कहिले सुर्धेला भेरी अस्पतालको सेवा ?
Monday, November 7th, 2022, 3:02 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज : डुडुवा गाँउपालिका वडा नम्बर २ बेतहनीकी १२ बर्षीय बसन्ती तेली छटपटाईरहेको थिईन् । संगै रहेका उनका हजुरवुवाले उनलाई शान्त गराउने कोसिस गर्दै थिए । आफ्नी नातिनीको उपचार गर्न खाना नखाई आएका बसन्तीका हजुरबुवा घरि छेउमा रहेको पानीको बोत्तल हेर्थे भने घरि टिफिन हालेर ल्याएको झोला हेर्दै थिए । कतिखेर नातिनीको उपचार होला र खाना खाउँला भन्ने भाव उनको मुहारमा प्रष्टै देखिन्थ्यो । तर, समयमा कर्मचारी नआँउदा उनि आफै असमन्जसमा परेका थिए । नातिनिको पिडाले उनको मनलाई दिएको अशान्ति पनि उनको अनुहारमा प्रष्ट देखिन्थ्यो ।
यो दृश्य भेरी अस्पतालमा रहेको सिटि स्क्यान गर्ने ठाँउको दृष्य हो । त्यहाँ कोही रिपोर्ट पर्खनेहरू थिए भने कोहि सिटी स्क्यान गर्ने कर्मचारीलाई पर्खीरहेका थिए । दिउसो १२ः३० को समयमा पनि त्यहाँ १ जना हेल्पर बाहेक अरू कोहि देखिएका थिएनन् । हेल्परले फोन गरेको आधा घण्टापछि मात्रै सिटि स्क्यान गर्ने कर्मचारी त्यहाँ आईपुगे । सिटि स्क्यान गर्नुपर्ने जस्तो गम्भिर कुरालाई समेत त्यहाँका कर्मचारीले हलुका रूपमा लिएको सोहि दृष्यबाट देख्न सकिन्थ्यो । अस्पतालको यो व्यवहारले सेवाग्राही मर्कामा परिरहेका छन् ।
अस्पतालले विहान १० देखि ३ बजेसम्म सिटी स्क्यान गर्ने बताउँदै आएको छ । तर कालपृष्ठकर्मीसँग उपचार गर्न आएका बिरामीले ११ बजे खुलेर २ बजे सिटी स्क्यान गर्ने शाखा बन्द हुने गरेको बताए । अन्य समयमा ईमरजेन्सी पर्दा कर्मचारीलाई बोलाएर सिटी स्क्यान गर्ने गरेको छ । विरामीले ढिलो सेवा पाउने अवस्थाको सृर्जना कर्मचारीको अभावका कारण भएको बताउँछन् अस्पतालको सिटी स्क्यान गर्ने शाखाका एक कर्मचारी । तर उनले भनेको कुरामा भने आम नागरिकले विश्वास गर्न सक्ने अवस्था छैन ।
सरकारले हरेक वर्ष करोडौं रूपैया लगानी गर्ने अस्पतालले किन अत्यावश्यक पर्ने शाखामा कर्मचारी भर्ना गर्दैन । त्यसको सिधा सम्बन्ध अस्पताल प्रशासन र त्यसबाट फाइदा लिने व्यक्तिहरूसँग जोडिन्छ । अस्पताल भित्र रहेका डाक्टर देखी लिएर प्रशासनका कर्मचारीले कमिसनको लोभमा जाना जान अस्पतालको व्यवस्थापनलाई अस्तव्यस्त पार्ने गरेको आरोप लाग्दै आएको छ । व्यवस्थापनलाई फितलो बनाउँदै फाइदा लिने कर्मचारीकै कारण अस्पतालमा सर्वसाधरणहरूले सहजै रूपमा अस्पतालमा उपलब्ध सेवा नपाउने गरेको अवस्था छ । भेरी अस्पतामा केहि डाक्टरहरू यस क्षेत्रकै उत्कृष्ट क्षमता भएका डाक्टर छन् । तर पनि भेरीले आफनो सेवामा भने सुधार गर्न सकेको छैन ।
अस्पताल भित्र रहेका ल्याबका मेसिनहरूपनि बारम्बार बिग्रने गरिरहन्छन् । जसका कारण अस्पतालमा परिक्षण गर्न मिल्ने कुरा पनि बिरामी बाध्य भएर बाहिर निजि क्लिनीकमा गएर परिक्षण गराउन बाध्य भैरहेका छन् । आखिर किन अस्पतालका ल्याब र अन्य मेसिन बारम्बार किन बिग्री रहन्छन् भन्ने बारेमा कसैले पनि छानबिन गर्दैन। न त्यसको बारेमा सरोकार निकायलाई चासो छ । त्यसको असर जनताले सर्वसुलभ स्वास्थ्य सेवामा परिरहेको छ । यस क्षेत्रका स्थानीयले सधै गर्ने एउटै प्रश्न दोहोरिरहेको छ, त्यो हो कहिले सुर्धेला भेरी अस्पतालको सेवा ?
कर्मचारी अभावकै कारण सेवा प्रवाहमा ढीलासुस्ती भैरहेको अस्पतालको स्विकारोक्ती छ । हाललाई सके २ जना नसके १ जना रेडियोलोजिष्ट अस्पताल विकास समितिले खोजिरहेको अस्पताल विकास समितिका अध्यक्ष सकिल अहमद जसगढले जानकारी दिए । यसै विषयमा अस्पताल विकास समिति र अस्पताल प्रशासन विच छलफल भैरहेको बताउदै अस्पताल विकास समितिका अध्यक्ष जसगढले जनशक्ती अभावले सेवा प्रवाहमा ढीलो चाँडो भएपनि सेवाको प्रभावकारीतामा कुनै हेलचक्याँई सह्य नहुने उनले दावि गरे ।
अस्पतालमा ३ जना रेडियोलोजिष्ट, १ जना हेल्पर र १ जना रेडियोग्राफर गरि ५ जना मात्रै कर्मचारी छन् । दैनिकजसो १२–१५ जना सिटी स्क्यान गर्न आउने गरेका छन् । पश्चिम नेपालको रेफरल अस्पतालको रूपमा रहेको भेरी अस्पताल निम्न वर्गिय परिवारहरूको एकमात्रै आशा हो । यसर्थ, अस्पतालमा आउने सेवाग्राहीको सुलभ र सहज उपचारको व्यवस्थाका निमित्त अस्पताल विकास समिति, अस्पताल प्रशासन, उपचारमा संगग्न चिकित्सक लगायत सम्बद्ध सबै सरोकारवालाहरू यथासिघ्र गम्भिर हुन जरुरी छ ।