बालिकाको अश्लील भिडियो सेयर गरेको आरोपमा मकाउमा फेरि १२ नेपाली पक्राउ
Wednesday, September 30th, 2020, 4:25 pm
amit
एजेन्सी, १४ असोज । मकाउमा एक बालिकाको अश्लील भिडियो सेयर गरेको आरोपमा १२ जना नेपाली पक्राउ परेका छन्।
मकाउडेली टाइम्स अनलाइनका अनुसार बालिकाको अश्लील भिडियो सेयर गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
मकाउको न्यायपालिका प्रहरीले यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सबै १२ जना सुरक्षा गार्ड हुन् जसमध्ये एक जना सरकारी प्रहरी बलमा काम गर्छन्।
अन्तर्राष्ट्रिय अपराध प्रहरी सञ्जाल (इन्टरपोल)ले मकाउ प्रहरीलाई अप्रिल र मे महिनामा बालिकाको पोर्न भिडियो सामाजिक सञ्जालमार्फत सेयर भइरहेको जानकारी न्यायपालिका प्रहरीलाई दिइएको थियो।
प्रहरी अधिकारीका अनुसार सोमबार बिहान उनीहरुलाई काम गरिरहेको होटल र कोठा÷कोठा पुगेर पक्राउ गरिएको हो।
उक्त भिडियो आफ्ना साथी र अरुलाई पनि फेशबुक म्यासेन्जरबाट सेयर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मकाउडेली टाइम्सको समाचारमा जनाइएको छ।
प्रहरी सोधपुछमा पक्राउ परेकामध्ये १० जनाले आरोप स्वीकार गरेका छन् भने प्रहरीले भिडियो निर्माता र भिडियोको स्रोत बारे जाँच गरिरहेको समाचारमा उल्लेख गरिएको छ।
बालिकाको अश्लील भिडियो सेयर गरेको आरोपमा मकाउमा नेपाली पक्राउ परेको यो तेस्रो पटक हो।
एक महिनाअघि भदौमा यही आरोपमा पक्राउ परेका ११ जना अझै तारेख धाइरहेका छन् भने छुट्टै पक्राउ परेका दुई जना पनि कानुनी कारबाहीको दायरामा छन्।
भदौमा पक्राउ परेका ११ जनालाई चार दिन थुनामा राखेर छोडिएको थियो। अहिलेसम्म यो आरोपमा पक्राउ परेका २५ जना सबै २१ देखि ४७ वर्ष उमेरका छन्। उक्त भिडियो मकाउ भन्दा बाहिर सुट गरिएको निष्कर्ष प्रहरीले निकालेको थियो।