कोहलपुरबाट नक्कली नोट र अफिम कारोबारी पक्राउ
Tuesday, July 15th, 2025, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
सुर्खेत, ३१ असार
प्रहरीले लागूऔषध अफिम कारोबारी नक्कली नेपाली नोटको कारोबारमा समेत संलग्न रहेको फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गरेको कारबाहीमा अफिम कारोबारीसँग नेपाली नक्कलीनोट समेत फेला परेको हो । सुर्खेतका डीएसपी मोहनजंग थापाका अनुसार प्रहरीले सुर्खेत र बाँकेको कोहलपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुको साथबाट करिब ३० केजी अफिम बरामद भएको छ भने उनीहरुको साथमा १३ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट समेत भेटिएको जनाएको छ ।
प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० शान्तिटोलबाट मंगलबार दिउँसो एक हजार दरका ६ वटा नक्कली नोटसहित जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी पक्राउ पर्नु भएको थियो ।
साँझ ६ बजे दिलमायाकै डेराबाट थप एक हजार दरका १२३६ थान नोटसमेत बरामद भएको थियो । ती नोटहरु जम्मा १२ लाख ३६ हजार बराबरको रहेको डीएसपी थापाले बताउनुभयो ।
दिलमायालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा गएराति प्रहरीले जाजरकोटका कृष्णबहादुर वली (वर्ष ३५) र प्रेमबहादुर बि.क (वर्ष ३८) लाई सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १२, ठकुरीटोलबाट पक्राउ गरेको थियो ।
दुबैजनाको डेरामा खान तलासी गर्दा कालो झोलाभित्र लुकाएर राखिएको अफिम ११ पोका, बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुबारे अनुसन्धान गरिरहेको टोलीले कोहलपुरमा जनगर्जन नेटवर्क प्रा.लि. चलाउँदै आएका कालिकोटका मनबहादुर सहकारी देउवाको समेत संलग्नता फेला पारेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले देउवालाई कार्यालयबाटै पक्राउ गरेको थियो । देउवाको घर तथा कार्यालयमा छापा मार्दा एक हजार दरका नक्कली नोट ५१ वटा भेटिएको प्रहरीले जनाएको छ ।
देउवाको साथबाट १९ केजी ३०० ग्राम अफिम र नक्कली नोट बनाउने कलर प्रिन्टर सहितका उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटनामा संलग्नहरुविरुद्ध लागुऔषध, मुद्रा सम्बन्धी कसूर र संगठित अपराधको कसुरमा थप कारबाही प्रक्रिया अघि बढाएको छ ।