नेपालको लगातार तेस्रो जित
Saturday, February 18th, 2023, 6:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ६ फागुन
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए ।। ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६२ रनको अर्धशतक प्रहार गरेका थिए । ९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे ।
पूर्व कप्तान मल्ल तथा ओपनर शेखबीचको यस साझेदारी नेपालको एकदिवसीय अन्तराष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो । मल्ल र शेखबीच दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।
कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । सोमपाल कामी ८ रनमा अविजित रहदा कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरीले १÷१ रन जोडे । सन्दीप जोराले ३ रन जोड्दा गुलशन झा सुन्य रनमा अविजित रहे ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ३ र बेर्नाड स्कोट्जले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकी या फ्रान्सले ४९ रन बनाए । रुबेन ट्रम्पेलम्यानले अविजित २४ रन बनाए ।
लो–हान्ड्रे लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५÷१५ रन बनाए । नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यससँगै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।