दिवंगत छोराको नाममा पिताले गरे अक्षयकोष स्थापना
Tuesday, December 28th, 2021, 4:07 pm
Kalpristha
नेपालगन्जमा एक पिताले आफ्ना दिवंगत छोराको नाममा अक्षयकोष स्थापना गरेका छन् । अल्पायुमै निधन भएका गौरव साहका पिता नेपालगन्ज-४ निवासी प्रदीप शाहले छोराले नै स्थापना गरेको सामाजिक संस्थाका नाममा सात लाखको अक्षयकोष स्थापना गरेका हुन् । २०७८ साल असार २ गते २३ वर्षकै उमेरमा दिवंगत भएका गौरव एक उर्जावान युवा थिए ।
उनले ॅगौरव फाउन्डेशन एण्ड बि योरसेल्फ’ नामको संस्था गठन गरी विभिन्न सामाजिक सेवा एवं जनचेतनामूलक काम गर्दै आएका थिए । तर अचानक गौरवको देहावसान भएपछि शोकलाई शक्तिमा बदल्न र छोराप्रति श्रद्धान्जली व्यक्त गर्न आफूले अक्षयकोष स्थापना गरेको प्रदीपले बताए ।
कार्यक्रममा बोल्दाबोल्दै भावविह्वल भएका प्रदीपले शिक्षाको अवसरबाट बन्चित बालबालिकालाई उक्त कोषबाट प्राप्त ब्याजले सहयोग गर्ने लक्ष्य राखिएको बताए ।
‘गौरव फाउन्डेशन एण्ड बि योर सेल्फ’का अध्यक्ष अनुपमा चौधरीको अध्यक्षतामा सम्पन्न कोष घोषणा कार्यक्रममा दानवीर तथा समाजसेवी माधवराम वर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अक्षयकोष स्थापनाकर्ता एवं संस्थाका संरक्षक शाहले ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
समाजसेवी माधवराम वर्माले उक्त कार्यक्रममा सो संस्थालाई २५ हजार रुपैया आर्थिक सहयोगको समेत घोषणा गरे । यसैगरी औषधी व्यवसायी संघ बाँके जिल्लाका महासचिव जीवन शर्माले पनि संस्थालाई २५ हजार, साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूले २१ हजार रुपैयाँ हस्तान्तरण गरे ।
गौरवले २०७७ साल कात्तिकमा स्थापना गरेको संस्थाले उनी रहँदा र देशावसानपश्चात विपन्नलाई खाना र फलफुल वितरणका साथै रक्तदान, सरसफाई, जनचेतनामूल कार्यक्रम, वृक्षारोपण, मास्क बितरण, प्याड वितरण लगायत विभिन्न २० वटा गतिविधि गरिसकेको उपाध्यक्ष प्रेक्षा केसीले जानकारी दिइन् ।