ब्रदर्श एफसी, बैजनाथ युवा क्लब र हिमालयन सेमिफाइनलमा प्रवेश
Tuesday, June 2nd, 2026, 8:18 am
Kalpristha
गणेश राई
नेपालगन्ज, जेठ १८ गते
ब्रदर्श एफसी, बैजनाथ युवा क्लब र हिमालयन सामुदायिक क्लब प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेलमा बैजनाथ युवा क्लब र ब्रदर्शले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने धम्बोझी र नुकिलपुर युवा समाजबिचको विजेताले सेमिफाइनलमा बिहिबार हिमालयन सामुदायिक क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका नेपालगन्ज धम्बोझीका दुई युवा ईन्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भैरहेको प्रतियोगिता अन्तर्गत ब्रदर्शले नवज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भैरहेको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टीमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, शैलेन्द्र विसी र नवराज भण्डारीले गोल गर्नु भयो । नवज्योतीका लागि खगेन्द्र भण्डारी, प्रशान्त बस्नेत र अनिष तामाङले गोल गर्नु भयो । खेलमा ब्रदर्शका गोलकिपर नितेश खड्का म्यान अफ द म्याच घोषित हुनु भयो ।
यसैगरी अर्को खेलमा बैजनाथ युवा क्लबले सगरमाथा स्कुललाई सहजै ६–२ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । बैजनाथका विवेश चौधरीले सुरुआती १२औं मिनेटमा गोल गरेर खेलमा टोलीलाई अग्रता दिलाउनु भयो । त्यसपछि खेलको म्यान अफ द म्याच दिवस तामाङले १७, २२औं मिनेटमा र शिव टमाटाले २७औं र ४०औं मिनेटमा गोल गर्नु भयो । सगरमाथाको तर्फबाट एक आत्मघाती गोल भएको थियो । सगरमाथाको लागि अमित बोहोराले ३१औं र सुशान्त थापाले ३७औं मिनेटमा गोल गर्नु भएको थियो ।
यसैगरी हिमालयन सामुदायिक क्लबले जय किसान स्पोर्टस क्लबलाई २–१ ले पराजित गरेको छ । हिमालयनका लागि सागर बुढाले ४१औं मिनेट र रेशम सुनारले ४१औं मिनेटमा गोल गर्नु भएको थियो । जय किसानका दिपेश खत्रीले ३८औं मिनेटमा गोल गर्नु भयो । खेलमा हिमालयनका सरुग थापा म्यान अफ द म्याच घोषित हुनु भयो ।
अर्को खेलमा नुकिलपुर युवा समाजले भैयापुर एफसीलाई ३–१ ले पराजित गरेको छ । नुकिलपुरका लागि सुविन कार्कीले २ गोल गर्नु भयो । म्यान अफ द म्याच कार्कीले १६औं र २६औं मिनेटमा गोल गर्नु भयो हेमन्त ठगुन्नाले ३०औं मिनेटमा गोल गर्नु भयो । भैयापुरका नितेश पुनले ४५औं मिनेटमा गोल गर्नु भयो ।
धम्बोझी क्लबको आयोजनामा भैरहेको प्रतियोगिता जेठ २१ गते सम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले बताउनु भयो ।
