कान्तिपुर हाफ म्याराथन जित्नेलाई ५० हजार र स्कुटर
Tuesday, January 31st, 2017, 7:40 pm
amit
कान्तिपुर हिरो हाफ म्याराथको सातौ संस्करण आगामी फागुन ७ गते आयोजना हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सको बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष आयोजना हुदै आएको प्रतियोगितामा महिला र पुरुषका स्पर्धा यसपटक पनि समावेश छन । प्रतियोगितामा ३ किलो मिटरको व्हिल चेयर दौड र कर्पोरेट मिडियाको ५ किलो मिटर दौडपनि समावेश गरिएको छ । प्रतियोगितामा सहभागी हुन कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कमा रहेको कार्यालयमा फागुन १ गते सम्म नाम दर्ता गर्न सकिने आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । हाफ म्याराथनको पुरुष महिला स्पर्धाका शीर्ष ६ खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले समान ५० हजार रुपैया सहित हिरो ड्यास स्कुटर प्राप्त गर्नेछन । उपविजेताले ३० हजार, तेस्रोले २०, चौथोले १०, पाचौले ५ र छैटौले ३ हजार रुपैया र शिखर सुजको गिफ्ट ह्यामपर पुरस्कार पाउनेछन ।
यसअघिका संस्करणमा तीनकुनेबाट सूरु हुने दौडको रुट परिवर्तन गरि थापाथलीमा सारिएको छ । कान्तिपुर पब्लिकेशनको कार्यालयबाट सूरु हुने दौड माइतीघर, बानेश्वर, काटेश्वर, सानोठिमी, भक्तपुरको सल्लाघारी चोक हुदै कटुन्जेमा पुगेर फर्कनेछ । कटुन्जेबाट सल्लाघारी चोक, थिमी, गट्ठाघर, तीनकुने, बबरमहल हुदै सेन्ट्रल विजेनस आएर सकिनेछ ।
यस्तै, व्हिल चेयरको महिला पुरुष स्पर्धाको विजेताले समान २० हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार प्राप्त गर्नेछन । कोर्पोरेट तर्फको महिला पुरुष स्पर्धाका विजेताले काठमाण्डौ हङकङ काठमाण्डौको हवाई टिकट, दोस्रोले काठमाण्डौ पोखरा काठमाण्डौको र तेस्रो हुनेले माउन्टेन फ्लाईटको टिकट प्राप्त गर्नेछन ।
प्रतियोगिताको अर्को संस्करणलाई दक्षिण एसियाली स्तरमा लैजाने कान्तिपुर मिडिया ग्रूपका सहायक महाप्रबन्धक महेश स्वारले जानकारी दिनुभयो ।