द्वन्द्वले खोसिएका खुसीहरु
Monday, December 23rd, 2024, 4:27 pm
Kalpristha
सिवानी विक
नेपालगन्ज, ८ पुस
नेपालगन्ज-१० की बसन्ता जोशीलाई अहिले पनि २०६१ साउन ६ गतेको त्यो कालो दिनलाई सम्झन मन लाग्दैन । जति नै विर्सन खोजे पनि त्यो दिन भने उहाँको मानसपटलमा घुमीघुमी आइ नै रहन्छ । त्यतिबेला मुलुकमा भएको द्वन्द्वका कारण जोशीमाथि जुन बज्रपात भयो, त्यो कहिल्यै विर्सन नसक्ने एक कालखण्डको रुपमा सधै उहाँको वरिपरी घुमिरहन्छ । ३२ वर्षको कलिलो उमेर आफ्नो श्रीमान गुमाउनुको पीडा कस्तो हुन्छ, उहाँलाई मात्र थाहा छ ।
कुरा २०६१ सालको हो । सधै झैँ उहाँका श्रीमान प्रहरी निरिक्षक दुर्गा दत्त जोशी खाना खाएर नियमिति काममा जाँदै हुनुहुन्थ्यो । उहाँलाई के थाहा, आफ्नो जिम्मेवारीको काम गर्दागर्दै मारिनु पर्ला भन्ने । उहाँको मृत्युले विद्रोही पक्षलाई के फाइदा भयो थाहा छैन तर, वसन्ता र उहाँका ४ छोरीहरुको भने बाँकी जीवन नै अँध्यारो भयो ।
परिवारसँग विदा भएर गएको केही क्षणमै बन्दुक पड्केको आवाज सुनियो । त्यो बेलाको समय पनि राम्रो थिएन । कहिले विद्रोहीहरु मारिएका समाचार सुनिन्थे भने कहिले सुरक्षाकर्मी । नभन्दै आवाज आएतिर दौडिदै जानु भयो । नभन्दै सोच्नै नसक्ने दृश्य पो देखियो । आफ्नै श्रीमान गोली लागेर ढलेको कसरी विश्वास गर्नु । फेरी उहाँले के नै पो गल्ती गर्नु भएको थियो र । २० वर्ष पहिलेको घटनाले अहिले पनि पिरोलीरहन्छ वसन्तालाई । कान्छी छोरी सानै भएकीले बाबुको अनुहार समेत चिन्न पाइनन् । युद्धले दिएको चोट सुनाउँदै बसन्ताले थुप्रै कुरा गर्नु भयो ।
एउटी प्रहरी अधिकृतकी श्रीमतिले एक्कासी आफ्नो श्रीमान गुमाउनु, चारवटी छोरीहरुको लालन पालन गर्ने जिम्मेवारी बोक्नु सजिलो थिएन । आफूलाई सहयोग गर्ने साथिभाई र इष्टमित्र कोहि पनि भएनन् । हाम्रो समाज न हो, एकल महिलालाई हेर्ने बुझाई पनि सकारात्मक थिएन । कुरा काट्ने मानिसको कमी थिएन । तैपनि कसैका कुरा नसुनेर छोरीहरुको पालनपोषण र पढाईमा लाग्नु भयो उहाँ ।
एकल जीवन जीउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा त्यो जीवनमा बाँचेका मानिसलाई मात्र थाहा हुँन्छ । सेतो पहिरनमा बस्नु पर्ने । कतै जाँदा के, कसरी कहाँ, कहिले भन्ने जस्ता अनेकौ प्रश्नको सामना गरिरहनु पर्ने । आफ्नो पीडा एकातिर छ , अनेकौ प्रश्नको उत्तर दिइरहनु पर्ने हैरानीले पनि मानसिक रुपमा निकै कमजोर बनायो उहाँलाई । सम्पूर्ण परिवारको अवस्था यस्तो थियो कि मानसिक रुपमा सबैजनालाई विक्षिप्त बनायो । कहिँ कतै नचिनेका मानिस देख्दा पनि सबैजनालाई डर लाग्ने, अव पनि फेरी नराम्रो घटना हुन्छ कि जस्तो लागिरहने भयो ।
थाहा त थियो । सबै परिवार मानसिक रुपमा नै कमजोर बन्दै गइरहेको छ । तर त्यसको पीडा कसलाई सुनाउने । मनमा जतिसुकै चोट भए पनि सहनुको विकल्प थिएन । यत्तिकैमा एउटा कुरा मनमा आयो । बसेर अनेकौ कुरा मनमा खेलाउनु भन्दा योग अभ्यास गर्ने ठाउँमा गई योगा गर्ने । नभन्दै त्यहाँ जाँदा धेरै मानिससँग चिनजान भएको र केही समयको लागि आफ्ना पीडाहरु भुल्ने गरेको कुरा सुनाउनुहुन्छ उहाँ । योगा गर्ने क्रममा नै उहाँलाई थाहा भयो, आफुजस्तै पीडा र शोकमा डुबेका महिलाहरु अरु पनि रहेछन् । त्यसपछि भने आफूलाई चित्त बुझाउन सजिलो भएको उहाँले सुनाउनु भयो । अझ उहाँ जस्तै युद्धको मारमा परेका महिलाहरु पनि भेटिए । कोही राज्य पक्ष र कोही विद्रोहीबाट एकल हुन पुगेका महिलासँग पनि चिनजान भयो । सबैका कथा उस्तै थिए । सबैका पीडा उस्तै थिए ।
अब त बसन्तालाई पनि हौसला आयो । जे जसरी एकल भए पनि सबैको पीडा एउटै भएकोले मिलेर आफ्नो हक अधिकारको लागि अगाडि बढ्नुपर्छ भन्ने सोच पलायो । नभन्दै युद्धबाट पीडित भएका महिलाहरुको सञ्जाल निर्माण भयो । अव त आफ्ना दुःख सुख विसाउने चौतारी जस्तै बन्न पुग्यो महिला सञ्जाल । बसन्ता पनि क्रमशः साहसी अभियान्ता नै बन्नु भयो । आफू जस्तै एकल भएका महिला दिदी बहिनीलाई भेट्दै र संगठित गर्नमा व्यस्त हुन लाग्नु भयो ।
