राष्ट्रपतिमा कांग्रेसको दाबी हो : प्रवक्ता डा. महत
Friday, January 27th, 2023, 11:24 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ माघ
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले सरकारमा जानका लागि वर्तमान सरकारलाई समर्थन नगरिएको प्रष्ट्याएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले गुण र दोषका आधारमा काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । उनले भने, ‘सरकारलाई समर्थन गरेपनि हामीहरु सरकारमा जाने होइन ।’ उनले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पारे । पार्टीले उपयुक्त समयमा नै यसबारेमा आवश्यक निर्णय गर्ने उनको भनाई छ ।
संसदको मर्यादाभित्र रहेर काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने डा. महतले बताए । ‘हाम्रो पार्टीलाई पनि यसै बीचमा मजबुद गरेर जान्छौं, यसलाई एकतावद्ध बनाएर लैजाने, समग्र पार्टीको संरचनालाई पूर्णता दिने, त्यो काममा पनि हामी अहिले गृहकार्यमा लागेका छौं, उनले भने ।
प्रतिनिधी सभाका सांसद समेत रहेका डा. महतले सभामुख, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर कांग्रेसले सरकारको समर्थन गरेको बताए ।