इन्जिनियर रानाभाटलाई तीन करोड भ्रष्टाचार गरेको आरोप
Wednesday, October 4th, 2023, 5:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
भ्रष्टाचारको आरोपमा इन्जिनियर रामबहादुर रानाभाट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालले मुद्दा दायर गरेको छ ।
दाङ लमहीस्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटले तीन करोड भन्दा सरकारी रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उनले तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा अख्तियारले रानाभाटसँग तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ बिगो दाबी गरेको छ ।
रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानमा उनले २०४६ असार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको अवधिमा स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रानाभाटले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती राधा रानाभाटसमेतको नाममा राखेको भेटिएपछि अख्तियारले राधालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।