काम गर्दै जाँदा थाहा भयो, उहाँ भन्दा झन् बढि दुख कष्ट झेलीरहेका महिला पनि रहेछन् । कसैको नागरिकता थिएन । कसैलाई परिवारले नै घरबाट निकालेको हुन्थ्यो । कसैको सहारा नपाएर रुदै बसेका एकल महिलाहरुको कमी थिएन । उहाँले सबैको घाउमा मलम लगाउने प्रयास गर्नु भयो । केही सीप सिकेर बस्न चाहनेलाई सिलाईकटाई, कम्प्युटर जस्ता सीपमूलक कार्यको व्यवस्थामा समेत सहयोग गर्नु भयो । उहाँहरुलाई आत्मनिर्भर बनाउन कोशिस गरिरहनु भयो ।
बसन्ताले सामाजिक क्षेत्रमा गरेको योगदानले निकै चर्चा पाउन लाग्यो । उहाँको सहयोगी बानी कै कारण नेपालगन्ज उप-महानगरपालिकामा २०७४ को महिला सदस्य हुँदै कार्यपालिका सदस्य बन्नु भयो । समाजमा भइरहेका विभिन्न समस्याहरू र महिलाका अधिकारको पक्षमा उहाँ सधैं सक्रिय रहनु भयो । स्थानीय सरकारी संरचनामा रहेर, उहाँले महिलाका हक र अधिकारको रक्षा गर्नको लागि संघर्ष गर्नु भएको थियो । महिला सदस्यको रूपमा, उहाँको आफ्ना अनुभव र ज्ञानलाई प्रयोग गरेर, महिलाहरूको सामाजिक, आर्थिक, अवस्था सुधार्ने काममा व्यस्थ रहनु भयो ।
एकमाया विश्वकर्मा खजुरा गाउँपालिका वडा नंं ३ बाँके निवासी हुनुहुन्छ । द्वन्द्व पीडित तथा एकल महिला संञ्जाल बाँकेको अध्यक्ष, तथा मानव अधिकारका लागि महिला, एकल महिला समुहको केन्द्रिय सचिव हो उहाँ । २०५७ सालको चैत २४ गते राती, तत्कालीन सशस्त्र द्वन्द्वको समयमा दैलेखको नौमुलेमा तत्कालिन द्वन्द्वरत माओवादीले आक्रमण गरे । उक्त घटनामा विद्रोहीहरूले प्रहरी चौकीमा हमला गरिरहेका थिए । सुरक्षाकर्मीहरुले कडा प्रतिरोध गरे ता पनि आक्रमणबाट जोगिन कठिन भयो । यस घटनामा धेरै प्रहरी तथा सुरक्षाकर्मीको मृत्यु भयो । यही घटनाले एकल बनायो एकमायालाई ।
आफ्नो श्रीमानको मृत्यु भएको घटनापछि, एक दिनपछि गणले एकमायालाई जानकारी गराएको थियो । घटनाको बिहान गणमा सन्नाटा छाएको थियो । सामान्यतया प्रहरी जवानहरूले विहान तालिम गर्ने गर्छन्, तर त्यो दिन भने गण एकदम सुन्य थियो । सशस्त्र द्वन्द्वको समयमा, प्रहरी जवानहरूको मृत्युको खबरले पुरै गणलाई शोकमा डुबायो । यस घटनामा गम्भीर रूपमा प्रभावित, गणले एकमायालाई घटना बारे तत्काल जानकारी दिन चाहेन । एकमाया भन्नु हुन्छ, ‘तपाईंको श्रीमान सुरक्षित छन् भनेर मलाई सान्त्वना दिन थाले । मलाई केहि शंका लाग्यो । बारम्बार फोन गर्ने प्रयास गरे । तर श्रीमानसँग सम्पर्क भएन ।’ जब रेडियोबाट उहाँको श्रीमान जीवित नभएको कुरा आयो, एकमाया मुर्छित हुनु भयो । सारा संसार नै अँध्यारो भयो उहाँको लागि । आफ्नो कुरा भन्दा पनि साथमा दुई छोरी थिए । छोरीको भविष्य के हुने होला भन्ने पीरले निकै सताइरह्यो ।
छोरीहरूको भविष्यको चिन्ता र घर परिवारको जिम्मेवारीले उहाँलाई सधैं तनावमा राख्थ्यो । घरभाडामा बस्नुपर्छ, के खाने, कसरी जिउने भन्ने सोचले उहाँलाई थकित बनायो । घरको मुख्य सदस्यलाई गुमाउनु भनेको एकल हुनु मात्र होइन, यसको असर आर्थिक, सामाजिक, पारिवारिक र अन्य थुप्रै क्षेत्रहरूमा पर्छ । अचानक आएको घटनालाई कसैले टार्न सकेन । सबै कुरा अस्त व्यस्त भयो ।
जीवनका कतिपय पाटोमा हामी आफैंसँग र समाजसँग संघर्ष गर्दै जाँदा, साधारण कुरा पनि असाधारण बोझ बन्न पुग्दोहेछ । सेतो रंगको पहिरन प्रायः शुभ र पवित्रताको प्रतीक मानिन्छ, तर समाजले यसलाई एकल महिला वा विधवाको पहिचानको रूपमा देखेको छ । उहाँका अनुसार एक विधवा महिलाले सेतो पहिरन लगाउँदा, सामाजिक दृष्टिकोणबाट विभिन्न प्रश्नहरूको सामना गर्नुपर्छ, जस्तै, तपाईको श्रीमान, सशस्त्र द्वन्द्वमा मारीनु भएको हो? कुन ठाउँमा हुनुहुन्थ्यो? के हुनुहुन्थ्यो ? कसरी मारीनु भयो ? तपाई कति वर्षको हुनुहुन्थ्यो ? यस्ता खाले थुप्रै प्रश्नहरू गर्न आउथे । यस्ता प्रश्नले मानसिक दबाब सिर्जना हुने गरेको उहाँले बताउनु भयो ।
महिलाहरूको पहिरनको स्वतन्त्रता र छनोटमा समाजको हस्तक्षेप उचित छ कि छैन, यो एक महत्वपूर्ण प्रश्न हो । श्रीमानको मृत्युपछि महिलाले के लगाउने र के नगर्ने निर्णय आफैंले गर्नुपर्छ । समाजले यसलाई व्यक्तिगत अधिकारको रूपमा हेर्नु जरुरी छ । महिला र पुरुषबीचको समानता कायम राख्नका लागि सबैले आफ्नो नजर फेरिनु पर्छ ।
