२० वर्ष नपुग्दै सम्बन्ध विच्छेद
Tuesday, June 2nd, 2026, 8:35 am
Kalpristha
साबित्री बिश्वकर्मा
नेपालगन्ज, जेठ १८
सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’ । त्यही नारालाई सार्थक बनाउन दण्डनीय कानूनी व्यवस्थासँगै पालिका, जिल्ला र प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने अभियान सञ्चालन भइरहेका छन् । तर परम्परागत मान्यता, गरिबी, दाइजो प्रथा र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण बालविवाह रोकिएको छैन ।
समस्या केवल बालविवाहमै सीमित छैन । बाल्यकालमै भएका धेरै वैवाहिक सम्बन्ध २० वर्ष नपुग्दै अदालतसम्म पुग्ने र सम्बन्धविच्छेदमा टुंगिरहेका छन् ।
सरकारी तथ्यांकअनुसार ९.८ प्रतिशत केटा र २२.७ प्रतिशत केटीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २०७९ सालको प्रतिवेदनअनुसार बालविवाह गर्नेहरूमध्ये करिब १ प्रतिशत अर्थात् करिब चार सय जनाले २० वर्ष नपुग्दै सम्बन्धविच्छेद गरेका छन्।
बालविवाहले मातृमृत्युदर न्यूनीकरणको लक्ष्यलाई चुनौती दिएको छ भने पारिवारिक कलह, हिंसा र कानुनी विवाद पनि बढाएको छ ।
फेसबुकको लाइकदेखि अदालतको फाइल सम्म २३ चैत २०८२ मा नेपालगञ्जमा चर्को गर्मी थियो । बाँके जिल्ला अदालत परिसरमा विभिन्न मुद्दाका वादी–प्रतिवादीहरूको भीड थियो । त्यही भीडमा थिए १९ वर्षकी सरीता र २६ वर्षका सन्तोष ।
फिरादपत्र तयार पार्दै गरेका वकिललाई आवश्यक विवरण टिपाइरहेका उनीहरूबीच कुनै आत्मीय संवाद देखिँदैनथ्यो । उनीहरु सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेका रहेछन् । विवाह गर्ने उमेरसम्म पनि नपुगेकी कोहलपुरकी सरिताले कैलालीका सन्तोषसँग सहमतिमै सम्बन्ध विच्छेद गर्दै थिइन् ।
पाँच वर्षअघि १४ वर्षकी सरिता र २१ वर्षीय सन्तोषबीच फेसबुकमा चिनाजान भयो । फोटो, स्टाटसमा लाइक र कमेन्ट हुँदै शुरु भएको संवाद पाँच महिनामै प्रेम सम्बन्धमा पुग्यो । उनीहरु विवाह गर्ने निर्णयमा पुगे । परिवारले थाहा पाएपछि अन्यत्र विवाह गरिदिने डरले उनीहरूले भागेर विवाह गरे । सरिताले १५ वर्षको उमेरमै छोरी जन्माइन् ।
छोरी जन्मिएपछि सामान्य विषयमा पनि सरिता र सन्तोषबीच विवाद हुन थाल्यो । छोरीकोे हेरचाह, उपचार र पालनपोषणमा समेत श्रीमानले वास्ता गर्न छाडेपछि सरिता माइतीमा बस्न थालिन् । त्यसपछि श्रीमान श्रीमतीबीच बोलचाल नै बन्द भयो । फेसबुकबाट सुरु भएको सम्बन्ध, प्रेम विवाह र मातृत्वको यात्रापछि सरिता १९ वर्षको उमेरमै अंश दाबी नगरी सम्बन्धविच्छेद गर्न बाध्य भइन् । कक्षा ८ सम्म अध्ययन गरेकी उनी अहिले आफ्नो भविष्यभन्दा पनि चार वर्षीया छोरीको पालनपोषण र शिक्षाको चिन्तामा छिन् ।
बाँकेकै बैजनाथ– २ की २३ वर्षीया दुर्गाकुमारी सुनारको पनि फेसबुकबाट जोडिएको सम्बन्ध पाँच वर्षमै टुट्यो । फेसबुकको चिनजान प्रेमसम्म पुगेपछि १६ वर्षकी दुर्गा र १८ वर्षका सञ्जय सुनारले परिवारको सहमती बिनै विवाह गरे । २०७५ बैशाखमा विवाह गरेका उनीहरुकी चार वर्षीया छोरी छन् ।
समयसँगै श्रीमानको बेवास्ता, झै–झगडा र मानसिक तनाव बढेपछि दुर्गा २०८० सालदेखि माइतीघरमा बस्न थालिन् । २०८२ साउनमा उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । सञ्जयसँगको ‘तनावपूर्ण’ सम्बन्धबाट छुटकारा पाए मात्रै पनि हलुंगो हुने निचोडमा पुगेकी दुर्गाले सञ्जयसँग अंश माग गरेकी छैनन् । अब के गर्ने भन्ने योजना पनि छैन । छ त केवल, चार वर्षीया छोरीलाई कसरी राम्रो शिक्षा दिने र स्वस्थ्य तरिकाले हुर्काउने चिन्ता ।
खजुराकी २८ वर्षीया विमला सिंह ठाकुर भन्छिन ‘फेसबुकबाट त बाहिरी कुरा मात्र थाहा हुँदो रहेछ । विहे गरेर सँगै जीवन बिताउँदा धेरै कुरा नमिल्ने रहेछ ।’
