उद्धार कोषमा प्याब्सन बाँकेको ६५ लाख सहयोग
Saturday, September 12th, 2026, 5:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ भदौं
भोटेकोसी बाढीबाट प्रभावितका लागि प्याब्सन बाँके अन्तर्गतका संस्थागत विद्यालयहरुले ६५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी जिल्लाका निजी तथा आवासीय विद्यालयले उक्त रकम संकलन गरेका हुन् ।
प्याब्सन बाँकेका अनुसार, ७७ वटा विद्यालयले संकलित ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ प्याब्सनलाई उपलब्ध गराएका छन् । केही विद्यालयले भने संकलित रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । ती रकमसमेत जोड्दा प्याब्सन बाँकेमा आबद्ध विद्यालयबाट बाढीपीडितका लागि संकलित कुल सहयोग ६५ लाख रुपैयाँ बराबर पुगेको जिल्ला अध्यक्ष विकास बज्राचार्यले बताए ।
संकलित रकमको चेक बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद् व्यवस्थापन संयोजक महेन्द्र शर्माले जिल्ला अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरे । बज्राचार्यले उक्त चेक प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा। राजेश केशर खनाललाई हस्तान्तरण गरेका थिए ।
प्याब्सनले बाँकेसहित देशभरका विद्यालयबाट संकलन भएको रकम एकीकृत गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको कोषाध्यक्ष प्रविण गिरीले जानकारी दिए ।
चेक ग्रहण गर्दै केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा। खनालले प्याब्सन केन्द्रीय समितिको खातामा रकम जम्मा गरिने र त्यसपछि देशभरबाट संकलित रकमलाई एकमुष्ट रूपमा सरकारको उद्धार कोषमा हस्तान्तरण गरिने जानकारी दिए । उनका अनुसार देशमा आएको महाविपद्को समयमा निजी विद्यालय क्षेत्र पनि सरकारको साथमा उभिएको छ । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न विद्यालय, शिक्षक तथा विद्यार्थीले समेत आफ्नो क्षमता अनुसार योगदान गरेका छन् ।
प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले भोटेकोसी बाढीले निम्त्याएको विपद्प्रति सबै संवेदनशील बन्नुपर्ने बताए । राहत संकलनमा विद्यार्थीको समेत उल्लेख्य सहभागिता रहेको उनले जानकारी दिए । ‘विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका छन्,’ जिसीले भने ।