विशेषगरी, एकल महिलालाई श्रीङ्गार गर्नु हुदैन भन्ने धारणा बदल्नका लागि चलाइएको अभियानले महिलालाई आफ्नै इष्ट र रंगहरूको छनोट गर्ने स्वतन्त्रता दियो । रातो रङ्ग परिवर्तन अभियानले महिलाहरूलाई चुरा, टिका, माला, र फरक रंगका कपडा लगाउन प्रेरित गर्यो ।
उहाँहरूको पहिरनको छनोट कुनै प्रकारको सामाजिक दबाबमा आधारित हुनु हुँदैन भन्ने कुरा यस अभियालनले दिएको एकमायाले बताउनु भयो । जसका कारण त्यो बेला, अब महिलाका पहिरन बारे सोधपुछ नगर्ने वातावरण सिर्जना भयो । नवरलपरासीको दिदीबैनीहरूले रातो रङ्ग भनेको मायाको चिनो हो भने । श्रीमानले दिएको चिनो हो हामीले लाउन पर्छ भन्ने उत्साहा दिए पछि आफूले पनि लगाएर हिडेको उहाँले बताउनु भयो ।
त्यो अभियानको क्रममा एक ९५ वर्षकी बृद्ध हजुरआमाले आफ्नो बुहारीलाई आफै टिका लागाई दिएको क्षण सम्झनुहुन्छ एकमाया । त्यतिबेला यो अभियानले समाज परिवर्तन गरेको महसुुस उहाँलाई भएको छ । उहाँलाई पनि घरपरिवार, आफन्त, दिदीबैनीलगायतले चुरा, माला, रातो धोती लगायतका समान एकमायालाई परिवारले आफै पहिरीदिएका थिए । एकमाया भन्नु हुन्छ, ‘त्यो दिन कसैलाई पनि नआवस । त्यो घटना नहुन पर्ने थियो भयो । त्यतिबेला श्रीमान संगै मलाई पनि अपहरण गरे, पछि श्रीमान मारिदिए । मर्नु त एकदिन निश्चित थियो, त्यो योजना बद्ध रुपमा विद्रोही पक्षबाट घटाईएको घटना हो । हुन त त्यसपछि धेरै परिवर्तन भएका छन् । तैपनि सामाजिक परिवर्तन फरक किसिमले भएको भए पनि मुन्थ्यो जस्तो लाग्दछ । भाइभाइको बीचमा युद्ध चर्किदा दुवै पक्षलाई ठूलो क्षति भयो जसलाई कहिल्यै पूर्ति गर्न सकिदैन ।’
पछिल्लो समय आफुहरु संगठित भएका महिलाहरूसँग मिलेर, राज्यले बनाएको नीतिका बारेमा सुसूचित गर्ने र त्यसको सही ढंगबाट व्यवस्थापन गर्ने कार्य गरिरहेको उहाँले बताउनु भयो । यसमा महिलाका आर्थिक, पारिवारिक लगायतका मुद्दाहरूको विस्तृत रिपोर्ट तयार गर्दै, उहाँहरूको आवश्यक ज्ञान, सिप र तालिमलाई प्राथमिकतामा राखेर सामाजिक रूपान्तरणको दिशामा काम गर्ने योजना छ ।
महिलाहरूलाई सशक्त बनाउनको लागि आवश्यकतालाई ध्यानमा राखेर विभिन्न तालिम र अभियानहरू सञ्चालन गरेको उहाँले बताउनु भयो । यसले एक महिलाहरूको सामथ्र्य र क्षमता वृद्धिमा योगदान पुर्याउँछ । एकमाया भन्नु हुन्छ, ‘ यसलाई व्यवसायिक क्षेत्रतिर लैजानको लागि नयाँ योजनाहरू बनाउन थालेका छौं । यस अन्तर्गत महिलाहरूलाई स्वरोजगार, उद्यमशीलता र व्यवसाय सञ्चालनको तरिका सिकाउने लक्ष्य लिएका छौं, जसले एक महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउँछ ।’ यसरी, महिलाहरूलाई सशक्त बनाउने हाम्रो अभियान अब व्यवसायिक रूप र स्वरोजगारका अवसरहरूमा केन्द्रित हुँदै अघि बढिरहेको कुरा एकमायाले सुनाउनु भयो ।
नेपालगन्जकी लक्ष्मी सिंहको पीडा अरुको भन्दा फरक छैन । २०६० सालको भदौ २९ गते, द्वन्द्वको समयमा नेपालगन्को चौलिकामा एक घटना घट्यो । लक्ष्मीका श्रीमान् जो सशस्त्र प्रहरीका इन्सपेक्टर हुनुहुन्थ्यो । बिहान ७ बजे घरबाट निस्किनुभएका उहाँ कहिलै फर्किनुभयन । एकाएक दिनको उज्यालोमा उहाँको श्रीमानको हत्या भयो । यो घटनाले लक्ष्मीको जीवनमा गहिरो पीडा र शोकको आगो बल्यो, र उहाँले श्रीमानलाई कहिलै नफर्किने गरी गुमाउनु भयो ।
लक्ष्मीका श्रीमान, बाँके जिल्लाको नामुद सुटर हुनुहुुन्थ्यो । उहाँ सधैं आफ्नो जिम्मेवारीमा अग्रसर हुनुहुुन्थ्यो । निसानामा एक नम्बरमा हुनुहुुन्थ्यो । एक दिन उहाँलाई फोन गरेर घरबाट बोलाइयो । घरबाट जानु अघि, श्रीमानले लक्ष्मीलाई कसैले बोलाएको हो भन्नुभयो, तर नाम तोक्नुभयन । उहाँको १९ राउण्ड गोली हानि हत्या भयो । त्यो घटनाको कारण र हत्या गर्नेहरूको पहिचान भने खुल्न सकेन । सशस्त्र प्रहरीले पनि घटनाको टुङ्गो लगाउन सकेन, जसका कारण घटनामा संलग्न व्यक्तिहरूको पहिचान र सुनुवाइको प्रक्रिया अझै अस्पष्ट रहेको उहाँ बताउनुहुन्छ । आतङ्ककारीले मारेको भनेर जाहेरी दिइएको भए पनि, त्यसको कानूनी सुनुवाई भने अझै भएको छैन ।
