धम्बोझी र ब्रदर्शले उपाधिको लागि प्रतिस्पर्धा गर्ने
Wednesday, June 3rd, 2026, 9:33 am
Kalpristha
प्रथम यु–२०(नाइन–ए साईड) फुटबल
गणेश राई
नेपालगन्ज, जेठ २०
आयोजक धम्बोझी क्लब र ब्रदर्श एफसी जेन्जी सहिद ई. सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भैरहेको प्रथम यु–२०(नाइन–ए साईड) फुटबल प्रतियोगिताको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।प्रतियोगिताको फाइनल खेल बिहिबार हुनेछ । धम्बोझी क्लबको आयोजनामा नेपालगन्ज–०१ विशालचोक स्थित एन्फा ग्रासरुट टे«निङ्ग सेन्टरमा भैरहेको खेलमा धम्बोझीले हिमालयन सामुदायिक क्लबलाई ४–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
धम्बोझीको जितमा म्यान अफ द म्याच विष्णु चन्दले २३औं र ३६औं मिनेटमा गोल गर्नु भयो । म्यान अफ द म्याचलाई नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख उमा थापाले पुरस्कृत गर्नु भयो । यसैगरी धम्बोझीका महेश बुढाथोकीले ४६औं मिनेट, सुदिप केसीले ५५औं मिनेटमा गोल गर्नु भयो । हिमालयनका सागर बुढाथोकीले २६औं मिनेटमा सान्त्वना गोल गर्नु भयो । यसैगरी प्रतियोगिताको पहिलो सेमिफाइनलमा ब्रदर्श एफसीले बैजनाथ युवा क्लबलाई २–१ ले पराजित गरेर फाइनलको यात्रा तय गरेको हो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता जेन्जी सहिदद्धय ई. शुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतीमा आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजक धम्बोझी क्लबका अध्यक्ष कुँवरले जनाउनु भएको छ ।