अलपत्र ‘चक्रपथ’बारे के भन्छन् सरोकारवाला ?
Monday, August 23rd, 2021, 2:23 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर २० मनिकापुर(राँझा)देखि सिक्टा सिचाईं आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखी जानकी गाउँपालिकाको ईन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी तयार गरिएको योजना हो नेपालगन्ज चक्रपथ । सर्वेका क्रममा चक्रपथ कुल २३ दशमलव ८ सय ६० किलोमिटर लामो हुने बताइएको थियो ।
नेपालगन्ज सहरको लागि महत्वाकांक्षी योजना मानिएको उक्त योजनाका लागि तीन वर्षमा १३ करोड २४ लाख ९० हजार भन्दा बढी बजेट पनि आएको थियो । अर्बौं लगानी लाग्ने योजनामा आएको उक्त बजेट एकदमै कम भएपनि खर्च नै गरिएन । ‘कुमुद बोध मार्ग’ अर्थात नेपालगन्ज चक्रपथ योजनाका नाममा संघीय सरकारले आर्थिक वर्ष २०७२-७३ देखि २०७४-७५ सम्म लगातार बजेट विनियोजन भएपनि त्यसपछि बजेट छुट्याउन छोडिएको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । बजेट खर्च नहुनुका पछाडि सर्वे सिक्टा नहर क्षेत्रमा गरिनु, जग्गा अधिग्रहणको काम जटिल हुनु, र राजनीतिक उदासिनता मुख्य कारण रहेको कार्यलयले जनाएको छ ।
चक्रपथका लागि आएको थियो १३ करोड बजेट | KalpristhaNews.com
०७४ सालमा निर्वाचनको बेला नेपालगन्जका अधिकांश उम्मेदवारले चक्रपथ निर्माणको योजनालाई आफ्नो मुख्य विकासको एजेण्डाका रुपमा प्रस्तुत गरेका थिए । नेपालगन्जवासीहरु अहिलेपनि रिङरोडलाई आफ्नो एक विकासको सपनाको रुपमा हेर्छन् । तर, हाल आएर उक्त योजना अलपत्र छ ।
नेपालगन्ज ‘रिङरोड’ पुनः चर्चामा | KalpristhaNews.com
कालपृष्ठले उक्त योजनाका विषयमा धारणा जान्न गरेको कुराकानी गरेको थियो ।
त्यसक्रममा प्रतिनिधिसभा सदस्य, पूर्व सहरी विकास मन्त्री तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मो. इश्तियाक राईले नेपालगन्ज उप-महानगरपालिकाको समन्वयकारी भूमिकाको अभावमा योजना असफल बनेको बताए । तर, उनले रिङरोड निर्माणतिरै भन्दा पनि नेपालगन्ज आसपासमा नयाँ सहरी क्षेत्रहरु निर्माण गर्नतिर ध्यान दिनुपर्ने राय व्यक्त गरे ।
नेकपा एमालेका नेता रत्न खत्रीले यसअघिको सर्वेमै त्रुटि देखिएकोले पुनः सर्वे गरेर र चक्रपथको कभरेज क्षेत्र बढाएर योजना पुनः सुचारु गरिनुपर्ने । बजेट आएर पनि काम नहुनु र योजना नै असफल हुनुले नेपालगन्जको विकासको गतिलाई पर धकेलेको उनको धारणा छ ।
नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले योजनालाई राजनीतिक पूर्वाग्रहपूर्वक अलपत्र पारिएको बताए । उनले नेपालगन्जको दीर्घकालीन विकासका लागि योजना अघि बढाइनुपर्ने धारणा राखे ।
नेपालगन्ज उप-महानगरपालिकाका उपमेयर उमा थापामगर पनि योजना अलपत्र पर्नुमा राजनीतिक दलहरु नै दोषी रहेको बताउँछिन् । अब योजनाका कमजोरी र अपठ्याराहरु पत्ता लगाएर पुनः अघि बढाउनुपर्नेमा थापाको जोड छ । उनले योजना अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा राखिसकेकी छन् ।
नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा. धवलशमशेर राणा भने आयोजनाको सर्वे र लागत नै बढी भएकोले योजना संभव रहनेको बताउँछन् ।
मो. इश्तियाक राई
प्रतिनिधि सभा सदस्य, बाँके क्षेत्र नं. २
नेपालगन्ज चक्रपथ योजना एउटा ठूलो र महत्वाकांक्षी योजना हो । यो योजना सानोतिनो बजेट र मिहिनतले सम्पन्न हुने योजना होइन । यसका लागि अर्बौंको लगानी आवश्यक हुन्छ । योजनाका लागि चाहिने जमिन अधिग्रहणका लागि उप-महानगरपालिकाले समन्वयकारी भूमिका खेल्न सक्नुपथ्र्यो । अर्कोतिर योजनाको सर्वे नै जहाँ सिक्टा नहर छ त्यहीँ गरियो । यदि यी समस्या समाधान गर्ने र ठूलो बजेटको व्यवस्था गर्न सक्ने हो भने यो योजनाबारे सोचौँ । तर, मैले त सुरुदेखि नै भन्दै आएको छु कि नेपालगन्जमा मात्रै जनसंख्या थुपार्नुभन्दा यसभन्दा बाहिर जहाँ सडकको पहुँच पुगेको छ त्यहाँ पनि सहरीकरण गरौँ । अहिले नेपालगन्जसँग लिंक भएर हुलाकी सडकदेखि थुप्रै सडकहरु निर्माण भएका छन् । ती सडक आसपासमा सहर बसाउन सकिने संभावनातिर ध्यान दिऔँ ।
