राप्तीसोनारीमा योग शिविर सम्पन्न
Monday, February 13th, 2023, 3:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, १ फागुन
बाँकेको राप्तीसोनारी गाउँपालिकामा एक हप्ते योग शिविर कार्यक्रम सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा भएको योग शिविर माघको २३ गते देखि सुरु भएको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मदुई स्थित लक्ष्मी माविमा भएको शिविरमा ८५ जनाको सहभागिता रहेको थियो । जसमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरु सहभागी थिए ।
योग मार्फत नागरिकको स्वास्थ्यमा सुधार गर्ने उद्देश्य सहित गरिएको योग शिविरको उद्घाटन राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले गरेका थिए । आइतबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दिर्घ बहादुर बुढा क्षेत्रीले शिविरको समापन गरे । कार्यक्रममा लक्ष्मी मावि प्रअ लक्ष्मण आचार्यको सहभागिता रहेको थियो ।
सात दिन सम्म बिहान ५ देखि ७ बजे सम्म चलेको योग शिविरका सहभागिलाई रोग र समस्या अनुसारको योग र आसनहरुको बारेमा ज्ञान प्रदान गरिएको राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र प्रमुख अन्जना थारुले बताईन् ।उनले भनिन,‘हामीले विशेष गरी विद्यार्थीहरुमा देखा पर्ने समस्या, रोगहरु कम गर्ने उपायहरुसँगै सुगर, थाईराइड, नसा च्याप्एिने समस्या जस्ता अन्य थुप्रै रोग र समस्याहरुलाई कम गर्ने आसन र ज्ञानहरु प्रदान गरेका थियौं ।’
शिविरमा विद्यार्थीहरुको उचाई बढाउने तरिका, स्मरण शंक्ति बढाउने जस्ता विषयमा पनि सिकाईएको थारुले बताईन । शिविरका सहभागिहरुलाई कोहलपुर आयुर्वेद औषधालयका कविराज निरिक्षक योग गुरु गौरी शंकर मण्डल, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनाल र अन्जना थारुले प्रशिक्षण दिएका थिए ।
राप्तीसोनारी नागरिक आरोग्य सेवा केन्द्रले वार्षिक रुपमा योग शिविरसँगै जेष्ठ नागरिकलाई निःशुल्क औषधी वितरण, स्वास्थ्य परिक्षण, सुत्केरी आमालाई निःशुल्क औषधी वितरण लगायतका अन्य विविध कार्यक्रम गर्ने गरेको सेवा केन्द्रकी प्रमुख अन्जना थारुले बताईन् ।