घटना भएको केही समय पछि, लक्ष्मीकी भान्जीले फोन गरेर उहाँलाई श्रीमानको हत्या भएको विषयमा जानकारी दिइन् । तर, त्यो सुनेपछि लक्ष्मीलाई विश्वास नै लागेन । उहाँ सोच्न थाल्नुभयो कि शायद केही गल्ती भएको हो । त्यसपछि, केही समयपछि मात्र, प्रहरी कार्यालयको जमुना चौकीबाट पनि यस बारेमा पुष्टि गरियो । यसपछि, लक्ष्मीको मनमा ठूलो आघात पुग्यो । यस घटनाले उहाँको जीवनमा शोक र निराशाका लहरहरू ल्यायो । उहाँ अझै पनि विश्वास गर्न सक्नुहुन्थ्यन कि उहाँको प्रियजनको हत्या यति निर्ममता र रहस्यमय तरिकाले भएको थियो ।
लक्ष्मीको जीवन निकै कठिन थियो । उहाँ श्रीमानकी अर्की श्रीमती हुनुहुन्थ्यो । पेन्सन पनि आधा-आधा गर्नुपर्ने थियो । महिनामा ३ हजार,९०० रुपैयाँ मात्र आउथ्यो । घर चलाउन र बच्चाहरूको पढाइका लागि निकै संघर्ष गर्नुपथ्र्यो । परिवारबाट कुनै सहयोग पनि थिएन, र उहाँ बच्चाहरूसँगै जीवनको समस्यासँग लड्दै, राम्रो खान र लाउन दिन सक्नुहुन्थ्यन । सबै कुरा मुस्किलले चलाउनुपर्ने अवस्थामा थियो । जीवन निकै गाह्रो थियो ।
यति हुदा पनि उहाँले कहिल्यै हार मान्नुभयन । आफ्ना बच्चाहरूको भविष्यका लागि संघर्ष जारी राख्नुभयो । लक्ष्मीले गहभरि आँसु झार्दै भन्नुभयो,चाडपर्व आउँथ्यो, मिठो-मसिनो जस्तो केही बनाउन सक्ने अवस्था थिएन । तर कसैले केही सोधेनन्, कि के कस्तो छ भनेर । उहाँ आफ्ना गहिरा दुःख र पीडालाई व्यक्त गर्दै, त्यो समयको कठिनाइ सम्झिनुहुन्छ, जहाँ आर्थिक अवस्था कारणले चाडपर्वको सामान्य रौनक पनि उहाँलाई नआए जस्तो लाग्थ्यो ।
सासु र देवरले घरको सामान बेचिदिए । छोराहरुलाई नराम्रो बाटो तिर हिड्नका लागि उत्साह दिन थाले । जसले उनलाई परिवारबाट साथ र सहारा प्राप्त नगरेको अनुभूति भयो । त्यसैले उहाँ घरबाट निस्किएर अलगै बस्नुभयो । लक्ष्मीका लागि जीवन अझै कठिन बन्दै गयो । विभागबाट कुनै सहयोग आएन । तीन वर्षसम्म उहाँको बच्चाको स्कुलको शुल्क तिरिदिन्थ्यो तर त्यसपछि त्यो पनि तिर्न छोड्यो । उहाँले गहिरो वेदनासाथ सम्झिदै भन्नुहुन्छ म चाहन्थे कि मेरा बच्चाहरू राम्रो शिक्षा प्राप्त गरोस्, तर परिस्थितिले मेरो साथ दिएन ।
समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि विभिन्न अभियानहरू सञ्चालन भइरहेका थिए । यसले घरको चार कुनाभित्र मात्र सिमित रहनहुदैन भन्ने चेतना फैलाउन मद्दत पुर्यायो । काठमाडौँबाट प्रशिक्षकहरू आउँथे र महिलाहरूलाई जागरुक बनाउने तालिम दिन्थे । एकल महिलाहरूलाई लक्षित गरेर विभिन्न तालिमहरू आयोजना गरिन्थे, जसमा उहाँहरूलाई सशक्त बन्न, आफूलाई अझ राम्रोसँग प्रस्तुत गर्न र आफ्नो अधिकारको रक्षा गर्न सिकाइन्थ्यो । यसका साथै, अन्य एकल महिलाहरूलाई समेटेर साझा अनुभवहरू सँगै जानको लागि समूहहरू बनाइन्थे, जसले आपसमा सुझाव र सहयोग दिने अवसर सिर्जना गर्थे । यी तालिमहरूले महिला अधिकार र समावेशी समाजको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्यायो ।
उहाँ भावुक हुँदै सुनाउनुहुन्छ , म सधैँ रूँदै बस्थे, तर त्यो तालिमले मेरो मनबल बढायो । रुन छोडे, र बुझेँ कि संसारमा हामी एक्लै आएका हौँ र एक्लै जान्छौं । त्यसैले, आफ्नो जीवनका लागि आफैंले निर्णय गर्नुपर्छ भन्ने कुरा त्यो तालिमले सिकायो । उहाँले थप्नुभयो त्यो तालिमले मलाई र अरू धेरै दिदीबहिनीहरूलाई साहसी बनाउन सहयोग गर्यो । अब हामीले हाम्रो जीवनलाई आफूले सम्हाल्न सक्छौँ भन्ने विश्वास आयो, र हामी सबै मिलेर संघर्ष गर्दै अघि बढिरहेका छौँ ।
लक्ष्मीले खिन्न मनले भन्नुभयो, राज्यले मलाई केही पनि वास्तविक सहयोग गरेन । तालिमको दौरानमा खाजा खानका लागि केही दिन्थे, र २ सय सम्म भत्ता वा यात्रा खर्च मात्र दिए । तर, त्यो रकमले मेरो दैनिक आवश्यकता र जीवनका कठिनाइहरूलाई कुनै विशेष समाधान गरेन । उहाँको अनुभवमा, राज्यका नीतिहरू र योजनाहरू महिलाको वास्तविक समस्यामा सघाउने भन्दा पनि सीमित मात्रामा राहत दिने जस्तो छ । सामाजिक र आर्थिक रूपले सशक्त बन्ने सन्देश त थियो, तर त्यसका लागि आवश्यक वास्तविक सहायताको अभाव थियो ।
