भेरी सहकारीको नाफा १ करोड ६० लाख ९९ हजार
Saturday, December 21st, 2024, 6:40 pm
Kalpristha
भेरी सहकारीको २९औं वार्षिक साधारण सभा सम्पन्न
कमल खत्री
धम्बोझी, पुस ६ गते
बाँकेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको २९औं प्रतिनिधि मुलक वार्षिक साधारण सभा निर्णय एकिकरण एवम् साधारण सभा सम्पन्न भएको छ । भेरी सहकारी वित्तीय संघ लिमिटेडका अध्यक्ष विष्णु प्रसाद मैनालीको अध्यक्षतामा भएको साधारण सभामा सचिव अन्जु शर्माले आर्थिक वर्ष २०८०–०८१ को प्रतिवेदन तथा आर्थिक वर्ष २०८१–०८२ को अनुमानित बजेट तथा भावि कार्यक्रम, कोषाध्यक्ष ज्ञान बहादुर ओलीले आर्थिक वर्ष २०८०– ०८१ को विवरण प्रस्तुत गर्नु भएको थियो ।

……….
साधारणसभामा बोल्दैं अध्यक्ष मैनालीले व्यक्तिगत फाइदा र व्यक्तिगत अपचलनले सहकारीलाई बिर्गाने काम गरेको धारणा राख्नु भयो । उहाँले भन्नु भयो,‘राजनितिक दलका नेताको आडमा सहकारीको रकम दुरुपयोग गरेको कारण सहकारीमा समस्या आएको छ । सहकारीभित्र कुनै पनि राजनिति गर्नु हुँदैन् । जो निस्पक्ष छ, इमानदार छ त्यसलाई मुल्याकन गरेर जिम्मेवारी दिए समस्या आउँदैन् ।’

………….
कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाको निवर्तमान उपमेयर उमा थापाले भेरी सहकारीले बाँकेमा उदाहरणीय काम गरेर सेयर सदस्यको विश्वास जित्ने काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘सहकारीमा समस्या आउँदा पनि त्यसले भेरी सहकारीलाई असर गरेन् । संस्थामा केहि संकट आउँछन् । तर त्यसलाई सेयर सदस्य, संचालक समिति र कर्मचारीले इमानदार भएर काम गरेर समस्या समाधान हुन्छ । साधारण सभामा राम्रोसँग विभिन्न विषयमा छलफल भएको छ । सेयर सदस्यको यो चिन्ता र दायित्वले सहकारीलाई थप बलियो बनाउँदै लग्छ ।’
४ हजार सेयर सदस्य रहेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ मा १ करोड ६० लाख ९९ हजार रुपैयाँ नाफा गरेको छ । कोषाध्यक्ष ओलीले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा सहकारीको सेयर पुजी २ करोड ८३ लाख २७ हजार, निक्षेप १६ करोड ८१ लाख ४४ हजार छ भने सहकारीले २९ करोड ७८ लाख ७ हजार रुपैयाँ कर्जा लगानीमा खर्च गरेको छ ।
बाँकेको पुरानो सहकारी हो भेरी सहकारी वित्तीय संस्था लिमिटेड । २०५२ साल चैत १ गते स्थापना भएको सहकारीको नेपालगन्जमा मुख्य कार्यालय र कोहलपुरमा सेवा कार्यालय रहेको छ । शनिबार भएको साधारण सभामा अध्यक्ष मैनालीको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०–०८१ को लेखा परिक्षण प्रतिवेदन, लाभाँस वितरण, आर्थिक वर्ष २०८१–०८२ को लेखापरीक्षकको नियुक्त, पारिश्रमिक, संचालक समिति र उप–समितिले गरेका निर्णयहरु अनुमोदन लगायतका विषयमा छलफल भएर निर्णय पारित गरिएको थियो ।
साधारणसभामा जेष्ठ नागरिक जोडी–२०८१ को रुपमा कृष्ण राज उपाध्याय र राधा देवी गौतम, नियमित वचतकर्ताको रुपमा लक्ष्मी सिजापती र जीवलाल चौधरी, असल ऋणीको रुपमा सर्केनी सुनार र गोपाल खत्रीलाई सम्मान गरिएको थियो । सम्मानित सम्पुर्णले जनही ३ हजार १ सय रुपैयाँ प्राप्त गरेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको व्यवस्थापक शोभा गुरुङले बताउनु भयो । साधारणसभामा भेरी सहकारी वित्तीय संस्था लिमिटेडका निवर्तमान अध्यक्ष पदम बहादुर भण्डारी, बसन्त लामिछाने, नेपालगन्ज उप–महानगरपालिकाको निवर्तमान उप–मेयर उमा थापा मगर लगायतले सहकारीले गरेको प्रगतिको बारेमा बताउनु भएको थियो ।