कालीथान मन्दिर व्यवस्थापन समिति श्रेष्ठको नेतृत्वमा
Saturday, January 11th, 2025, 8:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुस
श्री कालीथान मन्दिर व्यवस्थापन समितिको २१ औं साधारण सभाले स्थानीय गोविन्द नारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न २१ औं साधारण सभा तथा अधिवेशनले उक्त कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष पदमा हौसीलाल चिडीमार, सचिवमा वीरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष पदमा सरिता श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा वडा नंम्बर १२ का सदस्य राज कुमार बाल्मिकी, श्याम सुन्दर अधिकारी, माधव प्रसाद पोखरेल, राजीव रेग्मी, विशाल गुप्ता र मीना वर्मा रहनु भएको छ ।
त्यसैगरी संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा अजीत कुमार शर्मा, लता शर्मा, श्याम बहादुर मल्ल, चतुर्भूज ज्ञवाली रहनु भएको छ ।
यसअघि समितिका अध्यक्ष लता शर्माको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नंम्बर १२ का वडाअध्यक्ष बज्राचार्यले यस क्षेत्रकै प्राचीन मन्दिर कालीथान मन्दिरको जिर्णोद्धार, संरक्षण सम्वद्र्धनमा वर्तमान समितिले समितिको स्थापना कालदेखि नै गर्दै आएको योगदान र प्रयासको सराहना गर्दै मन्दिर सबै वडावासीको आस्थाको केन्द्र र साझा सम्पदा भएकोले सबैको सहयोगको लागि आव्हान गर्नुभयो ।
स्थानीय नागरिक अगुवा समाजसेवी शर्माले मन्दिर व्यवस्थापन समितिले स्थापनादेखि हालसम्म मन्दिरको राम्रो कामको जेजति योगदान दियो त्यसको प्रशंसा गर्दै यसअघिका पुजारी मदन आचार्यको दिवंगत पछि केही महिना असहज परिस्थिति आइपरेता पनि हाल नयाँ पुजारीको नियुक्तिपछि नित्य पूजाआजा र धार्मिक गतिविधिहरु बढ्दै गएको बताउनु भयो ।
सभामा अध्यक्ष शर्माले १९७९ सालमा स्थापित कालिथान मन्दिरका संस्थापक स्वर्गीय राजमान श्रेष्ठ र उहाँका छोरा कृष्णमान श्रेष्ठ, व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व.शंकर प्रसाद रिमाल, पूर्व अध्यक्ष भानुभक्त मुडभरी लगायत मन्दिरका दुई जना स्वर्गीय पुजारीहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मन्दिरको ऐतिहासिक पृष्ठभूमिका बारेमा चर्चा गर्नु भयो ।
स्थानीय बासिन्दा हामी भक्तजनहरुले मन्दिरलाई जिर्णोद्धार गर्ने, धार्मिक कार्यक्रम र पूजाआजा व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यले २०५८ चैत्र २४ गते सम्पन्न भेलाले कार्यसमिति गठन गरेर २०५९ जेठ २७ गते शंकर प्रसाद रिमालको अध्यक्षता समिति गठन गरी जिल्ला प्रशासन कार्यालय, बाँकेमा संघ संस्था ऐन अन्तर्गत २०५९ असोज ३ गते दर्ता गरिएको जानकारी दिनुभयो ।
यो समितिले मन्दिरले चर्चेको जमीन सम्बन्धित जग्गाधनीबाट मन्दिरको नाममा दर्ता गर्ने काम, शान्ति मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका र थुप्रै दाताहरुको सहयोगमा जिर्णोद्धार गर्ने, निर्माण विकास गर्ने, बाटो बनाउने, कम्पाउण्ड वाल निर्माण लगायतका थुप्रै काम गरेको अध्यक्ष शर्माले उल्लेख गर्नु भयो ।
समितिले नियुक्त गरेको पुजारी मदन आचार्यको निधन पछि रिक्त रहेको पुजारी पदमा २०८१ असार असार २२ गते बसेको समिति र कालीमाई टोल स्तरीय संस्थाको संयुक्त बैठकको निर्णय अनुसार पं.विष्णु प्रसाद न्यौंपानेलाई नियुक्त गरेर मन्दिरमा पूर्ववत् रुपमा नित्य पूजा र धार्मिक गतिविधिहरु सुचारु भइरहेको पनि उहाँले जानकारी गराउनु भयो ।
करिब ५० जना स्थानीय बासिन्दाहरुको सहभागिता रहेको सभाको पहिलो सत्रमा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । निवर्तमान समितिका सचिव पूर्णलाल चुकेले सञ्चालन गरेको उक्त साधारण सभाको अन्त्यमा व्यवस्थापन समितिको नयाँ कार्यसमितिका अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष शर्माले निर्णय पुस्तिका, अन्य महत्वपूर्ण कागजातहरु तथा जिन्सी सामानहरु हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख अतिथि नेपालगन्ज वडा नम्बर १२ का अध्यक्ष बज्राचार्यले नयाँ पदाधिकारीहरुलाई टिका लगाएर बधाई ज्ञापन गर्नुभएको थियो ।