उहाँका अनुसार एकल महिलाप्रति समाजको दृष्टिकोण परिवर्तन हुनु जरुरी छ । समाजले एकल महिलालाई शिकारको नजरबाट होइन, सहयात्री र सशक्त अस्तित्वको रूपमा हेर्नुपर्छ । उहाँहरूको पृष्ठभूमि, कारण र संघर्षलाई बुझ्न आवश्यक छ ।
एकल महिलाले आफ्नो जीवनको यात्रा आफैं तय गर्छन् र त्यस्ता महिलालाई आत्मनिर्भर र साहसी बनाउने दृष्टिकोण आवश्यक छ । समाजले उहाँहरूलाई सम्मान र सँगसँगैको समर्थन दिनुपर्छ भन्ने उहाँको धारण रहेको कुरा सुनाउनुभयो ।
कोहलपुर की पार्वती कार्की को पनी यस्तै समस्या छ । २०५९ साल पुस २९ गते, नेपालको इतिहासमा एक दर्दनाक र त्रासपूर्ण घटना घटेको दिन थियो । त्यो दिनको राती ९ बजे, सशस्त्र द्वन्द्वको समयमा, बर्दियाको राजापुरकी पार्वतीको घरमा एक अत्यन्तै गम्भीर आक्रमण भयो, जसले पार्वती र उनको परिवारको जीवनमा अपूरणीय क्षति पुर्यायो ।
पार्वती र उहाँका परिवारका सदस्यहरू घरमा आराम गर्दै थिए । रातको समय थियो र परिवारका सदस्यहरू सुत्नका लागि तयार थिए । तर, अचानक, एक समूहले पार्वतीको घरको वरिपरि घेराबन्दी गर्न थाले । पार्वतीका श्रीमान र ससुरा उहाँहरुका तारो बनेका थिए ।
रातको समय थियो र अधिकांश मानिसहरू घरमा सुतिरहेका थिए । उहाँहरूको घरबाट अपहरण गरियो । केही समयपछि, पार्वतीका श्रीमान र ससुराको घरभन्दा २ किलोमिटर पर लगेर गोलि हामी निर्दयी हत्या गरियो । उहाँहरूको हत्या गर्नु कारण अझै अस्पष्ट रहेको छ । घरका पुरुष सदस्यहरूको निधनले परिवारको अस्तित्वलाई संकटमा पार्यो । छरछिमेकीहरूले माओबादी हुन् भन्ने खबर सुनाई दिएपछि घरमा आएर आक्रमरण गरीएको उहाँ बताउनुहुन्छ । त्यो समय पार्वती र उहाँको परिवारको लागि अत्यन्तै कठिन र पीडादायी थियो । पार्वतीका श्रीमान र ससुराको हत्या पश्चात्, कुनै पनि व्यक्तिले पार्वतीको परिवारलाई सहयोग पुर्याउने प्रयास गरेन । समाजका अगुवाहरूले श्रीमानको ढलेको शरिललाई दाहसंस्कार समेत गर्न दिएनन् । उनिहरूले हत्या भएको ठाउँमै खाल्डो खनी पुरी दिए ।
उहाँ गहभरी आँशु झार्दै भन्नुहुन्छ, मलाई एकछिन् भए पनि मेरो श्रीमानको मुख हेर्न दिएको भए मेरो मन सन्तुष्ट हुन्थ्यो । तर समाजले ढोका लाएर घर भित्र थुन्यो । त्यो क्षण म अहिले पनि बारम्बार सम्झन्छु । घरमा सानो साना बच्चाहरू थिए । त्यस कठिन समयमा पार्वतीसँग न कुनै साथ थियो, न कुनै सहारा । देवर पनि रोजगारीको सिलसिलामा भारत गएका थिए, जसले परिवारलाई अझ ठूलो संकटमा पारिदियो । त्यो बेला पार्वती र उहाँकी सासु दुवैले मानसिक र शारीरिक पीडाको सामना गरिरहनु भयको थियो । पारिवारिक सदस्यहरूको सहयोगको अभाव, समाजको निष्क्रियता र युद्धका कारण उत्पन्न भएको अशान्ति उहाँले भोगेका गहिरा दुःखका कारण बने ।
पार्वतीका लागि जीवनको यात्रा थप कठिन बन्दै गएको थियो । उहाँका देवर विवाह पछि सासु र देवरानी सहित नेपालगन्ज बसाई सरी गए, त्यसपछि पार्वतीलाई अझ एक्लो बनायो । उहाँले भन्नुभयो, उहाँहरूले मलाई नभनी नेपालगन्ज जानुभयो, म झनै एक्लो भएँ । यो अचानकको घटनाले पार्वतीको जीवनमा अझ गहिरो पीडा थप्यो । यसको असर उहाँले आफ्ना चार छोरीहरूलाई पालनपोषण गर्न निकै समस्या भयो ।
पार्वतीको लागि घर चलाउन र परिवारलाई पाल्न निकै गाह्रो थियो । उहाँसँग पर्याप्त स्रोत र सहारा थिएन । कुनै बाह्य सहयोग वा मार्गदर्शन बिना, उहाँले आफ्नो परिवारको जिम्मेवारी सँधै एक्लै बोकेर अघि बढ्नु परेको थियो । पार्वती २०६४ सालमा ४ छोरीहरू सहित बाँकेको कोहलपुरमा बसाई सरेर आउनुभयो । कोहलपुरमा आएको केही समयसम्म उहाँसँग कुनै आर्थिक स्रोत थिएन । घर चलाउन र छोरीहरूको भविष्य बनाउनका लागि उहाँलाई धेरै कठिनाइको सामना गर्नुपर्ने थियो ।
कोहलपुरमा बसाई सरेपछि, पार्वतीलाई दिनरात यही सोचले सताउन थाल्यो, के गर्ने र कसरी छोरीहरूलाई राम्रोसँग हुर्काउने र पढाउने भन्ने । आर्थिक संकट, बालबालिकाको पालनपोषण र परिवारको भविष्यका बारेमा सोच्दा उहाँ निकै पिरोलिन थाल्नुभयो । तर, एक दिन उहाँका चिनेकोे दाईले उहाँलाई एक स्कूलमा काम गर्न सल्लाह दिए । उहाँलाई केही राहत मिल्यो र पार्वतीले काम शुरू गर्नुभयो ।