रत्न खत्री
नेता, नेकपा एमाले, बाँके
नेपालगन्जको सर्वाङ्गीण विकासका लागि महत्वपूणर् नेपालगन्ज रिङरोड योजना सुरु भएर बिचमै अलपत्र पर्नु दुःखद कुरा हो । यस्तै कारणले नेपालगन्जको विकास पछि परेको छ । यसभन्दा पछिका सहरहरुभन्दा यहाँको विकासको गति सुस्त छ । यो योजना नेपालगन्जको भविष्यका लागि अति आवश्यक योजना हो । अर्कोतिर यसको सर्वे नैसही तरिकाले गरिएन कि भन्ने मलाई लागेको छ । जहाँ सिक्टा नहर छ त्यहीँ सर्वे गरिएको रहेछ । अब यस योजनालाई साँच्चै सफल पार्ने हो भने अलि ठूलो क्षेत्रमा सर्वे गरेर र चक्रपथको कभरेज क्षेत्र बढाएर योजना पुनः सुचारु गरिनुपर्छ । यस आसपासका स्थानीय तहलाई पनि जोड्नुपर्छ । बजेटको व्यवस्था त निरन्तर हुँदै जाने कुरा हो ।
तप्त पौडेल
सचिव, नेपाली कोङ्ग्रेस, बाँके
नेपाल सरकारको रातो किताबमा परिसकेको योजना, जसमा तीन वर्षसम्म बजेट पनि आयो । तर बजेट खर्च गरिएन । अहिले योजना अलपत्र परेको छ । म एक आम नागरिक र नेपालगजवासी भएर हेर्दा यो एकदमै दुःखद कुरा हो । तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परिकल्पनामा सुरु भएको योजना अहिले राजनीनितक पूर्वाग्रहले अलपत्र पारिएको मलाई लाग्छ । नेपालगन्जको दीर्घकालीन विकासका लागि चक्रपथ अति आवश्यक भएकोमा दुईमत छैन होला । अब सरकारले यस योजनालाई पुनः अघि बढाउनुपर्छ । यसमा देखिएका बाधा अड्चनहरु हटाउन सबै पक्षले सहकार्य गर्नुपर्छ ।
उमा थापामगर
उपमेयर, नेपालगन्ज उप-महानगरपालिका
नेपालगन्ज चक्रपथ नेपालगन्जका लागि बहुप्रतिक्षित योजना हो । यस योजनालाई केही वर्ष बजेट पनि विनियोजित भयो । तर खर्च गरिएन । अब यस योजनालाई अघि बढाउनुपर्छ भनेर मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरेकी छु । पक्कै पनि योजना कार्यान्वयनमा जटिलताहरु छन् । तर ती जटिलताकै कारण महत्वपूणर् योजना अलपत्र पार्न हुँदैन । आवश्यक परेमा नयाँ सर्वे गरेर भएपनि चक्रपथ निर्माण योजना अघि बढाउनुपर्छ भन्ने मेरो भनाइ छ ।
डा. धवल शमशेर राणा
मेयर, नेपालगन्ज उप-महानगरपालिका
मैले यस योजनालाई सफल पार्न भरमग्दुर प्रयास गरेको हुँ । आफै फिल्डमा खटिएर चक्रपथ निर्माण हुर्ने क्षेत्रका स्थानीय र सरोकारवाला निकायसँग समन्वय पनि गरेको हुँ । तर यसमा मुख्य दुई बाधाहरु देखिए । पहिलो त यसको सर्वे नै सिक्टा नहरको क्षेत्रमा पर्नेगरी गरिएको रहेछ । सिक्टाले जग्गा दिन मानेन । दोस्रो अरु क्षेत्रमा पनि ठूलो रकम मुआब्जाका लागि चाहिने देखियो । त्यसकारण अब त्यो योजना संभव छैन भनेर मैले भनेको हुँ ।
कृष्णप्रसाद श्रेष्ठ
संयोजक, विकासका लागि नागरिक सरोकार समिति, बाँके
नेपालगन्जका सबै जनप्रतिनिधिले चुनावका बेला चक्रपथ योजना पूरा गर्ने बताउनुभएको थियो । यो योजना नेपालगन्जका जनताको सपना हो । यसलाई त्यसै अलपत्र पार्न पाइँदैन । चक्रपथले नेपालगन्जको आर्थिक र यातायात व्यवस्थापनका साथै नेपालगन्जको विकासमा आमूल परिवर्तन गर्ने सामथ्र्य राख्छ । तर यस योजनालाई राजनीतिक दृष्टिकोणले हेरियो । जनप्रतिनिधिहरुले यस योजनालाई अघि बढाउन इच्छाशक्ति नै देखाएनन् । अप्ठ्यारो त कहाँ हुँदैन ? अप्ठ्यारोको बाहनामा सजिला योजनाहरु मात्रै सम्पन्न गरेर महत्वपूणर् योजनाहरुलाई वेवास्ता गर्न मिल्दैन ।
कमानसिंह बोहरा
सहप्राध्यापक, महेन्द्र बहुमूखि क्याम्पस
नेपालगन्जको दीगो विकास र सहरीकरणका लागि चक्रपथ अत्यावश्यक भइसकेको छ । नेपालगन्जको सुर्खेत रोडबाहेक अरु कुनैपनि चौडा सडक नेपालगन्जमा छैन । भित्री सडकहरुमा अहिले नै गाडीको चाप थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । यस्तो अवस्थामा सुरु भइसकेको योजनालाई नै अलपत्र पारिनु दुःखद कुरा हो ।