सामाजिक सञ्जाल फेसबुकबाटै मायाप्रेम बसेपछि १९ वर्षको उमेरमा विमलाले २४ वर्षीय बलबहादुर सुनारसँग विवाह गरेकी थिइन् । दुई सन्तान भइसक्दा पनि हिंसा र अविश्वास भोगिरहेपछि उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनका अनुसार सामाजिक सञ्जालमा हुने कुराकानी र वास्तविक जीवनबीच ठूलो अन्तर हुन्छ, जसलाई किशोर–किशोरीले बुझ्न सक्दैनन् । ‘छोरीछोरी हुर्काउने र राम्रो शिक्षाको व्यवस्था गर्नुपर्ने बेला सम्बन्ध विच्छेदका लागि मुद्धा गर्नुपर्दा मन अमिलो भएको छ,’ विमला भन्छिन्, ‘तर के गर्नु बाध्यता छ ।’
नेपालगञ्जकी पिंकी यादव १५ वर्षकी छँदा अभिभावकले विवाह गरिदिए । १९ वर्षको उमेरमा गौना भएपछि उनी श्रीमानसँगै बस्न थालिन् । त्यसपछि थप अध्ययन्को कुरामा श्रीमानसँग मतभेद बढ्दै गयो । ‘पढाईका विषयमा बिचार नमिलेपछि अरु कुरामा मिल्ला भन्ने विश्वास रहेन । त्यसैले सम्बन्ध विच्छेद गर्नु नै उपयुक्त लाग्यो,’ पिंकी भन्छिन्, ‘सम्बन्ध विच्छेदका लागि माइतीको साथ पाउन निकै मुश्किल थियो ।’ तीन वर्ष लामो कानुनी लडाइँपछि उनले सम्बन्धविच्छेद गरेकी छन् । वैवाहिक जीवनमा असफलता भोगेकी पिंकीले भाइहरूको बालविवाह रोकिन् । आफन्त र छिमेकमा पनि बालविवाह नगर्नका लागि दबाव दिन्छिन् । ‘बालविवाहका कारण मैले दुख पाएँ, तर, मेरा भाइहरु र नातेदारका छोराछोरीको बालविवाह रोकिएको छ ।’ अहिले स्नातक तहमा अध्ययनरत पिंकी सहकारी संस्थामा लेखापाल पदमा कार्यरत छन् । उनको साहस र मेहनतलाई परिवार र छिमेकीले पनि प्रशंसा गर्न थालेका छन् ।
तथ्याङ्क बाहिरको दृश्य
बाँके जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ७६२, २०८०÷८१ मा ७३३, २०८१÷८२ मा ७२८ र २०८२÷८३ को चैतसम्म ६२३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । यिमध्ये बालविवाहसँग सम्बन्धित मुद्दाको हिस्सा उल्लेख्य रहेकोे अदालतका सूचना अधिकारी तीर्थराज आचार्यले बताए ।
खजुरा–४ की १७ वर्षीया पूजा बिकले २१ वर्षका सागर थारुसँग विवाह गरिन् । एक वर्षपछि उनीहरुकी छोरी जन्मिइन् । छोरी जन्मिएपछि श्रीमान–श्रीमतीबीच विवाद हुन थाल्यो । निरन्तरको झगडा र तनावपछि पूजाले २० वर्षको उमेरमा घर छोडिन् ।
सागरले अर्को विवाह गरे, पूजा विदेश गइन् । उनीहरुको विवाह दर्ता भएको थिएन, बालविवाह भएका कारण । दर्ता नभएको हुँदा औपचारिक सम्बन्धविच्छेद हुनसक्ने भएन । पूजा र सागर जस्ता बालविवाह गर्ने र पछि सम्बन्धविच्छेद गर्नेहरुको तथ्याङ्क स्थानीय तह र अदालतमा भेटिंदैन । हतारमा विवाह, हतारमै सम्बन्धविच्छेद पारिवारिक निगरानीको कमी, सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीले बालविवाहलाई प्रोत्साहन गरिरहेको समाजशास्त्री सीता बोहरा बताउँछिन् । आकर्षण हुनासाथ विवाह गर्न हतारिने किशोर किशोरीहरू विवाहपछिका समस्या सम्हाल्न सक्दैनन् । उनी भन्छिन्, ‘परिपक्व भएर विवाह गर्ने दम्पतीको तुलनामा बालविवाह गर्ने दम्पत्तीको सम्बन्धविच्छेद हुने सम्भावना बढी हुन्छ’ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भधारण गर्दा आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ । नेपालमा मातृमृत्युदर घट्नुमा विवाहको उमेर २० वर्ष कायम हुनु पनि एक प्रमुख कारण मानिन्छ । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कुमार शन शाहका अनुसार शारीरिक र मानसिकरूप परिपक्व नहुँदै बच्चा जन्माउँदा सामाजिक र मानसिक दबाब सिर्जना हुन्छ । कलिलो उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुबैलाई ज्यानको खतरासम्म हुनसक्छ ।

…….
डा. शाह भन्छन ‘अझै पनि हाम्रो समाजमा कलिलो शरीरमा बच्चा जन्माउन सजिलो हुन्छ भन्ने भ्रम छ । तर, बालबिबाहका कारण उत्पन्न हुने स्वास्थ्य जटिलताका कारण गर्भबती आमा र पेटमा रहेको बच्चा दुबैको ज्यान जोखिममा हुन्छ ।’ २०७५ भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बालविवाह मानिने व्यवस्था गरेको छ । २० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।