स्कूलमा काम गर्ने अवसरले पार्वतीलाई जीवनमा नयाँआशा र उत्साह दियो । यसले उहाँको परिवारलाई आर्थिक रूपले केही स्थिरता ल्यायो, र उहाँले छोरीहरूलाई राम्रो शिक्षा र पालनपोषणका लागि संघर्ष गर्न सक्नुभयो । समयसँगै पार्वतीको जीवनमा केही सकारात्मक परिवर्तन आउन थाल्यो । कोहलपुरमा बसेर, उहाँले संघर्ष गर्दै जाँदा, उहाँलाई केही साहारा दिने हातहरू बढ्न थाले । यही क्रममा उहाँ द्वन्द्व पीडित एकल महिला संञ्जाल सँग जोडिने अवसर पाउनुभयो । यो संञ्जालसँगको सम्पर्कले पार्वतीको जीवनमा धेरै ठूलो परिवर्तन ल्यायो ।
पार्वती सम्झिनुहुन्छ, म पहिले सामान्य मान्छे थिए, घरायसी काम बाहेक अरु केही आउथेन, न मैले पढेको थिएँ, न कुनै सिप सिकोको थिए’ तर संञ्जालसँग जोडिए पछि उहाँ नयाँ अनुभव र ज्ञानको संसारमा प्रवेश गर्नुभयो । यसले उहाँलाई आत्मविश्वास र साहस दियो, जसले उहाँका लागि नयाँ ढोका खुल्यो । संञ्जालले उहाँलाई विभिन्न तालिम र कार्यक्रमहरूमा भाग लिन अवसर प्रदान गर्यो जसले पार्वतीलाई व्यावसायिक र व्यक्तिगत रूपमा प्रगति गर्न मद्दत पुर्र्यायो । उहाँले एक जिम्मेवार नागरिकको रूपमा आफ्ना छोरीहरूको भविष्य निर्माण गर्ने काममा लाग्न सक्नुभयो । यो परिवर्तन पार्वतीको लागि मात्र होइन, उहाँका छोरीहरूको जीवनको लागि पनि महत्वपूर्ण बन्यो ।
पार्वतीे द्वन्द्व पीडित एकल महिला संञ्जाल सँग जोडिए पछि उहाँको जीवनमा ठूलो परिवर्तन ल्यायो । उहाँले समाजमा परिवर्तन ल्याउने अभियानहरूमा सक्रिय भाग लिन थाल्नुभयो । त्यो बेला उहाँले साच्नभयो एकल महिलाहरूको हकमा समाजमा गहिरो असमानता र भेदभाव छ, र यो अवस्था बदल्नु अति आवश्यक छ । पार्वतीले भन्नुभयो, हामी पनि अरू जस्तै सम्मान, अधिकार र शान्तिपूर्ण जीवन जीउन पाउनु पर्छ’, यो सोच र मानसिकताले उहाँलाई आफ्नो संघर्ष र अधिकारको लागि आवाज उठाउन प्रेरित गर्यो । पार्वती र अन्य एकल महिलाहरू एकजुट भएर समाजमा असमानता र भेदभावको विरूद्ध आवाज उठाउने अभियान चलाउनुभयो । उहाँहरूले एकल महिलाको पहिरन, देखिने रूप र समाजमा र आफ्नो भूमिका कस्तो हुनु पर्छ भन्ने कुरा परिमार्जन गर्नको लागि काम गर्नुभयो । समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण बदल्नका लागि द्वन्द्व पीडित एकल महिला संञ्जालले सशक्त अभियान चलाएको थियो, र पार्वती पनि यसमा सहभागी हुँदै जाँदा आफ्नो पहिचान र आत्मसम्मानको रक्षा गर्दै समाजमा नयाँ सोच र दृष्टिकोण ल्याउन सक्रिय हुनुभयो ।
उहाँको यो अभियान र संघर्षको परिणाम स्वरूप, समाजमा एकल महिलाहरूको स्थिति र अधिकारमा केही हदसम्म सुधार आयो । पार्वती आफैँलाई र अरूलाई सशक्त र समान अधिकारको पक्षमा एकजुट गराउन सफल हुनुभयको थियो । यसले उहाँलाई मात्र होइन, अन्य धेरै एकल महिलालाई पनि परिवर्तनका लागि आवाज उठाउन र आफ्नो अस्तित्वको मूल्य जान्न प्रेरित गर्यो ।
शोभा विसी, द्वन्द्व पीडित एकल महिला संञ्जालको संस्थापक अध्यक्ष, मानव अधिकारका लागि महिला, एकल महिला समुहको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ, २०५९ सालको भदौ महिनाको २३ गते अर्घाखाची जिल्लामा माओवादी र सरकार पक्षीय सुरक्षाबल बीचको संघर्षको क्रममा उहाँको श्रीमानलाई माओवादीको समूहले हत्या गरेका थिए । घटना घटिसके पछि पनि गणले शोभालाई खबर गरेन किनकि त्यो खबर अप्रिय थियो । यो घटना नेपालको द्वन्द्वकालिन समयमा भएको हो, माओवादीहरुले जनयुद्ध’ को घोषणा गर्दै, विभिन्न स्थानमा सुरक्षाबल र सरकारका समर्थकहरूलाई लक्षित गरेर आक्रमण गर्दै आएका थिए । हत्या भए पछि उनले आफ्नो श्रीमानको ढलेको शरिर,(लास) ल्याई दिन आग्रह गरीन तर त्यो ढलेको शरिर ल्याउनको लागि उहाँलाई पैसाको मोलमोलाई गरियो । १ लाख दिए पछि मात्र श्रीमानको लास घर सम्म पुर्र्यादिने कुरा गरे आर्मी क्याम्पका केही व्यक्तिहरूले । तर त्यो पैसा माग्नका लागि मात्र थियो । त्यो समयमा सोभाले १ लाख दिन पनि तयार हुनुभयो । पछि उहाँलाई त्यो पैसा दिन परेन ।
