पुजा शर्मा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Thursday, November 26th, 2026, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० मंसिर
नेपाली कांग्रेस देउवा पक्षको आसन्न १५ औं महाधिवेशनमा बाँकेबाट युवा(जेनजी)नेतृ पुजा शर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । देउवा पक्षले आगामी मंसिर २१ देखी २३ गतेसम्म काठमाडौंमा आफ्नो नियमित १५ औं महाधिवेशन गर्दैछ । महाधिवेशनको लागि वडादेखी प्रदेश तहसम्म पदाधिकारी निर्वाचित गरिसकेको देउवा पक्षको तर्फबाट बाँकेकी युवा नेतृ पुजाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् ।
‘आगामी केन्द्रीय महाधिवेशनमा युवा(जेनजी)क्लष्टरबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु, मलाई आशा एवम विश्वास छ, देशभरका सबै महाधिवेशन प्रतिनिधि ज्यूहरुले मलाई निर्वाचित गराउनु हुनेछ,’ उनले भनिन् ।
२०६२ सालमा रोल्पामा जन्मिएकी पुजा केही वर्षदेखी बाँकेको क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बस्दै आएकी छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको सचिव(महिला)को जिम्मेवारी निभाईसकेकी उनी नेपाली कांग्रेस देउवा पक्षको युवा(जेनजी) क्लष्टरबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् ।
आफु केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टीको राजनीतिमा थप सक्रिय भएर लाग्ने उनले प्रतिवद्धता जनाएकी छन् ।