ईगाउँमा अर्जुन रोकाया मेमोरियल नाइट क्रिकेट प्रतियोगिता हुँदैं
Saturday, March 28th, 2026, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, चैत १४ गते
बाँके जिल्लाको खजुरा गाउँपालिका–४ (ई गाउँ) मा स्वर्गीय अर्जुन रोकायाको सम्झनामा अर्जुन रोकाया मेमोरियल नाइट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। न्यु दर्पण युवा स्पोर्ट्स क्लब तथा अर्जुन रोका स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताबारे संयोजक गणेश ओलीले जानकारी दिनुभयो। प्रतियोगिता चैत १९ गते देखि चैत २६ गते सम्म हुनेछ ।
स्थानीय स्तरमा क्रिकेट खेलको विकास र युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यसहित मनकामना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ। सहभागी हुन इच्छुक सबै क्रिकेट टिमहरूलाई खुला आह्वान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद रु. ६०,००० सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ३०,००० सहित ट्रफी र मेडल हात पार्नेछन्। प्लेयर अफ द सिरिजलाई रु. ५,०००, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र इमर्जिङ प्लेयरलाई जनही रु. ३,००० तथा म्यान अफ द म्याचलाई रु. १,००० प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागिताका लागि प्रत्येक टिमले रु. ५,५०० प्रवेश शुल्क तिर्नुपर्नेछ भने दर्ता चैत १७ गते बेलुका ५:०० बजेसम्म खुला रहनेछ। खेलहरू १२ ओभरको फर्म्याटमा खेलाइनेछ र सफ्ट येलो टेनिस बल प्रयोग गरिनेछ। प्रत्येक टिममा अधिकतम १५ खेलाडी राख्न पाइनेछ भने ४ जना विदेशी खेलाडीलाई समेत समावेश गर्न सकिनेछ।
प्रतियोगिताका सबै खेलहरू आइसीसीको नियमअनुसार सञ्चालन गरिनेछन् र अम्पायरको निर्णय अन्तिम हुने जनाइएको छ। कुनै पनि विरोध वा उजुरी खेल सकिएको एक घण्टाभित्र आयोजक समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
रात्रीकालीन वातावरणमा सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय खेल क्षेत्रलाई थप उर्जा दिने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण क्रिकेट टिम तथा खेलप्रेमीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन सबैलाइ आग्रह गरेको छ ।