शव घरमा ल्याईयो, गर्मिका कारण शव सडिसकेको अवस्था थियो, कसैले छुन मानेनन् । त्यो पिडा अहिले पनि सम्झन्छिन् । आर्मीको टिमले उहाँको श्रीमानलाई सलियुट मारे । र दाहसंस्कार गरीयो ।
उहाँले गहभरी आँशु निकाल्दै भन्नुभयो । उहाँसंग तिजको अघिल्लो दिन अन्तिम पटक कुरा भएको थियो । उहाँका श्रीमानले परिवारका सबै सदस्यहरुलाई सोध्नुभयोे, उहाँले छोरीलाइ पनि सोध्नुभयो, । मैले चिठ्ठी पठाएको छु, तिम्रो हातमा पर्यो कि नाई भनेर पनि सोध्नुभयो । अब भोलि फोन गर्छु भनेर आश्वासन दिएर फोन राख्नुनुभयो । अन्तिम सम्पर्क नै त्यही थियो । त्यही राति नै श्रीमानको माओबादीले हत्या गरीदिएका थिए । शोभाले भोलिपल्ट अर्थात तिजको दिन श्रीमानलाई सम्पर्क गर्नुभयो तर कुरा हुन सकेन, किनकि उहाँको श्रीमान सदाकालका लागि नबोल्ने गरी अस्ताउनुभयको थियो । सोभाले आफ्नो श्रीमानसँग अन्तिम पटकको सम्पर्क सम्झिँदै उहाँले गहभरी आँशु निकाल्नुभयो । ती क्षणहरू उहाँको लागि जीवनभरको अत्यन्तै पीडादायक सम्झना बने । त्यो सम्वाद तिजको अघिल्लो दिनको थियो, जब उहाँका श्रीमानले परिवारका सबै सदस्यहरूलाई सोध्नुभयो, उहाँले छोरीलाई पनि सोध्नुभयो, र आफूले पठाएको चिठ्ठीलाई हातमा पर्र्यो कि नाई भनेर सोध्नुभयो ।
शोभाले आफ्नो श्रीमानले पठाएको चिठ्ठी अहिले पनि सम्हालेर राख्नुभयको छ । त्यो चिठ्ठी, जुन उहाँले घटनाको चार दिन पछि, आफ्नो श्रीमानको मृत्युको खबर सुनेर, क्रिया गरिरहेको बेला प्राप्त गर्नुभयो । श्रीमानको मृत्युसँगै यो चिठ्ठी उहाँले पहिलो पटक पाउनुभयको थियो, र त्यस दिनदेखि त्यो चिठ्ठी उहाँका लागि एक अमूल्य र गहिरो सम्झना बन्यो । त्यो चिठ्ठीमा उहाँले आफ्नो श्रीमानको अन्तिम शब्द र भावना पाएको अनुभव गर्नुभयो । जुन शब्दहरूले उहाँलाई थाहा दिइरहेका थिए कि, आफ्नो परिवार र छोरीका बारेमा सोच्दै उहाँले चिठ्ठी लेख्नुभयको थियो । र त्यो चिठ्ठी सोभाका लागि मात्र एक पत्र थिएन, बरु त्यसका प्रत्येक शब्दसँग उहाँसँगको गहिरो भावनात्मक जडान थियो ।
सोभाले आज पनि त्यस चिठ्ठीलाई सम्हालेर राख्नुभयको छ । जसमा उहाँका श्रीमानका अन्तिम विचार र यादहरू समेटिएका छन् । यो चिठ्ठी उनको प्रेम र सम्बन्धको प्रतीक हो, सोभाले गुमाएका प्रियजनसँगको एक अन्तिम सम्पर्क पनि हो । उहाँका श्रीमानले सोभालाई आश्वासन दिनुभएका थियो, भोलि म फोन गर्छु,“ भन्ने । यस कुराले शोभालाई केही आशा दिइरहेको थियो । तर त्यो रातको सम्झनाले सबै कुरा बदलियो । माओवादीहरूले उहाँको श्रीमानको हत्या गरे र सोभा भोलिपल्ट तिजको दिन उहाँलाई सम्पर्क गर्न प्रयास गर्दा, फोन लाइनमा कुनै आवाज आएन॥॥॥सदाकालका लागि नबोल्ने गरी अस्ताउनुभएको थियो । यसरी दुर्भाग्यपूर्ण घटनाले द्वन्द्वकालको निर्र्दोष नागरिकहरूको दैनिकी कति भयानक र असुरक्षित थियो भन्ने स्पष्ट पार्छ ।
कहाँ बस्ने, के खाने, के गर्ने, जीन्दगी कसरी सुरुवात गर्ने भन्ने कुरा उहाँलाई अन्योल बनायो । उहाँले भन्नुभयो, त्यो बेला म २१ वर्षको मात्र थिए, समाजले हेर्ने दृष्किोण पनि फरक थियो । साथमा छोरी थिईन्, छोरी पराई घर जाने जात हो भनेर सुनाउथे र आमा पनि सानै उमेरको छ अर्को विवाह गरिहाल्छि भनेर अनेकथरीका कुरा गर्न थाले । परिवारका सदस्य अर्थात सासु, ससुराले मेरो छोरालाई खाईस्, अलक्षिना भन्ने नाम दिए । उहाँले सधै त्यो कुराहरु सुन्न परेको थियो । त्यसले उहाँलाई पिडामा पारेको थियो । यसैले नै उहाँलाई घर छोडायो ।
श्रीमानको मृत्युपछि उहाँलाई जीवनको आधारभूत सवालहरू — के खाने, के गर्ने, कहाँ बस्ने – जीन्दगी कसरी सुरुवात गर्ने भन्ने कुराले उहाँलाई अन्योल भयो । सोच्न सक्ने उमेरको पनि हुनुहुुन्थ्यन त्यो बेला उहाँ २१ वर्षकी हुनुहुन्थ्यो शोभा । समाज र परिवारका सदस्यहरूले उहाँलाई थप मानसिक दबाब दिन थालेका थिए ।
साथमा उहाँकी छोरी पनि थिइन्, र समाजमा पराई घर जाने परम्परा र आस्थाका कारण उहाँलाई लगातार आलोचना र तिरस्कार भोग्नुपर्ने अवस्था सिर्जना भएको थियो । सासु र ससुराले उहाँको छोरालाई “खाइस्, अलक्षिना भन्ने जस्ता नकारात्मक नामाकरण गरेका थिए, जसले उहाँलाई थप पीडा र घृणा महशुस भयो ।
