स्थानीय युवाले उत्पादन गरेको प्रविधिलाई प्रवद्र्धन गर्दै क्यान इन्फोटेक
Wednesday, January 22nd, 2025, 7:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ माघ
नेपालगन्जमा बिहिबारदेखि सुरु हुन थालेको प्रादेशिक महोत्सवको मुख्य आकर्षकका रुपमा पाँचौं क्यान इन्फोटेक रहने भएको छ । महोत्सवको अवसरमा नेपालगन्ज सडक डिभिजन कार्यालय परिसरमा हुने क्यान इन्फोटेकमा सुचना र सञ्चार क्षेत्रमा विकसित भएका नयाँ प्रविधि प्रदर्शनीमा राखिनेछन् ।
माघ १० देखि २२ गते सम्म चल्ने क्यान इन्फोटेकमा स्थानीय युवाहरुले निर्माण गरेको प्रविधिहरुको पनि प्रदर्शनीमा राखिने आयोजक क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले बताउनु भयो । उहाँले भन्नु भयो,‘क्यान इन्फोटेक एउटा ब्राण्ड हो । हरेक पुस्ता परिवर्तन भएजस्तै प्रविधिको क्षेत्रमा पनि समय अनुसार परिवर्तन भएको हुन्छ । समय अनुसार परिवर्तन भैरहेको हुन्छ । पहिला डिजिटल क्यामेरा थियो भने अहिले एआई त्यो स्थान लिइरहेको छ । समय अनुसार विकसित भएका प्रविधिलाई हामीलाई प्रदर्शनी गर्नेछौं । अर्को कुरा बाँकेमै बसेर सफ्टवेयर उत्पादन गरिरहेका युवाहरु पनि छन् । उहाँहरुको उत्पादन देशभरमा प्रयोग भैरहेको छ । स्थानीय युवाहरुले उत्पादन गरेको प्रविधिलाई प्रवद्र्धन पनि गर्नेछौं ।’
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासको लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको कार्यक्रमको बारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको पाँचौं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो । जसको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता गरिसकेको जनाएको छ ।
क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ भने जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो । सह–प्रायोजकमा डिजिटल पालिका रहेको छ । प्रायोजनका आधारमा यस बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘आईएनजीस्क्रीन पाँचौं क्यान इन्फोटेक–२०२५’ इन एसोसिएसन विथ डिजिटल पालिका रहेको छ ।
क्यान महासंघ बाँकेले महोत्सव परिसरमा सूचना प्रबिधिसँग सम्बन्धित ३० वटा स्टल रहेको जनाएको छ । सो स्टलमार्फत नवीनतम प्रविधिको प्रदर्शनी गरिनुका साथै बिषेश छुट अवसर प्रदान गरिने क्यान महासंघ बाँकेका सचिव रमेश बिसीले जानकारी दिनभुयो । यो प्रदर्शनी सूचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने बिशेष थलो हुने महासंघको बिश्वास रहेको जनाएको छ ।
महासंघका अनुसार स्टल परिसरमा नेपालमा हाइड्रो पावरको ट्रान्समिशन लाइन तान्ने ६०० ड्रोन, एआई प्रबिधियुक्त सिसिटिभी क्यामरा र एआई प्रबिधियुक्त बिश्वप्रसिद्ध स्मार्टबोर्ड प्रदार्शन गरिने, सूचना प्रबिधि अध्ययन र छात्रबृत्तिको जानकारी, नेपालमा निर्माण भएको नवीनतम प्रविधिको जानकारी प्रदान गरिने, विभिन्न कम्पनीहरुको आकर्षक छुट उपलब्ध हुने छ ।