आईपीएल : राजस्थानको विजयी यात्रामा पूर्णविराम, कोलकत्ताले हार चखायो
Thursday, October 1st, 2020, 7:09 am amit
१५ असोज, काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । यूएईमा जारी १३औं संस्करणको आईपीएलअन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ताले राजस्थानमाथि ३७ रनको जित निकालेको हो ।
दुबई रंगशालामा भएको खेलमा कोलकत्ताले दिएको १७५ रनको लक्ष्यका साथ मैदान उत्रिएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो ।
राजस्थानका लागि टम कुरानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी जोस बट्लरले २१ रन बनाउँदा राहुल टेवाटियाले १४ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
कोलकत्ताका लागि शुम्नम गिलले ४७ रन बनाउँदा इयोन मोर्गानले ३४ रन बनाए । आन्द्रे रुसेलले २४ रन जोड्दा नीतिष रानाले २२ तथा सुनिल नारिनेले १५ बनाए ।
प्याट कुमिन्सले १२ रन बनाउँदा कमलेश नगरकोटीले ८ रन जोडे ।
बलिङतर्फ जोफ्रा अर्चरले दुई विकेट लिँदा अंकित राजपुत, जयदेव उनादकात, टोम कुरान र राहुल टेवाटियाले समान एक–एक विकेट लिए ।
जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा उक्लिएको छ ।