नेपालगन्जमा कर्फ्यु यथावत, घाईते भएका २१ जना घर फर्किए
Wednesday, October 4th, 2023, 3:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
नेपालगन्जमा भएको दुई समुहको झडपमा घाईते भएका २१ जना सामान्य उपचार पछि घर फर्किएका छन् । घाईते भएका एक जनाको भेरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
नेपालगन्जमा साम्प्रदायिक द्धन्द्ध हुन सक्ने खतरा बढेपछि स्थानीय प्रशासनले नेपालगन्ज उप–महानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाएको छ । जसलाई अहिले सम्म यथावतनै राखिएको छ ।
मंगलबार दुई समुहबिच झडप हुँदा १७ जना सर्वसाधारण र ५ जना सुरक्षाकर्मी गरी २२ जना घाईते भएका थिए ।
यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सदभावमा खलल पुग्नेगरी सामाजिक संजाल तथा अन्य कुनै पनि माध्यममा प्रचार प्रसार नगर्न अनुरोध गरेको छ ।
धार्मिक आस्था र समुदायप्रति लक्षित गरेर कसैले सामाजिक संजालमा राखेको पाईएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
साहनीले बुधबार विज्ञप्ती जारी गर्दै सदभावको सहरको रुपमा परिचित नेपालगन्जको गरिमालाई कायम राख्न समस्त राजनितिक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, संचारकर्मी लगायत आम नागरिकले आ–आफनो क्षेत्रबाट शान्ति स्थापनामा सहयोग गर्न अनुरोध गरेका छन् ।