कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा शेरबहादुर, शेखर र गगन
Tuesday, December 20th, 2022, 8:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ५ पुष
नेपाली कांग्रेसले भोली बुधबार संसदीय दलको नेता चयन गर्दैछ । कांग्रेसले बुधबार बिहान ८ देखि १० बजे सम्म चुनाव मार्फत संसदीय दलको नेता चुन्न लागेको हो । गत मंसिर ४ गते सम्म निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ८९ सांसद जितेको थियो । संसदीय दलको नेताको दौडमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला छन् । गत सोमबार ३ वटा दलले नेता चयन गरेका गरिसकेका छन् ।
सर्वसम्मत रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने, जनमत पार्टीले डा. सिके राउत र एकीकृत समाजवादीले माधव कुमार नेपाललाई संसदीय दलको नेताको रुपमा चयन गरेको छ । प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन् । जनमत पार्टीमा प्रतिनिधि सभामा ६ जना सांसद छन । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी पहिलो पटक संसदमा सहभागि हुँदैछन् ।
नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सांसद जितेको छ । नेकपा एमालेले पनि दल नेता चयन गर्न बाँकी छ। एमालेले सम्भवत सर्वसम्मत रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई नै दल नेता चयन गर्नेछ । साथै जसपामा अध्यक्ष उपेन्द्र यादव सांसद नभएकोले अशोक राई दल नेता हुन सक्ने सम्भावना छ। लोसपामा अध्यक्ष महन्थ ठाकुर नै दल नेता हुने सम्भावना देखिएको छ।
१४ सांसद भएको राप्रपाले पनि दल नेता चयन गरिसकेको छैन। राप्रपाले सर्वसम्मत रूपमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै दल नेता चयन गर्ने सम्भावना छ ।