एन–सार्कले मनायो ४२औं स्थापना दिवस
Wednesday, December 31st, 2025, 4:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ पुष
एचआइभी एड्स विरुद्ध काम गरिरहेको संस्था नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र(एन–सार्क)को ४२औं स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा बुधबार नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्रका अध्यक्ष डा. जी. राज शाक्यको अध्यक्षतामा भएको स्थापना दिवस तथा साधारण सभाको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
संस्थाको दिगो विकास र कार्यक्रमहरुको लक्ष्य हासिल गर्न सहयोग गर्नुहुने चार जना कर्मचारी र चार जना बोर्ड सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नैनसिंह विक, समीर कुमार जोशी, सुदिप कुमार गुप्ता, वविता थापा, दिलिप कुमार गुप्ता, सेनिम लामा, श्रृजना थापा र जंग बहादुर थारु रहनु भएको छ ।
एड्स भनेको जन–चेतना अभिन्नता, संकल्प तथा आत्म–सुरक्षा हो भन्ने नाराका साथ नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्रले नागरिकको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्रले स्थापनाकालदेखि साविक मध्य र सुदुरपश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाहरुमा काम गर्दै आएको थियो । हाल बाँकेमा संस्थाले काम गरिरहेको छ ।
स्थापनाका कालमा यौनरोग तथा एड्सका बारेमा काम गर्न थुप्रै चुनौती भएपनि त्यसको सामना गर्दै संस्थाले नागरिकलाई सचेत गराउने काम गरेको नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्रका अध्यक्ष डा. शाक्यले बताउनु भयो । उहाँले भन्नु भयो,‘अहिले समाजमा एड्सका बारेमा धारणा परिवर्तन हुँदै गएको छ । एड्स हुने वित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने होइन । तर पनि यसका बारेमा सचेत हुनु पर्छ । नेपाल भारतको खुला सिमानाका कारण सीमावर्ती क्षेत्रमा यसको संक्रमण उच्च हुने सम्भावना रहन्छ ।’
संस्थालाई अहिलेको अवस्थामा ल्याउन कर्मचारी र बोर्डका सदस्यहरुको योगदान महत्वपुर्ण रहेको डा. शाक्यले बताउनु भयो । साधारणसभामा संस्थाले गर्ने गरिरहेको गतिविधिका बारेमा कार्यंक्रम संयोजक मोहम्मद माजिद अलिले जानकारी गराउनु भएको थियो । संस्थाले अहिले एचआइभी एड्स लाग्न नदिन र लागेका लागि स्वस्थ रहन सहयोग गरिरहेको अलिले बताउनु भयो ।