किन उप्कियो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’
Monday, August 19th, 2024, 9:19 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ३ भदौ
निर्माण कार्य सम्पन्न भएको एक महिनामै उप्किएको नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’ को बारेमा अध्ययन गर्न उपसमिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले लेख बहादुर क्षेत्रीको संयोजकत्वमा तिन सदस्यीय समिति गठन गरेको छ ।
जसमा राष्ट्रिय खेलकुद परिषद सदस्य लेख बहादुर क्षेत्री संयोजक तथा सदस्यहरुमा खेल विज्ञ एथ्लेटिक्सका प्रशिक्षक चन्द्र बहादुर गुरुङ र परिषदको पुर्वाधार तथा मर्मत शाखाका इन्जिनियर पूर्णबहादुर सुन्दास रहनु भएको छ । आइतबार गठन गरिएको उपसमितिलाई तिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । अध्ययन उपसमितिका संयोजक क्षेत्रीले सोमबार नेपालगन्ज रंगशालाको स्थलगत अध्ययन गरेको बताउनु भयो ।
प्राविधिक टोलीसहितको निरीक्षण र पुर्वाधारको बारेमा प्राविधिक टोलीसँग छलफल गरेपछि प्रतिवेदन तयार पारिने क्षेत्रीले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले स्थलगत अध्ययन गर्दा ट्रयाक उप्किएको देखेका छौं । केहि स्थानमा पानी पनि जमेको छ । निर्माण कार्यमा संलग्न साइट इन्जिनियर र अन्य विज्ञसँग छलफल गरेर पछि मात्रै हामीले के कारणले ट्रयाक उप्किएको हो भन्ने सुझाव दिन सक्छौं ।’

…………
नेपालगन्ज रंगशालामा काठमाडौं कुण्पडोलको पञ्चकन्या–सिन्कोट्स जेभिले निर्माणको ठेक्का पाएको थियो । तर सुरुआत देखि उक्त कम्पनीले निर्माण कार्यमा ढिला सुस्त गरेको थियो । जसका कारण नेपालगन्ज रंगशालामा हुने सबै खालका खेलकुद गतिविधिहरु ठप्प भएका थिए । ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा निर्माणको ठेक्का पाएको पञ्चकन्या–सिन्कोट्स जेभिले काम समयमा गर्न सकेको थिएन ।
सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गर्नु पर्ने भएपनि ठेकेदार कम्पनीले गत असारमात्रै निर्माण कार्य सम्पन्न गरेको थियो । ‘सेन्थेटिक ट्रयाक’ प्रयोगमा नआउँदै उप्किएपछि स्थानीय बासिन्दाहरुले त्यसको बिरोध गर्दै आएका छन् । ठेकेदार कम्पनीलाई कारबाही काम गर्दै गुणस्तरीय संरचना निर्माण गर्न दबाब बढेपछि राष्ट्रिय खेलकुद परिषदले अध्ययन गर्न उपसमिति गठन गरेको हो ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले उप्किएको ‘सेन्थेटिक ट्रयाक’को गुणस्तरबारे छानबिन गर्नुपर्ने माग गर्दै दोषीलाई कारबाही हुनु पर्ने माग गर्नु भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्दले सेन्थेटिक ट्रयाकको बारेमा परिषदलाई जानकारी गराएको बताउँदैं यसको बारेमा अनुसन्धान भैरहेको बताउनु भयो ।