फिफा विश्वकपका लागि नेपालमा टेलिभिजन र ओटीटी सब्स्क्रिप्सन सुरु
Thursday, June 4th, 2026, 11:59 am
Kalpristha
यस्तो छ ग्राहक बन्ने प्रकृया
काठमाडौँ — यहि जेठ २८ गतेबाट सुरू हुन लागेको ‘फिफा विश्वकप २०२६’ को आधिकारिक सब्स्क्रिप्सन अभियान औपचारिक रूपमा सुरु भएको भएको छ । फिफा विश्वकप फुटबल प्रतियोगितालाई नेपाली दर्शकमाझ पुर्याउनका लागि टेलिभिजन र ओटीटी (OTT) प्लेटफर्मको आधिकारिक सब्स्क्रिप्सन अभियान सुरु भएको हो। नेपालका लागि फिफा विश्वकपको प्रसारण अधिकारप्राप्त एसप्रो मिडियाले यसको औपचारिक घोषणा गरेको हो।
नेपालमा यो पटकको विश्वकप फुटबल हिमालय स्पोर्ट्स (Himalaya Sports) च्यानलबाट एक्सक्लुसिभ प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो (DGO) एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ । फिफाले नेपालका लागि एक्सक्लुसिभ अभिकार दिएका कारण बिदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन् । नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका कुल १०४ वटै खेलहरू उत्कृष्ट गुणस्तरमा हेर्न पाउनेछन्। टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ । मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।
कसरी बन्ने ग्राहक ?
यदि तपाईं पनि घरमै बसी-बसी टिभी, मोबाइल वा ल्यापटपमा विश्वकपको रोमाञ्चक अनुभव लिन चाहनुहुन्छ भने ग्राहक बन्ने (Subscription) विस्तृत प्रक्रिया यसप्रकार छ:
१. टेलिभिजन (TV) मा हेर्नका लागि प्रक्रिया
यदि तपाईं डिजिटल टिभी (केबल, डीटीएच वा आईपीटीभी) प्रयोग गर्नुहुन्छ भने प्याकेज खरिदका लागि दुईवटा सजिला तरिकाहरू उपलब्ध छन्:
पहिलो तरिका– (टिभी स्क्रिनको QR Code मार्फत): १. आफ्नो टेलिभिजन खोल्नुहोस्। २. च्यानल लिस्ट (Channel List) मा गएर स्पोर्ट्स श्रेणी (Sports Category) भित्र रहेको Himalaya Sports HD च्यानल खोल्नुहोस्। ३. च्यानल खोल्नेबित्तिकै तपाईंको टेलिभिजन स्क्रिनमा एउटा QR Code देखिनेछ। ४. उक्त QR Code लाई आफ्नो मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न सक्नुहुन्छ।
दोस्रो तरिका– (डिजिटल वालेट एपमार्फत): १. सीधै आफ्नो मोबाइलमा रहेको eSewa वा Khalti एप खोल्नुहोस्। २. जसरी तपाईं इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिर्नुहुन्छ, त्यसैगरी TV Service Provider छनोट गर्नुहोस्। ३. आफ्नो User ID / Subscriber ID हाल्नुहोस्। ४. FIFA World Cup TV Package चयन गरी करसहित रु. ९९९ भुक्तानी गर्नुहोस्। भुक्तानी सफल भएपछि विश्वकपका खेलहरू सुचारु हुनेछन्।
फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय (Active) हुन आवश्यक छ। टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन।
२. मोबाइल वा ल्यापटप (Laptop) मा हेर्नका लागि प्रक्रिया
डिजिटल माध्यमबाट विश्वकप हेर्न चाहने दर्शकले निम्न प्रक्रिया अपनाउन सक्नुहुनेछ:
१. आफ्नो डिभाइसमा DGO App डाउनलोड गरी रजिस्टर वा लगइन (Register/Login) गर्नुहोस्, अथवा सीधै eSewa वा Khalti एपमा जानुहोस्। २. एपको होमपेज (Homepage) मा देखिने FIFA World Cup Icon चयन गर्नुहोस्। ३. आफ्नो आवश्यकता अनुसार निम्न प्याकेज छान्नुहोस्:
- मोबाइल ओन्ली प्याकेज (Mobile Only): केवल रु. ५४९ (करसहित) मा मोबाइलमा मात्र सम्पूर्ण १०४ खेलहरूको मजा लिन सकिनेछ।
- मोबाइल र ल्यापटप प्याकेज: मोबाइल र ल्यापटप दुवै डिभाइसमा हेर्नका लागि रु. ९९९ (करसहित) को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ।
तपाईंको सब्स्क्रिप्सन तपाईंले पहिलो पटक लगइन तथा अथेन्टिकेट (Authenticate) गर्नुभएको मोबाइल नम्बर र डिभाइससँग स्थायी रूपमा जोडिनेछ। त्यसैले आफूले हेर्न चाहेको मुख्य मोबाइल डिभाइसबाटै प्याकेज खरिद गर्नुहोस्। सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन (Device Change) गर्न मिल्ने छैन। खरिद गर्नु अघि सही र आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर प्रयोग भएको सुनिश्चित गर्नुहोस्।
टिभी र मोबाइलका लागि तोकिएका माथिका दुवै मूल्यहरूमा सबै कर समावेश गरिएको छ। विश्वकप प्याकेज खरिद गर्दा वा च्यानल सुचारु गर्दा कुनै पनि प्राविधिक समस्या आएमा ग्राहकहरूले आ-आफ्नो TV Service Provider (टिभी सेवा प्रदायक) सँग सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै, मोबाइलमा डीगो एप प्रयोग गर्दा समस्या देखिएमा डीगो एपको आधिकारिक ग्राहक सेवा नम्बरमा सम्पर्क राख्न सकिनेछ।