बामदेवको मुद्धाको सुनुवाई शुक्रबार मात्र हुने
Wednesday, September 30th, 2020, 5:49 pm
amit
काठमाण्डौ, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्य पदका सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ।
सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले दिएको जानकारी अनुसार बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएकाले शुक्रबारसम्मलाई सरेको हो।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
त्यस्तै बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए भने विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए।
उक्त रिटमाथि यसअघि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो।