सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न कांग्रेस बाँकेको अपिल
Monday, October 2nd, 2023, 6:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ । सभापति नारायणप्रसाद गौडेलले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न धर्मका धार्मिक गुरुहरु, राजनीतिक दल र समग्र नागरिक समाजलाई शान्ति र सहिष्णुता कायम राख्न आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका र योगदानका लागि आग्रह गरेका छन् । उनले सबै धार्मिक आस्थाप्रति सबैको समानुभूति हुने गरी सद्भाव कायम राख्न सबैमा आह्वान गरेका छन् ।
उनले भनेका छन, ‘नेपालगञ्ज सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुताको नमुना सहर हो । सामाजिक एवम् धार्मिक विविधताभित्र देखिएको अभूतपूर्व एकता यहाँको विशेषता हो । हरेक धार्मिक सम्प्रदाय, जातजाती, भाषाभाषी, बर्ण, लिंग र समुदायको रंगिन फूलबारीरुपी नेपालगञ्जको शान्त तलाउमा ढुंगा हानेर धार्मिक र जातीय विद्वेष फैलाउने कुचेष्टाका विरुद्ध नेपालगञ्जको अभूतपूर्व एकता फेरि हिमालझै अटल भएर उभिन जरुरी छ । कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खलबल्याउने दुष्कोशिसका विरुद्ध एकजुट हुन आवश्यक छ ।’
सभापति गौडेलले कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुरयाउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न अपिल गरेका छन् ।
‘यदि कोही कसैबाट कानुन विपरीतका यस्ता गतिविधि भए सम्बन्धितलाई कानुन बमोजिम कडा कारबाहीका लागि ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।