युएसएआइडीको चार परियोजनाको काम रोक्न अर्थको निर्देशन
Monday, January 27th, 2025, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाण्डौं, १४ माघ
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यू एस ए आइ डी) र नेपाल सरकारबीच भएको अनुदान सहयोग अन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यू एस ए आइ डीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको हो ।
“यू एस ए आइ डी र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्टमार्फत् नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका चार वटा आयोजनाहरूमा प्राप्त अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थगित भएको यु एस ए आइ डी नेपालले पत्रमार्फत जानकारी गराएको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यु एस ए आइ डी स्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै सम्बद्ध निकायहरुलाई जानकारी गराइएको छ ।”
मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका ‘यूएसएआइडी हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘यूएसएआइडी एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘यूएसएआइडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’मा यूएसएआइडीले सहवित्तीय लगानी गरेको छ ।
युएसएआइडीले यी आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।