बलात्कार गर्नेहरु विरुद्ध गाउँलेले उजुरी गर्न नदिएपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरिन्
Wednesday, September 16th, 2020, 1:11 pm
amit
सप्तरी, ३१ भदौ । गाउँलेले बलात्कारको उजुरी गर्न रोक लगाएपछि सप्तरीमा एक किशोरीले आत्महत्या गरेकी छिन्।
डाकनेश्वरी नगरपालिकाकी १७ वर्षकी किशोरीले बलात्कार गर्नेहरु विरुद्ध उजुरी गर्न नदिएपछि आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।
सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको र आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा गाउँलेको भेला बसी रोकेपछि छोरी निकै तनावमा परेकी पीडितकी आमाको भनाई छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गाउँले भेलाको निर्णय चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन्।
गाउँका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको थियो।
घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ।
किशोरीले आत्महत्या गरेपछि सामुहिक बलात्कारका चार आरोपित फरार भएका छन् भने पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउनेमध्ये जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको प्रहरी निरीक्षक खड्काले बताएका छन्।