सिक्टा सिंचाईबारे सबै तहका नेताले ध्यान दिनु पर्छः वाल्मिकी
Thursday, October 19th, 2023, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ कात्तिक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले सिक्टा सिंचाई आयोजना बाँके जिल्लाको लागि वरदान साबित हुने बताए । व्यवस्थापनको कमजोरीका कारण समयमै आयोजना सम्पन्न नहुँदा यस कृषि क्षेत्रमा धेरै घाटा भैरहेको बताउँदैं केन्द्रीय सदस्य वाल्मिकीले यसमा सबै तहका नेताले ध्यान दिनु पर्ने बताए ।
नेपालगन्जमा बिहिबार विजया दशमी, शुभ दिपावली, छठ, नेपाल सम्वत र गुरु नानक जयन्तीको अवसरमा आयोजना गरिएको शुभकामनामा आदान प्रदान कार्यक्रममा वाल्किमीले उक्त कुरा बताएका हुन् ।
भ्रष्टाचारको कारणले समयमै सम्पन्न हुन नसकेको सिक्टा सिंचाई आयोजनाको बारेमा स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय सासदले विशेष चासो दिएर काम गर्नु पर्ने केन्द्रीय सदस्य वाल्मिकीले बताए । उनले भने,‘सुशिल कोइरालाले सिक्टा सिंचाई आयोजनालाई धेरै महत्वका साथ लिएर काम गर्नु भएको थियो । तर पछिल्लो समय यसमा थुप्रै समस्या देखिए । कृषि क्षेत्र मार्फत युवालाई स्वदेशमा रोक्न सक्ने वातावरण निर्माण गर्न यस्ता आयोजना महत्वपुर्ण हुन्छन ।’
अहिले आर्थिक संकट, अबको शिक्षा निती, आर्थिक निति, युवाहरुको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले नेपाली कांग्रेसले पार्टीको नीति अधिवेशनमा छलफल गर्ने वाल्मिकीले बताए ।
वाल्मिकीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले व्यवस्थापन गरेको थियो । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा केन्द्रीय सदस्य वाल्मिकी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा चौधरी, नेपाली कांग्रेसका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, महासमिति सदस्य लक्ष्मी नारायण शाह लगायत करिब २ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।