मेयर कप ब्याडमिन्टनमा आर्मीका कृमोन रिजाल सर्वोत्कृष्ट खेलाडी घोषित
Monday, September 14th, 2026, 8:56 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ भदौं
बाँके जिल्ला स्तरीय अन्तर विद्यालय मेयर कप तथा बि–लेभल खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष डबल्स बी–लेभलमा बाँकेका बिजन ओली र राजेश साउदको जोडी प्रथम भएको छ । नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा भएको खेलमा बुटवल लाफाका मदन खड्का र सुदिप चौधरी जोडीलाई हराउँदैं बाँकेको टिम च्याम्पियन भएको हो ।
बाँकेका अर्जुन बुढामगर र केशब असलामी मगर तथा बाँकेकै श्रीमान केसी र मुस्कान केसीको जोडी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका थिए । प्रतियोगितामा नेपाल आर्मीका कृमोन रिजाल सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । नेपालगन्ज ब्याडमिन्टन क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगिता अन्तर्गत यु–१५ एकल पुरुष विधामा सुर्खेतका बिपिन केसी प्रथम, कपिलवस्तुका बिराट बस्नेत दोस्रो तथा बाँकेका संस्कार खत्री र सुर्खेतका रविन अधिकारी तेस्रो स्थान हासिल गर्नु भएको छ ।

……..

……….
यु–१५ एकल महिला विधामा कपिलवस्तुकी विल्सना सिंह प्रथम, कैलालीकी चाहना चौधरी दोस्रो तथा कैलालीकै अपिसा गुप्ता र कपिलवस्तुकी केरोल सेनले तेस्रो स्थान हासिल गर्नु भयो । यु–१३ एक पुरुष विधामा कपिलवस्तुका बिराट बस्नेत प्रथम, नेपाल आर्मी क्लबका कृमोन रिजाल दोस्रो, सुर्खेतका रविन्द्र अधिकारी र कपिलवस्तुका सुदेव खनाल तेस्रो हुनु भयो । महिला यु–१३ एकल महिला तर्फको विधामा कपिलवस्तुका केरोल सेन प्रथम, बाँकेकी बुनु क्रिज्मा शाक्य दोस्रो र बाँकेकै आरोसी थापा तेस्रो हुनु भयो ।
कार्यक्रमको समापनको अवसरमा बाँकेको ब्याडमिन्टन विकासमा योगदान गरेको भन्दैं आयोजक नेपालगन्ज ब्याडमिन्टन क्लबले नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङ्गलाई सम्मान गरेको थियो ।
जुनियर स्तरको खेलाडीलाई अवसर दिने उद्देश्यले आयोजना गरेको प्रतियोगिताले थुप्रै खेलाडीलाई अवसर दिएको १०औं दक्षिण एसियाली खेलकुदको कास्य पदक विजेता खेलाडी एवम् नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष अनिल लाखेले बताउनु भयो ।
प्रतियोगिताको विद्यालय स्तरमा आर्कषक पुरस्कार तथा बि लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्सको विजेता टिमले ३० हजार, उपविजेताले १५ हजार, तेस्रो र चौथो हुने टिमले समान ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष लाखेले बताउनु भयो ।
प्रतियोगिताको यु–१३ सिंगल्स छात्र–छात्रा र यु–१५ सिंगल्स छात्र–छात्रातर्फको इभेन्ट्समा १ सय ५० भन्दा बढी खेलाडी सहभागि भएका थिए ।
बी–लेभल खुल्ला पुरुष डबल्स इभेन्ट्समा करिब ८० जना खेलाडीले भाग लिएको आयोजकले जनाएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बुटवल, भैरहवा, नवलपरासी, सुर्खेत, दैलेख, धनगढी, टिकापुर, पथ्तरकोट, तौलिहवा, नवलपुर, दाङ्ग, गुल्मी लगायतको स्थानबाट आएका खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लाखेले बताउनु भयो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण प्रमुख एवम् ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले प्रतियोगिताले बाँकेमा ब्याडमिन्टको गतिविधि बढाउन समेत सहयोग गरेको बताउनु भयो ।

……..
करिब ७ लाख ९९ हजार बजेट रहेको प्रतियोगिता आयोजनाको लागि नेपालगन्ज उपमहानगरपालिकाले मुख्य प्रायोजन गर्नेछ भने राप्तीसोनारी गाउँपालिकाले प्रायोजन र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले बताएको छ ।