साप्ताहिक वैदिक यज्ञ तथा सत्संग कार्यक्रम सम्पन्न
Sunday, September 13th, 2026, 6:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ भदौं
नेपाल आर्य समाज शाखा नेपालगञ्जले हरेक शनिबार आयोजना गर्ने साप्ताहिक वैदिक यज्ञ तथा सत्संग कार्यक्रम यसपटक पनि श्रद्धा, भक्ति, वैदिक संस्कार र आर्य परिवारहरूको उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ । यस साप्ताहिक वैदिक यज्ञ कार्यक्रममा प्रमुख अतिथि एवं मुख्य जजमानका रूपमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री उपस्थिति रहनु भएको थियो ।
कार्यक्रमको वैदिक परम्पराअनुसार प्रमुख अतिथि एवं मुख्य जजमान कमल खत्रीलाई यज्ञका पुरोहित विजय बरालद्वारा वैदिक मन्त्र उच्चारणसहित टीका–चन्दन लगाई सम्मान गरिएको थियो। त्यसैगरी राजकुमार आर्यद्वारा पगडी बाँधी सम्मान गर्दै खत्रीलाई वैदिक संस्कार र सम्मानको प्रतीकस्वरूप मुख्य जजमानका रूपमा यज्ञस्थलमा आसन ग्रहण गराइएको थियो।
त्यसपछि वैदिक विधिअनुसार यज्ञको शुभारम्भ गर्दै मुख्य जजमान खत्री तथा उपस्थित सम्पूर्ण आर्य परिवार एवं धर्मावलम्बीहरूले यज्ञकुण्डमा श्रद्धापूर्वक आहुति अर्पण गर्नुभयो । यज्ञमा राष्ट्रको शान्ति, समृद्धि, सुख–समृद्धि, मानव कल्याण तथा वैदिक धर्मको उन्नति र प्रचार–प्रसारको कामना गरिएको थियो ।
यज्ञ सम्पन्न भएपछि सामूहिक रूपमा यज्ञ प्रार्थना, शान्ति पाठ तथा वैदिक जयघोष गरिएको थियो । त्यस अवसरमा मुख्य जजमान खत्रीलाई पुष्पवर्षासहित सम्मान गर्दै उहाँबाट उपस्थित आर्य परिवार तथा धर्मावलम्बीहरूलाई आशीर्वाद तथा शुभकामना प्रदान गरिएको थियो ।
खत्रीले नेपाल आर्य समाज शाखा नेपालगञ्जको यस प्रकारको नियमित वैदिक यज्ञ तथा सत्संग कार्यक्रमप्रति प्रशंसा व्यक्त गर्दै समाजमा वैदिक विचार, संस्कार, सदाचार, शिक्षा, सेवा र मानव कल्याणका भावनालाई अझ व्यापक रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै नेपाल आर्य समाजको निरन्तर प्रगति, सफलता र वैदिक विचारधाराको प्रचार–प्रसारका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल आर्य समाज शाखा नेपालगञ्जले प्रमुख अतिथि एवं मुख्य जजमान खत्रीलाई हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा यस्तै वैदिक यज्ञ, सत्संग, स्वाध्याय, सामाजिक सेवा तथा जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सत्य, ज्ञान, संस्कार र मानव सेवाको भावना फैलाउँदै जाने प्रतिबद्धता व्यक्त गरेकोछ ।