जानकीमा भूमिहीनका लागी जग्गा नापजाँचको काम सुरु
Thursday, May 29th, 2025, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,१५ जेठ
बाँकेका पालिकाहरुमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी हरूलाई लालपुर्जा वितरणको तयारी थालिएको छ । जिल्लाको कोहलपुर नगरपालिकामाभूमिहीनदलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी हरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको हो ।
सो क्रममा जिल्लाका विभिन्न पालिकाहरुमा लालपूर्जा वितरणका लागि सरकारी जग्गा नापजाँच, लगत संकलन र लालपूर्जा तयार पार्ने कार्य तिव्र पारिएको भूमि समस्या समाधान आयोग बाँकेले जनाएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुरमा पहिलो चरणमा भूमिहीन र सुकुम्वासी लाई लालपूर्जा बितरण गरि सकिएपछि भूमिहीन हरुमा लालपूर्जा पाउने विश्वास बढेको बताउनु भयो । उहाँले सोही कारणले जिल्लाका अन्यपालिकाहरुमा पनि भूमिहीन हरुले लालपूर्जाका लागि आयोग सँग समन्वय र सम्पर्क लाई पनि तिव्र पारेको बताउनु भयो ।
आयोगका अनुसार जिल्लाको नेपालगन्ज, डुडुवा, जानकी, राप्ती सोनारी, बैजनाथ नरैनापुर र खजुरामा लालपूर्जा वितरणका लागि सरकारी जग्गा नापजाँच गरेर छुट्याउने, लगत संकलनगर्ने र प्रक्रिया पुरा भएका हरुको लालपूर्जा तयार पार्ने कार्य तिव्र रुपमा चलिरहेको छ । सोहीक्रममा जानकी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम पुनः सुरु गरेको जनाएको छ ।
भूमि समस्या समाधान आयोग बाँकेले जग्गा नापजाँचको काम छिटो पुरा गर्न आग्रह गरेपछि रोकिएका जग्गा नापजाँचको कामलाई पुनः सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । जानकी गाउँपालिकाको वडा नम्बर पाँच रामगाउँबाट जग्गा नापजाँच कार्यको सुभारम्भ हुँदा पालिका भित्रका सबै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी हरूलाई छिटै लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
जानकी गाउँपालिका वडा नम्बर पाँच मा मात्र करिब ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भूमी शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिनुभयो । जग्गा नापजाँच कार्य पुरा गरेपछि सो को लगत तयार पारेर भूमिहीन तथा सुकुम्वासीको पनि संख्या यकिन गरि उनीहरुका लागि लालपूर्जा तयार पार्ने कार्य गरिने भूमि समस्या समाधान आयोग बाँकेका सदस्य तलत प्रविण खानले बताउनुभयो ।