१३ जना स्वास्थ्य स्वयंसेविका सम्मानित
Monday, December 5th, 2022, 6:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
नेपालगन्ज उप–महानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सोमबार स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ भने ६० बर्ष उमेर पुगेर अवकाश पाएका दुई जनालाई सम्मानसहित विदाई गरिएको हो ।
सम्मानित हुनेमा शिला घर्ती मगर जिसी, शारदा सिंह ठाकुर, विनिता गोडिया, सकुन्तला नेपाली, सरस्वती बाहुन, रामजानकी काँदु, विन्देश्वरी जैसवाल, सुशिला यादव, किस्मतुल भुजवा, सुनिता राढ र साल्मा बेगम राईलाई सम्मान गरिएको हो ।
यस्तै ६० बर्ष पुगेर अवकाश पाएकी रामप्यारी थापा र सावित्री कहारलाई विदाईसहित सम्मान गरिएको छ । अवकाश पाएका थापा र कहारलाई जनही ७० हजार रुपैयाँसहित विदाई गरिएको छ ।
नगर प्रमुख विष्टले जनताको घर आँगनमै पुगेर सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको जति नै प्रंशसा गरेपनि कम हुने बताए ।
स्वास्थ्य स्वयंसेविकाहरुलाई दिने सेवा सुविधा र सम्मानका लागि नेपालगन्ज उप–महानगरपालिका गम्भीर रहेको बताए । उनले उप–महानगरपालिकाले कार्यदल नै बनाएर स्वास्थ्य स्वयंसेविकाहरुलाई दिन सकिने सेवा सुविधा तथा समस्या समाधानका लागि काम गरिरहेको जानकारी गराउँदै मासिक २५ सय रुपैयाँका दरले पारिश्रमिक दिने गरी बजेट विनियोजन भइसकेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका कोषकी अध्यक्ष नारायणी रुपाखेतीले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।
सम्मान कार्यक्रम अघि विहान नेपालगञ्जमा र्याली समेत निकालिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा १६८ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।