यस्तो अमानविय व्यवहारले गर्दा सोभालाई घर छोड्न बाध्य पार्यो, । समाजको नजरमा एक अपवित्र, असमर्थ व्यक्ति बन्नु र आफ्नै परिवारबाट पनि घृणा र अपमान सहनु, यस्ता कुराले उहाँलाई जीवनमा एउटा असहनीय मोडमा पुर्र्यायो । यी सबै दबाबहरूले उहाँलाई कुनै पनि सुरक्षाको अनुभव नै गराएन ।
बर्दियाको जुमुनीमा घर भएकी सोभाले आफ्नो सुरक्षित भविष्यको लागि बसाई सराई गरी कोहलपुर आउनुभयो । उहाँको जीवनमा धेरै चुनौतीहरू ल्यायो । घरेलु हिंसा र युद्धको प्रभावले सोभाले आफ्नो समुदाय र समाजबाट अशुरक्षित महशुस गर्नुभयो । परिवारको एक महत्वपूर्ण सदस्यको मृत्युपछि, सामाजिक संरचनामा ठूलो परिवर्तन आएको थियो ।
उहाँलाई कसरी परिवारलाई सहायोग गर्ने, र घरको जीविकोपार्जनको स्रोत कस्तो हुनेछ भन्ने कुरा प्रमुख चिन्ता थियो । द्वन्द्वकालले बिर्साउन नसकिने आर्थिक संकट सिर्जना गर्यो । श्रीमानको हत्यापछि सोभाले मानसिक र शारीरिक रूपमा गहिरो असर पयो । मानसिक आघातले उहाँलाई शारीरिक स्वास्थ्यमा पनि असर पुर्यायो, जसले उहाँलाई दीर्घकालीन तनाव र दुखका साथ जीवन यापन गर्न बाध्य बनायो । नयाँ परिवेशमा बसोबास गर्दा, उहाँले शान्ति र स्थिरताको खोजी गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
समय बित्दै गायो, एकल महिलालाई सशक्त बनाउनको लागि ब्यारेकले तिन महिने सिलाई कटाई सम्बन्धि तालिम काठ्माण्डौमा दिएको थियो । तिन महिनाको तालिम पछि शोभाले बाँकेमा फर्केर आफु जस्तै अन्य दिदीबैनीहरुसंग मिलेर पसल संचालन गर्नुभयो । जसले उहाँलाई आर्थिक रुपमा सहज बनाईदिएको थियो ।
शोभा अहिले एक शक्तिशाली र प्रेरणादायक व्यक्तित्व बनिसक्नुभएको छ , र यस यात्रामा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा एकल महिला समूह (डब्लूएचआरं) की संस्थापक अध्यक्ष लिलि थापाको विशेष भूमिका छ । लिलि थापाले शोभालाई सामाजिक अभियानमा सक्रिय हुनको लागि प्रेरित गर्नुभयो, र त्यसपछि शोभाले एकल महिलाका आवाजलाई उठाउन थाल्नुभयो । उहाँका लागि लिलि थापा एक प्रेरणा र मार्गदर्शक बन्नुभयो, जसको सहयोग र प्रोत्साहनले उहाँलाई एकल महिलाको अधिकार र उहाँहरूको सामाजिक सशक्तिकरणको लागि लड्न प्रोत्साहित गर्यो ।
बाँके जिल्लामा द्वन्द्व पीडित एकल महिला संञ्जालको स्थापना पछि, शोभा यस संस्थाको संस्थापक अध्यक्ष बन्नुभयो । यस समूहको प्रमुख उद्देश्य थियो, द्वन्द्वका कारण पीडित महिला र एकल महिलाहरूलाई एकजुट गर्दै, उहाँहरूको हक र अधिकारको लागि आवाज उठाउने । महिलाहरू एक ठाउँमा भेला भएर, संस्थालाई कसरी अगाडि बढाउने र महिला सशक्तिकरणका लागि कुन कार्यक्रम आयोजना गर्ने भन्ने छलफल गर्थे । तिहारको समयमा, महिलाहरू भेला भएर भैली खेलेका थिए, यो उहाँहरूको एकता र संघर्षको प्रतीक थियो, जसले शोभालाई अझ बढी साहस र आस्थाका साथ अगाडि बढ्न प्रेरित गर्यो ।
समयक्रममा, शोभा र उहाँका साथीहरूले राज्यलाई नीति निर्माणको लागि सचेत गराउँदै, एकल महिला र द्वन्द्व पीडित समुदायका लागि नीतिगत सुधार ल्याउने काम गरेका थिए । उहाँले र उहाँका सहयोगीहरूले बाँके जिल्लामा द्वन्द्व पीडित एकल महिला संञ्जालको आफ्नै भवन बनाउन सफल भए । यो उपलब्धि शोभा र उहाँका साथिहरूसँगै एक सामूहिक संघर्ष र कडा परिश्रमको परिणाम थियो ।
आज शोभा आफैलाई भाग्यमानी ठान्नुहुन्छ किनकि उहाँले आफ्नो जीवन मात्र परिवर्तन गर्नुभयन, कयौँ अन्य एकल महिलाहरूलाई पनि प्रेरणा दिनुभयो । उहाँले ती महिलाहरूलाई रोजगारीको सृजनासँगै आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गर्नुभयो । यसको माध्यमबाट, उहाँले एकल महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।
शोभाको संघर्ष र सफलता केवल आफू र आफ्नो समुदायका लागि होइन, समग्र समाजको लागि एक प्रेरणा हो । उहाँले साबित गरिसक्नुभएको छ कि यदि समर्पण, मेहनत र एकताको साथ संघर्ष गरियो भने, पीडामा भएको समुदायलाई पनि सम्मान, अधिकार र समृद्धि दिन सकिन्छ ।