गुरुकुल सहकारीको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर
Friday, July 31st, 2026, 6:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ साउन
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गुरुकुल साकोस) ले आफ्नो १७औँ स्थापना दिवसको अवसरमा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य सचेतना शिविर गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, घरबारीटोलमा आयोजित शिविरबाट २८७ जना प्रत्यक्ष लाभान्वित भएका छन् । फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जको प्राविधिक सहयोग तथा नेपालगन्ज उपमहानगरपालिका–२ वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा १२३ जना संस्थाका सदस्य र १६४ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा २० जनामा मोतिबिन्दुको समस्या पहिचान भएपछि उनीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि छनोट गरिएको आयोजकले जनाएको छ । आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरको उद्घाटन समारोह संस्थाका अध्यक्ष प्रदीप चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेमप्रसाद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार प्रेमबहादुर शाह, संघका उपाध्यक्ष हिरा खराल तथा नेपालगन्ज उपमहानगरपालिका–२ का निवर्तमान वडाध्यक्ष सुनिल सिंह हमाल अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, विभिन्न उपसमितिका सदस्य, कर्मचारी तथा फत्तेबाल आँखा अस्पतालका नेत्र अधिकृत डा. उमर सद्दिकसहितको प्राविधिक टोलीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन टिकाराम चौधरीले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार प्रेमबहादुर शाहले व्यक्त गरेका थिए ।
शिविरमा विशेषगरी विद्यालयका विद्यार्थीहरूको दृष्टि परीक्षण गरी आँखासम्बन्धी समस्या समयमै पहिचान गर्न आवश्यक परामर्श प्रदान गरिएको थियो । साथै आँखाको सरसफाइ, दृष्टि संरक्षण तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे सहभागीलाई जानकारी गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले सहकारी संस्थाहरू आर्थिक कारोबारमा मात्र सीमित नरही स्वास्थ्य, शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनु सकारात्मक अभ्यास भएको बताए । यस्ता कार्यक्रमले समुदायमा प्रत्यक्ष लाभ पु¥याउनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
संस्थाका अध्यक्ष चौधरीले गुरुकुल साकोसले बचत तथा ऋण सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न जनहितकारी कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि समुदायको आवश्यकता अनुरूप स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता उनले व्यक्त गरे ।