मधेसी मोर्चाले भन्यो भिम रावललाई कारवाही होस
Tuesday, January 17th, 2017, 3:52 am
amit
काठमाडौं– मधेसी मोर्चाले एमाले उपाध्यक्ष भीम रावलमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
पुस २१ मा राष्ट्रपतिको आहृवानमा बसेको पाँच दलको बैठकमा पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले मधेसमा गुरिल्ला तालिम हुन लागेको रिपोर्टिङ गरेका थिए । यसका लागि भारतमा भारतीय नेता, सशस्त्र समूह र मधेसी मोर्चाका नेताहरुको बैठक बसेको दाबी गर्दै उनले प्रधानमन्त्री कार्यालय बालुवाटारमा तीन पन्ने डकुमेन्ट समेत बुझाएका थिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसहितको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको दाबी जानकारी गराउनुका साथै यो सुरक्षा निकायसँग बुझ्दा त्यो झुटो प्रचार मात्र पुष्टि भएको बताएका थिए ।सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले भनेको छ, ‘राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा कथित केही राष्ट्रवादी भनौदा दलहरुले मधेसी मोर्चा र मधेसवादी शक्तिहरुविरुद्ध गरिएको षड्यन्त्र निन्दनीय छ ।’
उनले अघि भनेको छ, ‘झुटो सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं ।’
मधेसी मोर्चाको औपचारिक विज्ञप्तिमा रावलको नाम नलेखिएको भएपनि नेताहरुले आफूहरुको माग रावललाई कारबाही गर्नु पर्ने भएको रामसपाका महासचिव केशव झाले बताए ।
रावलले पुस २१ गते राष्ट्रपति कार्यालयमा भएको प्रमुख दलहरुको बैठकमा मधेसी दलले मधेसलाई टुक्राउन खोजेको भन्दै राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए ।
सोहि ब्रिफिङको विरोध गर्दै मोर्चाको सोमबार बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिको बुँदा नम्बर २ मा भनिएको छ,‘ राष्ट्रपतिजस्तो गरिमामय स्थानमा तथाकथित केही राष्ट्रवादी भनिने दलहरुले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत मधेसवादी शक्तिहरुविरुद्ध गरिएका षड्यन्त्र निन्दनीय छ । झूटा सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं ।