रोनाल्डोले पुराना प्रतिद्वन्द्वी मेस्सीविरुद्ध खेल्न पाउलान् ?
Thursday, October 22nd, 2020, 10:54 am
amit
६ कात्तिक, काठमाडाैं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आफ्ना खास प्रतिद्वन्द्वी लियोनल मेस्सीविरुद्ध खेल्नेमा शंका उत्पन्न भएको छ । अक्टोबर १३ मा कोरोना संक्रमण पुष्टि भएका उनी संक्रमणमुक्त हुनेक्रममा छन् ।
इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोलाई अन्तर्राष्ट्रिय ड्युटीमा रहेका बेला कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि ३५ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनासँगको खेल खेल्नेमा शंका उत्पन्न भएको हो ।
युभेन्टसले बार्सिलोनासँग च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । आगामी बुधबार हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ । उनी सो खेलका लागि मैदान उत्रिने सम्भावना कमै छ । तर, युभेन्टस भने उनी मैदान फर्किनेमा आशावादी छ ।
उक्त खेलमा उपस्थित हुनका लागि रोनाल्डोलाई २८ अक्टोबरभन्दा एक साता अगाडि नै कोरोना संक्रमणमुक्त हुनुपर्छ । अर्थात्, २१ अक्टोबरसम्ममा उनी संक्रमणमुक्त भएको हुनुपर्थ्यो ।
किनकि, यूईएफए र इटालियन स्वाथ्य मापदण्डअनुसार कोरोनामुक्त भएको एक साता क्वारेन्टाइन बसेपछि मात्र खेलाडीले खेल खेल्न पाउनेछन् । रोनाल्डोले शुक्रबारसम्म सेल्फ–आइसोलेशनमा बस्नुपर्नेछ । तर, उनको रिपोर्ट अझै नेगेटिभ आएको छैन ।