरेका किशोरीहरुले २० बर्ष पुगे पछि विवाह दर्ता गरेर श्रीमान कै नामबाट नागरिकता बनाउनुपर्छ ।”
डुडुवा गाँऊपालिका वडा नं.४ का वडा सचिव किरण श्रेष्ठका अनुसार बालविवाह गरेर गएका किशोरीलाई आमाबावुको नामबाट नागरिकता बनाउनको लागि सिफारिस दिने अभ्यास छैन । बालविवाह पछि नागरिकताको लागि २० वर्षसम्म नै पर्खनु पर्छ ।
त्यस्तै बर्दिया गुलरिया नगरपालिका वडा नं.१० मा पनि बालविवाह गरेका किशोरीहरुलाई माइतीबाट नागरिकता बनाउनकोलागि सिफारिस नदिने अभ्यास रहेको वडा अध्यक्ष लक्ष्मी नारायण लोधले बताए ।
नागरिकता पाउने कानूनी व्यवस्था के छ ?
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख दिल कुमार तामाङ भन्छन् “कानूनले बालविवाहलाई विवाह मान्दैन तर सामाजिक परम्परा अनुसार विवाहको रुपमा परिभाषित गरिएर ‘बालविवाह’ भन्छौँ । यसका कारणले नागरिकता नपाइरहेको नाबालिकाहरु छन् ।” उनका अनुसार नागरिकता ऐनले नागरिकता प्राप्त गर्नको लागि केहि नियमहरु तोकेको छ तर विवाह भएपश्चात केटापक्षबाट नै नागरिकता लिनुपर्ने अनिवार्य गरेको व्यवस्था कानूनमा छैन् । विवाह पछि महिलाले श्रीमान कै नाम ठेगाना सहितको बिबरण राखेर नागरिकता बनाउदा पछि कानुनी झमेला हुदै भन्ने बुझाईका कारण यसतो समस्या देखिएको हो ।
नागरिकता ऐन अनुसार १६ वर्ष उमेर पुगे पछि नागरिकता बनाउन सकिन्छ । तर बिबाहका लागि २० वर्ष उमेर पुगेको हुनु पर्छ । २० बर्ष भन्दा पहिले गरिएको विवाहले कानुनी रुपमा वैधानिकता पाउदैन ।
प्रजिअ तामाङ भन्छन — २० वर्ष अघि बच्चा भैसकेको भए पनि माइती ठेगानाबाट नागरिकता बनाउन मिल्छ । कुनै पनि कानुनले २० बर्ष नपुग्दै बिबाह भएर बच्चा जन्माएका महिलालाई माइती ठेगानाबाट नागरिकता दिन मिल्दैन भनेर रोकेको छैन । वडाअध्यक्षको सिफारिसमा र नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारी त्यस्ता किशोरीलाई नागरिकता दिन सक्छन । विवाहको कारण देखाएर किशोरीहरुलाई उनीहरुको नागरिकता पाउने अधिकारबाट बन्चित गर्न मिल्दैन ।
विवाहपश्चात पतिको नामथर कायम गरेर पतिको ठेगानाबाट नागरिकता लिनुपर्छ भन्ने नागरिकता ऐन र नियमावलीमा कतै भनिएको छैन् ।” उनका अनुसार कानूनको पाटो नभएर अभ्यासको पाटो हावी भएको हुनाले बालविवाह गरेका किशोरीलाई नागरिकता लिन समस्या भैरहेको छ जनु कानुनी होइन । आफ्नो आमा बावुको नामबाट नागरिकता लिन मिल्छ ।
अदालतको फैसला र अभ्यास
वि.स.२०६३ सालको रिट नं.००८९ मा सर्वाेच्च अदालतका माननीय न्यायधीसद्वय श्री अनूपराज शर्मा र श्री कल्याण श्रेष्ठको संयुक्त इजलासले मिति २०६५ साल बैशाख ४ गते गरेको आदेशमा “कानून बमोजिम कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने व्यवस्था रहेबाट समेत लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनबाट वञ्चित हुने गरी सिफारिस नदिने कार्य कानूनसम्मत भन्न मिल्ने अवस्था देखिन आएन । अतः निवेदन माग दावी बमोजिम निवेदकलाई निजको बाबुको नाउँबाट नेपाली नागरिकताको प्रमाण पत्र बनाउनको लागि सिफारिस दिनु भनी परमादेशको आदेश जारी ठहर्छ ।” भनी नजीर स्थापित भएको देखिन्छ । कानूनतः कतै अप्ठ्यारो नपारिएको व्यवस्थालाई जनप्रतिनिधी तथा कर्मचारीहरुले कार्यान्वयन नगरेको वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ बताउँछन् ।
नेपालको संविधान २०७२ भाग २ को धारा १० उपधारा १ ले “कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन” भनी उल्लेख गरेको छ । नेपाल नागरिकता नियमावली, २०६३ ले वंशजको आधारमा नागरिकता लिनको लागि कानूनी कागजात पुरा गरी १६ वर्ष उमेर पुरा गरेको हुनुपर्ने उल्लेख छ ।